गणेशमान सिंह बारेको पछिल्लो पुस्तक ‘लौहपुरुष’

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे

अहिले मेरा हातमा भएको पुस्तकको शीर्षक हो ‘लौहपुरुष’ आफ्नो सङ्घर्षशील जीवनका कारण एउटा अमिट इतिहास रचिसकेका केही थोरै मानिसहरूमा पर्नु हुन्छ गणेशमान सिंह । गणेशमानको परिचय गराइरहनु पर्दैन । उहाँलाई देखेर, भेटेर, सुनेर कुनै न कुनै रूपमा सबैले चिनेका छन् । पछिलो पुस्ता जो औपचारिक पढाइका माध्यमबाट अगाडि बढिरहेको छ र उनीहरूले त गणेशमानको परिचय आफ्ना पाठ्यपुस्तकहरूका माध्यमबाट पनि पाइरहेका छन् । एक प्रकारले भन्ने हो भने गणेशमान सिंह एउटा ऐतिहासिक पात्रमात्र नभएर अनेकौं किंवदन्तीकै पात्र जस्तो लाग्छ ।

अशन-इन्द्रचोकतिर साँढेसँग जुध्ने गणेशमान, राणाकालमा शौचालयबाट भाग्ने गणेशमान, ठोरीबाट पक्राउ पर्ने गणेशमान, प्रजापरिषद्देखि नेपाली कांग्रेसको सिङ्गो इतिहासमा लेखिने, मृत्युदण्डको सजाय पाएर पनि त्यसको कार्यान्वयन हुन नपाई प्रजातन्त्र आएका कारण बालबाल बचेका गणेशमान, राजा वीरेन्द्रलाई ‘नाति राजा’ भनेर ‘तिमी’ भनेर सम्बोधन गर्ने गणेशमान अति पछिल्लो समयमा एउटा ठूलो परिवर्तनका लागि गरिएको आन्दोलनको सिङ्गो कमाण्ड सम्हाल्ने गणेशमान एउटै व्यक्ति हुनुहुन्छ ।

उहाँ, बीपी कोइराला, सुवर्णशमशेर राणा, सूर्यप्रसाद उपाध्याय ढुङ्गेल, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराईहरूको समकालीन र सहकर्मी हुनुहुन्छ । यस्ता महामानवहरूका बारेमा केही नलेखिने कुरै हुँदैन । यसरी नै महान् नेता गणेशमान सिंहका जीवनीमा आधारित गरेर लेखिएको पुस्तकको नाम हो ‘लौहपुरुष’ । उहाँलाई ‘लौहपुरुष’ अथवा ‘आइरन म्यान’ भन्ने गरिन्थ्यो । २०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेसका साथै अन्य वाम घटकहरूको समेत संलग्नता थियो । अन्य दलहरूले पनि उहाँको कमाण्ड स्वीकारेका थिए । त्यसकारण उहाँलाई सर्वमान्य नेता भनिन्छ । यस्ता नेताको जीवन कथा तथा सङ्घर्षको गाथा समेटेर नेपाली तथा अङ्ग्रेजीमा लेखिएका दुई पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । यसमध्ये नेपाली भाषामा लेखिएको पुस्तकका बारेमा केही शब्द यस आलेकमा लेख्ने प्रयास आधारित छ ।

पुस्तक इतिहासका अध्येताहरूका लागि ज्यादै उपयोगी छ, साथै गणेशमान सिंहका विषयमा शोध गर्नेहरूका लागि झनै महत्वको छ । यसका साथै विभिन्न क्याम्पस तथा विद्यालयमा पढाउने शिक्षकहरूका लागि पनि पुस्तक उत्तिकै उपयोगी हुनेमा निर्विवाद छ ।

यस पुस्तकका लेखक हुनुहुन्छ घनेन्द्रपुरुष ढकाल । पुस्तक डिएमआई साइजमा छ । गणेशमान सिंह फाउण्डेशन, थापाथली, काठमाडौं यसको प्रकाशक रहेको छ । हालै सार्वजनिक गरिएको यस पुस्तकको आवरण चित्र राजन काफ्लेको रहेको छ र आवरण संयोजन टाइम्स क्रिएसनले गरेको छ । आवरणमा सर्वमान्य नेता गणेशमान सिंहको तस्वीर रहेको छ । आकर्षक देखिने आवरणको माथि ठूला पहेंला अक्षरमा ‘लौहपुरुष’ भनिएको छ र त्यसमुनि साना सेता अक्षरमा विलेषणात्मक जीवन गाथा भनिएको छ । तल लेखक घनेन्द्रपुरुष ढकालको नाम लेखिएको छ ।

