सोनाम र भुपेन्द्र फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एपिएफका सोनाम सार्की र नेपाल प्रहरीका भुपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौल समूहको फाइनलमा प्रवेश गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गर्नुभयो ।

पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई तथा एपिएफका आश तामाङले कोशी प्रदेशका फुङलाङ काम्वाङलाई हराउँदै फाइनलमा पुग्नुभयो । पुरुष ५७ केजीमा बागमतीका सुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छ्याउँदै फाइनल भेट पक्का गर्नुभयो । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बागमतीका दावा छिरिङ लामा तथा कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाउनुभयो ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बागमतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने हुनुभएको छ । हेमराजले एपिएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्ती मगरलाई निराश पार्नुभयो । पुरुष ९२ केजीमा एपिएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बागमतीका उमंग महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी, ५४ केजीमा बागमतीकी अञ्जनी तेलीले लुम्बिनीकी माया केसी र एपिएफकी सञ्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपिएफकी शर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउँदै फाइनल यात्रा तय गर्नुभयो ।

महिला ६० केजीमा बागमतीकी हेमा राईले कर्णालीकी मनिषा खरु र एपिएफकी संगीता सुनुवारले लुम्बिनीकी सुजनकुमारी कुमाल, ६६ केजीमा एपिएफकी विनिता थापा मगरले गण्डकीकी जोशिका श्रेष्ठ र बागमतीकी निश्मा गुरुङले सुदूरपश्चिमकी सपना ऐडी तथा ७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपिएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छ्याउँदै फाइनलमा पुग्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?