हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको ‘बराह ताल’ पर्यटकको पर्खाइमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । चारैतिर बनजङ्गल र हरियाली सहितको पहाड । उत्तरतर्फ कृषि प्राविधिक शिक्षालय रहेको चिटिक्क परेको विम गाउँ । पश्चिम–दक्षिणतर्फ पर्ने ताकम धारापानी र फेदीमा म्याग्दी नदीको नागवेली दृश्य । यही परिधि भित्रको भूगोलमा छ, म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिम बाइन्दाफाँटको विमराङमा पर्यटकहरुलाई पर्खीरहेको बराह ताल ।

धौलागिरि हिमाल र म्याग्दीको प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिरको प्रतिबिम्व देखिने यो ताल अपार पर्यटकीय सम्भावनाले युक्त छ । तर,भौगोलिक विकटता र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको यो ताल परिसरमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण भए पछि आन्तरिक पर्यटकहरु आउन थालेका छन् । यो तालको बनोट,यहाँको भूगोल र यहाँबाट देखिने प्राकृतिक दृश्यहरुले वाह्य पर्यटकहरुको ध्यान खिच्नसक्ने भएकोले बराहा ताल वाह्य पर्यटकहरुको पर्खाइमा रहेको छ ।

बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको अनुपम स्थल बनाउन सकिने प्रशस्त सम्भावनाहरु रहेका र त्यसका लागि प्रयास सुरु गरिएको मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताउनुभयो ।

मालिका गाउँपालिका सांस्कृतिक मान्यता, जातीय र भौगोलिक विविधता, धार्मिक सहिष्णुता, विकासप्रतिको ऐक्यवद्धता र प्राकृतिक सुन्दरतायुक्त छ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित दरवाङ बजारबाट करिव एक घण्टाको दुरीमा रहेको यो ताललाई धार्मिक र पर्यटकीय स्थल बनाउन पहल सुरु भएको अध्यक्ष गर्बुजाको भनाइ छ ।

बराह ताल धार्मिक र प्रचूर पर्यटकीय महत्वको ताल भए पनि पूर्वाधार निर्माण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । करिब आधा रोपनी क्षेत्रफलमा फैलिएको यो तालमा म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिबिम्ब देखिन्छ । त्यसका साथै गुर्जा हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण वस्तीहरु, वनजंगल, पहाड यहाँबाट देख्न सकिन्छ ।

जैविक विविधताका अनेक सम्पदाहरुलाई समेटको बराह ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसावले पनि महत्वपूर्ण मानिने स्थानीय देउप्रसाद फगामीले बताउनुभयो । बाइन्दाफाँट गाउँको शिरमा अवस्थित गोलो आकारको बराहताललाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले सरोकारवाला निकायसँग माग गरेका छन् ।

आधा रोपनी क्षेत्रफलमा फैलिएको, तीन मिटरभन्दा गहिरो र समुद्री सतहदेखि दुइ्र्र हजार तीनसय मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लो पट्टी बराह थान रहेको छ । सोही बराहा थानको नजिकै रहेको पानीको मूलबाट ताल बनेको स्थानीयले बताएका छन् ।
यस तालको संरक्षण र प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यो ताल आकर्षणको केन्द्र बन्नसक्ने स्थानीय रामबहादुर पुनको भनाइ छ । यस तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

वडा कार्यालयले मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि यहाँसम्म पुगेको सडकलाई विस्तार गरेर प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीसम्म जोडेको र यसको संरक्षण तथा प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको मालिका गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष टकबहादुर पुनले बताउनुभयो ।

वडाअध्यक्ष पुनका अनुसार तालको चारैतिर ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ । बाइन्दाफाँटमा रहेको बराहा तालदेखि मालिकाको धुरीसम्म पुग्ने सडक र पदमार्ग निर्माण गरिएको छ । मोटरबाटोले छोएको भए पनि कठिन भूगोलका कारण वाह्रै महिना गाडी चल्न सक्ने अवस्था थिएन । तर, अहिले बाह्रैै महिना गाडी चल्न सक्ने गरी सडक सुधार गरिनुका साथै पदमार्ग समेत निर्माण गरिएको छ ।
गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय र अन्य सम्भावनाहरु रहेका क्षेत्रहरुको विकास र प्रवद्र्धन गरी ती स्रोतहरुलाई गाउँपालिकाको चिनारी र जनताको आय आर्जनको माध्यम बनाउने योजनामा गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष गर्बुजाले बताउनुभयो ।

स्थानीय देवतास्रँग नाम जोडिएको र मैलिक पूजा पद्धति रहेको बराहातालप्रति स्थानीयको परम्परागत मान्यता जे भए पनि सो ताल प्राकृतिक र जैविक दृष्टिकोणले अपयुक्त स्थानमा रहनुले यसको महत्व बढेर गएको किसानी प्राविधिक शिक्षालय विमका प्रमुख करन कडेंलको भनाइ छ ।
सात वटा वडामा समेटिएको मालिका गाउँपालिकाका प्रायः सबै वडाहरुमा प्रकृति प्रदत्त अनुपम उपहार रहेका छन् । रुमको ढुङ्गा खानी, ओखरबोटको तामाखानी, दरवाङ नजिकै रहेको भालेवास्ने ताल लगायतका अन्य धेरै प्राकृतिक सौन्दर्यले भरिएको सम्पदाहरु यहाँ छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?