राष्ट्रपतिको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स०मा उपचार जारी छ ।

चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उहाँको स्वकीय सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ”, विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ तर, ऐन कानून नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ ।

सचिवालयले यस प्रकारका भ्रामक सूचना र दुष्प्रचारको पछि आमनेपाली दिदीबहिनी तथा दाजुभाइ लाग्नुहुने छैन भन्नेमा विश्वस्त रहेको जनाउँदै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?