कला र संस्कृतिको विकासले मात्रै देशको समृद्धिमा टेवा पुग्छ : मन्त्री किराती

Read Time = 3 mins

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले कला र संस्कृतिको विकासले मात्रै देशको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको विकासले मात्रै देशको समृद्धिमा टेवा पुग्ने विचार व्यक्त गर्नुभएको हो । उहाँले रैथाने कलाको विकासमा प्रतिष्ठानले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रतिष्ठानले नीति निर्माण गर्दा पछिल्लो समयको हेक्का राख्दै निर्धारण गर्न आवश्यक भएको धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयालले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको जिकिर गर्नुभयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै प्रतिष्ठान एउटै विधामा पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘रङ हामीलाई चाहिन्छ । हामीले पनि बुझ्नुपर्छ । डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ ।’ आफूलाई पनि आगामी दिनमा सल्लाह र सुझाव दिन आग्रह गर्दै उहाँले सबै प्रतिष्ठान मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

बागमती प्रदेशका सांसद सरल सहयात्रीले प्राज्ञसभाले आगामी दिनका लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामना गर्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतीसँगै नयाँ अवसरसमेत रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै, मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’ को समेत सार्वजनिक गरिएको थियोे । समारोहमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको महत्वपूर्ण सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?