बाजुरा भूकम्प अपडेटः २३ घरमा पूर्णरुपमा क्षति

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 8 mins

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर बिहीबार र शुक्रबार राति गएका दुईवटा भूकम्पका कारण जिल्लाको हिमाली गाउँपालिका-२ मा २३ वटा घरमा क्षति भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो मध्यरात बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।
मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भूकम्प शक्तिशाली रहेको थियो । जसअनुसार बिहीबार राति ११ः५८ बजे गएको भूकम्प ४.९ म्याग्निच्यूडको थियो भने शुक्रबार राति १ः३० बजे गएको भूकम्प अघिल्लो भन्दा बढी शक्तिशाली थियो । पछिल्लो भूकम्प ५.९ म्याग्निच्यूड रहेको रेकर्ड हुँन पुगेको जनाइएको छ ।

जसका कारण बाजुराको हिमाली गाउँपालिका-२ का २३ वटा घरमा क्षति भएको हो । हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले हिजो मध्यरात गएका दुईवटा भूकम्पले गाउँपालिकाको वडा नम्बर-२ मा दजनौं घरमा क्षति भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार वडा नम्बर-२ का वडा अध्यक्ष रणबहादुर बुढाले आफूलाई पठाएको बिबरण अनुसार घरहरु क्षति हुँनेमा वडा नम्बर-२ का धन्जित बुढा, दन्तिर बुढा, जोबलाल बुढा, नौले बुढा, दीलबहादुर बुढा, सौरमल रोकाया, बासु रोकाया, सुरेन्द्र बुढा, दुबलाल बुढा, देब बहादुर बुढा, पंञ्च रोकाया, सुरेन्द बुुढा, जग्गी बोहरा, साईमल बोह, सुर्ज बोहरा, जस थापा भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, बाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का र गोल्लाल खड्काको गरी २३ वटा घरहरुमा पूर्ण क्षति भएको जनाइएको छ ।

हिजो राति गएको भूकम्पले बाजुराका अन्य ठाउँमा भने के कति क्षति भयो भन्ने कुराको विवरण आफूसँग आइनपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभएको छ ।

सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको र यद्धपी, सो भूकम्पबाट हुँन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उहाँले जानकारी दिनुभयो ।

मध्यराति गएका दुईवटा भूकम्पपछी पनि बाजुरामा पुनः शुक्रबार बिहान ९ः ३० बजे बाजुराकै काँडा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । जसका कारण ठुलो भूकम्पपछी निरन्तर यसका पराकम्पनहरु गइरहेका छन् ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर निरन्तर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिमका रुपमा लिने गरिन्छ ।

गत कार्तिक महिनामा सुदूरपश्चिमको डोटी जिल्लामा ६.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

यस्तो छ पश्चिम नेपालमा भूकम्पको शृङ्खला
— कार्तिक २२ः ५.७ डोटी
— कार्तिक २२ः ४.१ डोटी
— कार्तिक २३ः ६.६ डोटी
— कार्तिक २४ः ४ं१ बाजुरा
— कार्तिक २६ः ५.४ बझाङ
— कार्तिक २९ः ४.२ अछाम
— पौष ७ः ४.१ दार्चुला
— पौष ८ः ४.६ डोल्पा
— माघ १०ः ५.९ बाजुरा
— माघ १२ः ४.१ बाजुरा
— बैशाख १४ः ४.९ बाजुरा
— बैशाख १४ः ५.९ बाजुरा

बाजुरामा गत महिना गएको भूकम्पमा केही घरहरु पूर्णरुपमा भत्किएका र केहीँमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको थियो । भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकाममा एकको मृत्यु भएको थियो ।

स्थानीय म्याग्निच्यूडमा ५.९ मापन गरिएको सो भूकम्पबाट सबैभन्दा बढी बाजुरा जिल्लाका गौमुल र हिमाली गाउँपालिका, खप्तड छेडेदह तथा बडीमालिका नगरपालिकामा जनधनको क्षति भएको थियो ।

नेपालमा किन गइरहन्छ भूकम्प ?

नेपालमा प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहन्छन् । तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौं । हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ ।

भारत र तिब्बतका बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ । भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई “भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको“ पनि भन्ने गरेका छन् ।

पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो । त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ ।

तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन् । तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन् ।

केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निट्यूडको थियो । भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे । उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाडाैंको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?