१३ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोशी प्रदेशको पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आचार्यले बालबालिकाका लागि यस्तो मौसममा खेलकुद गर्न नहुने बताउनुभयो । उहाँले बालबालिका अनुकूलको मौसम नभएको हुँदा आयोजकहरूले खेल तालिकालाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

चैत, वैशाखभन्दा अघि नै यस्तो खेलकुदका कार्यक्रम गरे लक्षित गरिएको बालबालिकालाई सहज हुने उहाँको भनाइ थियो । सरकारले खेलकुदको विकासका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा संरचना बनाएर खेलको विकास गर्दै आएको बताउनुभयो । बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ चैत ३० गतेसम्म हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जिल्लाका १४ पालिकाबाट एक हजारजना खेलाडीको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?