नर्भिकको ३० औँ वार्षिकोत्सव

Read Time = 3 mins

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले साताव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरी ३०औँ वार्षिकोत्सव मनाएको छ । आइतबार आयोजित कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक वसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नर्भिक ३०औँ वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरूमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्ने सामथ्र्य, नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरू साकार भएको छ । म देखिरहेको छु, मेरो पिताजीको स्वप्नवाटिका, जहाँ सुन्दर फूलहरू रोगमुक्त मुस्कान फिँजाउँदै फुलिरहेका छन् । जहाँ रोगको प्रवेश वर्जित छ, रोगीहरू स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् । यस्तो स्वप्नवाटिकाको परिकल्पनाकार मेरा पूजनीय पिता स्व. लुनकरणदास चौधरीज्यूको आज १०१औँ जन्मजयन्ती पनि हो ।’

हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ दुई सय शैय्याको स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेकाले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवासमेत विस्तारको तयारी रहेको उहाँले बताउनुभयो ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले असल र दूरदर्शी नेतृत्वका कारण स्थापित हस्पिटल पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भइसकेको र निकट भविष्यमै सर्वसाधारणका लागि सेयरसमेत जारी गर्ने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिक एउटा ब्राण्ड बनिसकेको र विदेशमा समेत पहिचान बनाउन सफल भएको बताउनुभयो । मिश्रका अनुसार नर्भिकले झण्डै २५ लाखभन्दा बढी स्वदेशी, विदेशी नागरिकलाई उपचार सेवा पुर्‍याइसकेको छ । नर्भिकले वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवामा ३० प्रतिशत छुट अफरसमेत ल्याएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?