डढेलोले धादिङका अधिकांश वन सखाप

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 6 mins

धादिङ । सुक्खायाम सुरु भएसँगै देशभरका सामुदायिक तथा निजी वनहरू डढेलोले सखाप बनाएको छ । अघिल्लो वर्ष जस्तै यसवर्ष पनि चैत्र महिना सुरु भएसँगै वनहरूमा डढेलो लाग्नेक्रम सुरु भएको हो । यस्तै, पछिल्लो समय धादिङका अधिकांश वन डढेलोले सखाप पारेको छ । धादिङमा करिब ७१५ वटा सामुदायिक वन छन् । प्राय सबै वनमा डढेलोले सखाप पारेको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । धादिङमा अहिले डढेलो नियन्त्रणभन्दा बाहिर गएको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले जानकारी दिनुभयो ।

अत्यधिक मात्रामा डढेलो फैलिएपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिहरूलाई आगलागी भएका वनको क्षति संकलन गर्नसमेत हम्मेहम्मे पारेको छ । सोचे भन्दा बढी वनहरूमा डढेलो लागेपछि संकलन गर्ने कार्यमा कठिन भएको मानन्धरको भनाइ छ । धादिङमा २४ हजार आठ सय हेक्टर क्षेत्रफल जंगलले ओगटेको छ । यस्तै, ७१५ वटा सामुदायिक वन रहेका छन् । जसअनुसार नीलकण्ठ नगरपालिका, वेनिघाट रोराङ गाउँपालिका र रुवीभ्याली गाउँपालिकाका वनमा सबैभन्दा बढी क्षति पुगेको वन कार्यालय धादिङले जनाएको छ ।

धादिङ जिल्लाभित्र रहेका वनहरूमध्ये एकतिहाइ वन डढेलोले सखाप बनेको वन अधिकृत मानन्धरले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय धादिङको तथ्यांकअनुसार यो वर्षको डढेलो गत पाँच वर्ष यताकै सबैभन्दा ठूलो हो । डढेलोले वयस्क र पुराना रूख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको छ । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रूख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साख्वा र अन्य संरक्षित जातिका नयाँ विरुवा डढेर खरानी हुने र वयस्क रूख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो । अहिले रूख विरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रूख, विरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेका छन् ।

डिभिजन वन कार्यालयले हरेक वर्ष वन डढेलो नियन्त्रणको लागि भनेर विभिन्न औजारहरू वितरण गरिरहे पनि त्यसको प्रयोग भएको पाइँदैन । यो वर्ष पनि २० हजार लिटर पानी अट्ने ब्याकप्याक पम्प, फायर सुट, पञ्जा, हेल्मेट बुट र स्वाटर लगायतका सामग्रीहरू वन डढेलो नियन्त्रणमा प्रयोग गर्ने सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूलाई उपलब्ध गराईएको भने पनि डढेलो नियन्त्रणमा यस्ता सामग्री प्रयोग भएको छैन । यस्तै, डढेलो नियन्त्रणको लागि रातदिन खटिरहेको धादिङका वन अभियान्ता भूमिरमण नेपालले वन समितिले चासो नदिएकै कारण वनमा डढेलो बढी लागेको बताउनुभएको छ । वन संरक्षण गर्नुपर्छ भन्दै विगुल फुक्दै हिँड्दा देखिने विभिन्न प्रजातिका वन्यजन्तु डढेलोले गर्दा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । वन जंगल विनाश हुँदा जंगली जनावर गाउँ पस्ने र मानवीय क्षतिको समेत जोखिम बढेको छ । लामो समयदेखि पानी नपर्दा र दैनिकजसो वन जंगलमा डढेलो लागेको हुनाले धादिङको वायु प्रदूषण बढेको छ ।

यस्तै, वन डढेलो सप्ताह आयोजना, वनभित्रको पत्कर व्यवस्थापनबाट जोखिम क्षेत्र केन्द्रित गरेर नमुना अभ्यास, प्रांगारिक मल उत्पादन उद्यम सञ्चालनमा सहयोग, सहभागितमूलक वन डढेलो रोकथाम तथा नियन्त्रण, वन डढेलो नियन्त्रण गर्नका लागि आवश्यक पर्ने साफ्टर–स्थानीयस्तरमा तयार गर्न सकिने दाँते, अग्नि नियन्त्रण सामग्री, हेल्मेट र बुटजस्ता सामग्रीहरू खरिद गरी वितरण गर्ने व्यवस्था गरिएको छ । यसअनुसार प्रदेश सरकारले गत वर्ष डढेलो नियन्त्रण, रोकथाम तथा सचेतनाका लागि विभिन्न ठाउँमा सप्ताहव्यापी कार्यक्रमहरूसमेत सम्पन्न गरेको छ ।

यस वर्ष पनि विगतमा जस्तै सचेतनाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । सरकारले डढेलो नियन्त्रणका लागि समुदायमा सचेतनालाई नै अभियानका रूपमा सञ्चालन गरिरहेको प्रदेश वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?