सुजल र आरुषीलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा शुक्रबार स्वर्ण पदक जित्नुभएको छ । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जित्नुभएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेण्डमा पूरा गर्नुभयो । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील वलीले कास्य जित्नुभयो । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेण्ड समय लगाउनुभयो । बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कास्य हात पार्नुभयो ।

छात्र एक हजार पाँच सय मिटर दौड ४ मिनेट २२.८ सेकेण्डमा सकाउँदै लुम्बिनीका विकास विकले शीर्षस्थान हात पार्नुभयो । गण्डकीका बादल कार्की दोस्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेस्रो हुनुभयो । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेण्डमा दौड पूरा गर्दै पहिलो बन्नुभयो । लुम्बिनीकी मोतीकला डाँगी दोस्रो तथा कोशी प्रदेशकी नीला जिमी तेस्रो हुनुभयो ।

छात्र हाइजम्पमा बागमतीका नवीन खत्री पहिलो हुनुभयो । उहाँले १.६८ मिटर उचाइ नाघ्नुभयो । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्तरूपमा दोस्रो स्थानमा रहनुभयो । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाइ नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण चुम्नुभयो । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कास्य प्राप्त गर्नुभयो । तीनदिने प्रतियोगितामा सात प्रदेशका १५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?