एपानको ५५ औँ सम्मेलन सुरु

Read Time = 6 mins

काठमाडौं । एसिया प्यासिफिक एड्भान्स नेटवर्क(एपान)को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरूको सहकार्यमा स्थापित एपानको ५५औँ सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो । सम्मेलनमा विभिन्न १७ देशका तीन सयभन्दा बढीको सहभागिता रहेको छ ।

कार्यक्रम उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राज्यमात्र नभई प्रविधिमा काम गर्ने संघ संस्था, विश्वविद्यालय तथा विज्ञले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पु¥याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउनुपर्ने बताउनुभयो । प्रविधि विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको भन्दै उहाँले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. प्रमिलादेवी बज्राचार्यले नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानका लागि पहल भइरहेको भन्दै यस्ता कार्यक्रममार्फत् सरकारले अन्तर्राष्ट्रिय विज्ञसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताउनुभयो । एपानका अध्यक्ष जिलोङ वाङले नेपालले पहिलोपटक गरेको कार्यक्रमको प्रशंसा गर्दै नेपाल सरकारसँगको सहकार्यले वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्य थप सबल बनाउने बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको संस्था एनरेनद्वारा आयोजित एपान कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ । विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताउनुभयो ।

यसपटकको सम्मेलन अवधिभर ५५ भन्दा बढी सेसन सञ्चालन हुनुका साथै एक सय ७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभिन्न क्षेत्रमा केन्द्रित रही प्रस्तुति दिने आयोजकले जनाएको छ । सम्मेलनमा दुईजना नेपालीसहित चार विज्ञले मुख्य वक्ताका रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन् । उद्घाटन कार्यक्रममा वरिष्ठ जलवायु परिवर्तन विज्ञ डा. अरुणभक्त श्रेष्ठ र हिमाल आरोही पूर्णिमा श्रेष्ठले जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्न सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञले महŒवपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

लामो समयको प्रयासपछि एपानको ५५औँ सम्मेलन नेपालमा ल्याउन सफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक डा. राजन पराजुलीले बताउनुभयो । सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधिसम्बन्धी संस्थासँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गरेको हो । शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्र जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकमा पहुँच, इन्टरनेट सुरक्षालगायतका विषय छलफल हुने आयोजकले जनाएको छ । २५ देशका एक सय ८० प्रतिनिधि तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधिसँग सम्बन्धित संस्थावाट एक सय ५० गरी तीन सय ५० भन्दा बढी प्रतिनिधिको प्रत्यक्ष उपस्थिति र दुई सयभन्दा बढीको अनलाइनका माध्यमबाट सहभागिता रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?