कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

नयाँ मन्त्रीमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा उर्मिला विक रहनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गर्नुभएको हो । गत चैत २५ गते नेकपा (एमाले) का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो ।

कर्णाली प्रदेशको बुधबार हुने भनिएको मन्त्रीको शपथ अन्तिममा आएर रोकिएको थियो । प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको नाम सिफारिस भए पनि अन्तिममा आएर वरीयता विवाद सुरु हुँदा शपथ रोकिएको थियो । नेपाली कांग्रेसको संसदीय दलले मंगलबार कर्णाली सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गरेको थियो ।

योजनामन्त्री सिंह जाजरकोट प्रदेशसभा (१) उद्योगमन्त्री विसी, दैलेख क्षेत्र नं १ (१) र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं १ (१) र ऊर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

केन्द्रमा भएको सत्ता समीकरण फेरबदलपछि यी मन्त्रालय लिएका एमालेका मन्त्रीहरूले २०७९ चैत २६ गते राजीनामा दिएका थिए । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि कर्णालीमा कांग्रेसलाई लिएर माओवादीका राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन खोजिएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को सरकारले ऊर्जालाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?