महावीर पुन सडक आन्दोलनमा

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको आरोप

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्नुभएको छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उहाँले आन्दोलनस्वरूप धर्ना थाल्नुभएको हो । महावीरसँगै धर्नामा बसेकाहरूले ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने प्रमुख माग अघि सार्नुभएको छ । आफ्ना मागबारे पुनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जानकारीसमेत गराउनुभएको थियो ।

सरकारले सडकमा आउन बाध्य पार्‍यो : पुन
उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाबस्वरूप आन्दोलन गर्नुपरेको बताउनुभयो । पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको जिकिर गर्नुभएको छ । उहाँले नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकतासाथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने धारण राख्नुभएको छ । पुनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरूमा पुगेर सबै मन्त्री र नेताहरूसँग भेट्दासमेत केही गर्न नसकिएको गुनासो व्यक्त गर्नुभयो । उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको दुःखेसो पोख्नुभयो ।

पुनले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउन माग गर्नुभएको छ । उहाँ प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

यस्तै, पुनले स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउन, नवउद्यमीहरूलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नवउद्यमी पहिचान र प्रवद्र्र्धन समिति बनाउन र व्यावहारिक अनुसन्धानलाई प्रवद्र्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गर्नुभएको छ । यस्तै, पुनले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गर्नुभएको छ । पुरानो गाडीहरूलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति मागसमेत उहाँको छ ।

कानुनी अड्चन देखाएर स्वदेशी उत्पादन ‘यात्री’लाई कानुनी प्रावधान देखाएर सरकारले दर्ता (नम्बर प्लेट) नदिएको भन्दै उहाँले यसअघि नै आन्दोलनमा उत्रिने घोषणा गर्नुभएको थियो । स्वदेशी उत्पादन तथा आविष्कारलाई सरकारले कानुनी अड्चन देखाएर हैरानी दिएको उहाँको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?