पुस्तक : थपलियाको कवितासङ्ग्रह ‘सत्ताको मान्छे’

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे

सत्ताको मान्छे गोपालप्रसाद थपलियाको कवितासङ्ग्रह हो । थपलिया प्रसिद्ध पत्रकार हुनुहुन्छ र निरन्तर राजनीतिक लेखहरूका साथै साहित्यिक सिर्जनाहरू पनि गर्दै आउनुभएको छ । उहाँ राजनीतिमा समेत संबद्ध हुनुहुन्छ । यहाँको राजनीतिक संलग्नता वामपन्थी राजनीतितर्फ छ भने लेखनमा प्रगतिशीलता । अहिले मेरा हातमा रहेको उहाँको पुस्तक डिएमआई साइजमा छ । ‘सत्ताको मान्छे’ शीर्षकको यो पुस्तक कवितासङ्ग्रह हो र यो मकालु प्रकाशन गृह कालिकास्थान, काठमाडौंबाट प्रकाशित भएको छ । यस पुस्तकको यो पहिलो संस्करण हो जो २०७९ सालमा प्रकाशित भएको छ । यसको सर्वाधिकार कवि थपलियामै रहेको छ ।

सो पुस्तकको आवरण चित्र मुकुन्द प्रयास (धनकुटा)ले तयार पार्नुभएको छ । आवरण चित्र यो पुस्तक सुहाउँदो छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘सत्ताको मान्छे’ भनिएको छ र बीचमा अमूर्त कला दिइएको छ । तल कविको नाम दिइएको छ ‘गोपालप्रसाद थपलिया’ भनेर । पुस्तकको साजसज्जा वसन्तराज अज्ञातको रहेको छ । सोपान प्रेस प्रा.लि.काठमाडौंबाट मुद्रण भएको पुस्तकको पृष्ठ आवरणमा कवि थपलियाको फोटो र यही पुस्तकको भूमिकामा रहेको महत्वपूर्ण भनाइलाई राखिएको छ ।

वर्तमान सन्दर्भमा राजनीति सबै क्षेत्रमा हावी बन्दै गएका कारण त्यसबाट साहित्यसमेत प्रभावित छ । कतिपय साहित्यकारले सत्ताको तावेदारी गरिरहेका हुन्छन् भने कतिपय साहित्यकार सत्ताको विरोधमा मोर्चाबन्दी गरिरहेका हुन्छन् । कवि गोपालप्रसाद थपलियाको यो पुस्तक पनि राजनीति सापेक्ष छैन भन्न सकिँदैन ।

तल लोगोसहित प्रकाशन संस्था मकालु प्रकाशन गृहको नाम र ठेगाना उल्लेख गर्नुका साथै पुस्तकको बारकोड राखिएको छ । पुस्तकमा सेतो तौलयुक्त कागजका प्रयोग भएको छ । छपाइ स्तरीय छ तर अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकमा भूमिका खण्डसहित जम्मा ३४४ पृष्ठ रहेका छन् र यसको मूल्य ५०० रुपैयाँ छ । पुस्तक ठूलो छ र यसमा कविताहरू पनि धेरै संख्यामा छन् । १६४ वटा कविता रहेको यस पुस्तकमा शीर्षक, फैलावट र भावका आधारमा विविधता पाइन्छ ।

एक शब्दका ४१, दुई शब्दका ८०, तीन शब्दका ३४, चार शब्दका आठवटा र पाँच शब्दको एउटा कविताहरू पुस्तकमा समावेश भएका छन् । यसबाट कवि थपलियाको आफ्ना कविताहरूमा छोटा शीर्षक राख्ने प्रवृत्ति रहेको पाइन्छ । पुस्तकका अधिकांश कविताहरू छोटा छन् । एक वा दुई पृष्ठको फैलावटका कविता धेरै छन् । अधिकांश कविता एक र दुई पृष्ठको फैलावटका छन् । उहाँका कविताहरू गीति लयका, लोक लयका र छोटो आकारका छन् ।

