सुदूरपश्चिममा हिम पहिरोमा परेर ६ जना बेपत्ता, एक घाइते

उद्दार गर्न सुरक्षाकर्मी परिचालन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

धनगढी । सुदूरपश्चिममा हिम पहिरोमा परेर ६ जना बेपत्ता भएका छन भने एकजना घाइते भएका छन् । दार्चुलामा गएको हिमपहिरो चार पुरुष र एकजना महिला बेपत्ता भएका हुन् भने बझाङमा हिम पहिरोमा परेर एकजना महिला बेपत्ता भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले यार्सागुम्बा संकलन गर्न गएका पाँचजना मानिस हिम पहिरोमा परेको जानकारी दिनुभयो । उहाँले स्थानीयहरूबाट पाँचजना बेपत्ता र एकजना घाइते भएको खबर आएको बताउनुभयो ।

मंगलबार जिल्लाको व्यास गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरो आएको हो । यार्सागुम्बा टिप्न गएका १२ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएका बेला पाँचजना बेपत्ता भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले हिमाली क्षेत्रमा हिमपात जारी रहेकाले खोजी कार्यमा समस्या भइरहेको बताउनुभएको छ ।

यसैगरी, बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला पनि हिम पहिरोमा परी बेपत्ता भएकी छन् । हिम पहिरोमा परी सुर्मा गाउँपालिका–१ धौलीचौर घर हुनुभएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता हुनुभएको हो । उहाँ सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गरेर फर्किने बेला बेपत्ता भएको खबर आएको एसपी चौधरीले बताउनुभयो । सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उहाँ बेपत्ता भएको बताइएको छ ।

बझाङ र दार्चुलामा हिम पहिरोमा पुरिएकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि खराब मौसमका कारण मंगलबार टोली पुग्न सकेन । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सशस्त्र र नेपाल प्रहरीको टोलीलाई घटनास्थल पठाइएको हो ।

हिम पहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ्रु दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको छ । चौकीबाट असईको कमान्डमा टोली खटिएको छ । दार्चुलाको हिमाली क्षेत्रमा हिमपात जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?