पुस्तकको यो तृतीय संस्करण हो । सेतो तौलयुक्त कागजको प्रयोग भएको यस पुस्ताका ४४१ पृष्ठ छन् । यसको मूल्य ५५० रुपैयाँ छ । यो पुस्तकको मुद्रण भेराइटी प्रिन्टर्स प्रा.लि.कुलेश्वरमा भएको छ । छपाइ स्तरीय छ तर कतै-कतै अशुद्धिहरू भने भेटिन्छन् । आवरणको भित्रपट्टि लेखक ढकालको फोटोसहित विस्तृत चिनारी दिइएको छ । पृष्ठ आवरणमा पनि लेखक ढकालकै फोटो पूर्ण पृष्ठमा राखिएको छ र त्यहाँ स्वर्गीय गणेशमान सिंहको ढकालबारेको भनाइ ‘जनआन्दोलन २०४६’ नामक पुस्तकको रचना गरेर हाम्रा साथी ढकालजी अमर हुनुभएको छ’ भन्ने भनाइ दिइएको छ ।

यसका साथै यहाँ प्रकाशक संस्था गणेशमान सिंह फाउण्डेशनको लोगोसहित नाम उल्लेख गरिएको छ । भित्री पृष्ठमा पनि लौहपुरुष सिंहको श्यामश्वेत तस्वीर राखिएको छ । समर्पणमा ‘प्रजातन्त्रको संवर्धन र देश विकासको अभियानमा संलग्न सबैमा’ भनिएको छ । भूमिका खण्डमा गणेशमान फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंहको ‘मन्तव्य’ रहेको छ । त्यसपछि विषय सूची राखिएको छ र त्यसपछि लेखक ढकालको लेखकीय ‘प्राक्कथन’ शीर्षकमा रहेको छ । यहाँ यो पुस्तक लेख्नुको उद्देश्य, कारण र यसका सन्दर्भ तथा यथार्थता दिइएको छ । यसबाहेक पुस्तकमा नौवटा विभिन्न शीर्षकका लेख छन् । जुन लेखहरूले स्वर्गीय गणेशमान सिंहका विषयमा अध्ययन गर्न चाहनेहरूका लागि पर्याप्त खुराक प्रदान गर्न सक्ने देखिन्छ । उहाँको संघर्षशील जीवनकथा वास्तविकता र किंवदन्ती, त्याग र समर्पण उहाँले पूरा गर्नुभएको जिम्मेवारीलगायतका विविध विषय र सन्दर्भ पुस्तकमा आएका छन् । पुस्तक इतिहासका अध्येताहरूका लागि ज्यादै उपयोगी छ, साथै गणेशमानका विषयमा शोध गर्नेहरूका लागि झनै महत्वको छ । यसका साथै विभिन्न क्याम्पस तथा विद्यालयमा पढाउने शिक्षकहरूका लागि पनि पुस्तक उत्तिकै उपयोगी हुनेमा निर्विवाद छ ।

यो पुस्तक पठनीय तथा सङ्ग्रहणीयसमेत छ । इतिहासका अध्येताहरूका लागि यो पुस्तक आफ्नो निजी सङ्ग्रहका रूपमा राख्न उचित हुन्छ जसले गणेमामन सिंहका विषयमा सिर्जना भएका अनेकौं मिथकहरूको यथार्थता बारे निक्र्यौल गर्ने काम गरेको छ । पुस्तक प्रकाशनमा ल्याएकोमा गणेशमान सिंह फाउण्डेशनलाई बधाई तथा पुस्तकको सफलताको कामना । यसका साथै यस फाउण्डेशनले यस्ता अरू पनि पुस्तकहरू प्रकाशनमा ल्याउने काम गरिनै रहोस् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?