सो पुस्तकमा नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति गङ्गाप्रसाद उप्रेतीको ‘शुभकामना मन्तव्य’, प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितको ‘गोपालप्रसाद थपलिया : कविता क्षेत्रमा’, नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’को ‘वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको प्रौढ अनुभूतिका विद्रोही कविताहरू’ र कवि थपलियाको ‘मेरो भनाइ’ छन् । यसपछि कविताक्रम रहेको छ । यहाँ साहित्यकार मोदनाथ प्रश्रितले कवि थपलियाको कविताको सूक्ष्म विश्लेषण गर्नुभएको छ । त्यसपछि जगत उपाध्यायले त प्रत्येक कविताको विहङ्गम विश्लेषण नै गर्नुभएको छ ।

एउटा लामो अन्तराल यस पुस्तकका कविताहरूले समेट्ने प्रयास गरेको छन् । किनभने, चार–पाँच दशकअगाडिदेखिका कवि थपलियाका कविताहरू सङ्ग्रहमा समेटिएका छन् । यसकारण त्यस बेलाको समय समाज र राजनीतिको तस्वीरसमेत सङ्ग्रहका कवितामा पाइन्छ । कविताले व्यावसायिक साहित्यकारहरूका कवितामा जसरी परम्परागत भावको समावेशीकरण गर्नेभन्दा पनि विशेषत राजनीति केन्द्रित भएर लेखिएका कविता धेरै छन् ।

हुनत साहित्यमा बहुविविध भाव रहेको पाइन्छ । यौन, मनोविज्ञान, प्रगतिशीलता, विसङ्गति, सामाजिकता, परिष्कारलगायत भाव कवितामा हुन्छन् र साहित्यकारले आपूmलाई सहज लाग्ने भाव त्यसमा समावेश गर्ने गर्छ । तर, वर्तमान सन्दर्भमा राजनीति सबै क्षेत्रमा हावी बन्दै गएका कारण त्यसबाट साहित्यसमेत प्रभावित छ । कतिपय साहित्यकारहरूले सत्ताको तावेदारी गरिरहेका हुन्छन् भने कतिपय साहित्यकार सत्ताको विरोधमा मोर्चाबन्दी गरिरहेका हुन्छन् । कवि गोपालप्रसाद थपलियाको यो सङ्ग्रहको शीर्षक नै ‘सत्ताको मान्छे’ रहेको छ । त्यसकारण यो पुतक पनि राजनीति सापेक्ष छैन भन्न सकिँदैन ।

अप्रत्यक्ष रूपमा हेर्ने हो भने त राजनीति नागरिकका जीवनका सबै क्षेत्र र कर्ममा हावी छ । त्यसबाट निरपेक्ष रहन्छु भन्न निकै कठिन छ । माग्नेरहित शहर बनाउछु भन्नु पनि राजनीति हो र राजनीतिबाट माग्नेसमेत निरपेक्ष रहेनछ भन्दा अत्युक्ति हुँदैन । त्यस अर्थमा राजनीति सबैमा हावी गराउँदै सत्तामा पुगेको मान्छे नै ‘सत्ताको मान्छे’ हो ।

गोपालप्रसाद थपलियाको ‘सत्ताको मान्छे’ पनि यस्तै मान्छे हो जो राजनीतिको डण्डा घुमाएरै सत्तामा पुगेको हुन्छ वा पुग्ने प्रयासमा हुन्छ । प’शस्तकमा धेरै सङ्यामा कविताहरू समावेश भएका कारण शोध गर्ने विद्यार्थीहरूका लागि भने अलिक असहज हुने अवस्था देखिन्छ । कवि थपलियाको यो नै एकमात्र पुस्तकाकार कृति हो भनिएको छ । त्यसकारण उहाँलाई बधाई, पुस्तकको सफलताको शुभकामना तथा अन्यान्य पुस्तका लागि अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?