नेपाल एसियन कप छनोटको दोस्रो चरणमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार राती सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपालले खेलको पहिलो हाफमा पाँच गोल ग¥यो भने खेलको दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालको जितमा दीपा शाही र सारा बज्राचार्यले दुई-दुई गोल गर्नुभयो । सरस्वती हमाल र जेनिफर रानाले एक-एक गोल गर्नुभयो । खेलको पाँचौँ मिनेटमा दीपाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । छैटौँ मिनेटमा साराले गोल गर्दा नेपाल २-० ले अघि रहृयो । खेलको १९औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।

खेलको ३०औँ मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाउनुभयो । खेलको ४५औँ मिनेटमा सारा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेपछि नेपालले पहिलो हाफमै ५-० को अग्रता लियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६-० को जित दिलाउनुभयो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा छ अंक जोड्यो । छनोटअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो । उक्त समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।

दोस्रो चरणको छनोट खेल आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा सन् २०२४ मा हुने यू-२० महिला एसियन कप खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?