कांग्रेसमा पुनः विवाद : सभापति देउवाले पूर्वसहमति कार्यान्वयन नगरेको इतर समूहको आरोप

नेतृत्वको कार्यशैलीप्रति नेताहरूले उठाए प्रश्न

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसभित्र पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तारलाई लिएर विवाद सुरु भएको छ । मन्त्री छनोटलाई लिएर कांग्रेसभित्र विवाद सुरु भएको हो । बुधबार भएको मन्त्रिपरिषद् विस्तारमा आफूले दिएका तीन जनाको नाममध्ये दुई जनालाई मात्र मन्त्री बनाएपछि पार्टीभित्र इतर समूहको नेतृत्व गरिरहनु भएका डा.शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । मन्त्रिपरिषद्मा पठाउने सांसदको नाम सम्बन्धमा यसअघि भएको सहमति पार्टी सभापति शेरबहादुर देउवाले कार्यान्वयन गरेको भन्दै इतर समूहले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको छ । इतर समूहका नेता डा.कोइरालाले सभापति देउवाले आफूलाई धोका दिएको टिप्पणी गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति देउवालाई टेलिफोन गरेर शेखरले असन्तुष्टिसमेत जनाइसक्नु भएको जानकारी दिँदै उक्त समूहका एक नेताले भन्नुभयो, ‘देउवाले दिने भनेको खानेपानी मन्त्री बनाइएको छैन, हाम्रा पक्षका दुईजना मात्रै मन्त्री बने । सकेसम्म इतर समूहलाई पेलेरै जाने मनस्थितिमा देखिएको छ ।’

सभापति देउवाले यसअघि आफूहरूलाई कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, खानेपानी मन्त्री र एक राज्यमन्त्री दिने सहमति गर्नुभएको शेखर समूहको दाबी छ । उक्त समूहका नेता डा.कोइरालाले देउवालाई तीन मन्त्री र एक राज्यमन्त्रीको नाम पनि दिएको थियो । राज्यमन्त्री पछि बनाउँला अहिले मन्त्रीको मात्रै नाम दिनुस् भनेर देउवाले भनेपछि डा.शेखरले पनि तीन मन्त्रीको नाम मात्र दिनुभएको उक्त समूहको दाबी छ । तर, बुधबार मन्त्रिपरिषद् विस्तार भएर आउँदा भने शेखर पक्षका दुई मात्रै मन्त्री बन्नुभएको छ ।

हाल सरकारमा कांग्रेसबाट आठ मन्त्री छन् । तीमध्ये उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा.प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उद्योगमन्त्री रमेश रिजाल, परराष्ट्रमन्त्री एनपी साउद र सहरी विकासमन्त्री सीता गुरुङ गरी ६ जना संस्थापन पक्षबाट हुनुहुन्छ । शेखर समूहबाट कानुनमन्त्री धनराज गुरुङ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू गरी दुईजना मात्रै मन्त्री बन्नुभएको छ ।

पार्टीभित्र भागबण्डाका विषयमा प्रश्न उठाउँदै इतर समूहले मन्त्रीको नाम नदिएपछि एक महिनादेखि प्रधानमन्त्री प्रचण्डलाई सभापति देउवाले मन्त्री सिफारिस गर्न सक्नुभएको थिएन । तर, देउवाले बुधबार भने अचानक तीन मन्त्रीको नाम पठाउनुभयो । यतिसम्म कि मन्त्री नियुक्तिका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीहरूलाई समेत थाहा थिएन । देउवाले नाम दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि हठात् मन्त्रिपरिषद् विस्तार गर्नुभयो । पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई पूर्वजानकारी समेत नदिई मन्त्री सिफारिस गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । बिहीबार बसेको पार्टी पदाधिकारी बैठकमा महामन्त्रीद्वयले जनाएको असन्तुष्टिबारे जानकारी दिँदै एक पदाधिकारीले भन्नुभयो, ‘मन्त्री सिफारिसका विषयमा धेरै ठूलो असन्तुष्टि आएको त होइन, तर विषय उठ्यो । महामन्त्रीहरूलाई समेत मन्त्री सिफारिसको पूर्वजानकारी नभएको र समावेशी नभएको गुनासो आयो ।’

पार्टी पदाधिकारी बैठकमा महामन्त्रीद्वयसहित अन्य पदाधिकारीहरूले पनि सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनीहरूले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको, केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरूको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर देउवाको आलोचना गरेका हुन् । विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर, महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छैन । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुखसमेत हालसम्म तोकिएका छैनन् ।

मन्त्री सिफारिसबारे देउवाको जवाफ : ‘हतारहतार भयो, सबैसँग सल्लाह भएन’
सभापति शेरबहादुर देउवाले मन्त्रीहरू सिफारिस गर्दा हतारहतार भएका कारण सबैसँग सरसल्लाह गर्न नपाएको बताउनुभएको छ । बिहीबार बसेको पार्टीका पदाधिकारीहरूको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले मन्त्री सिफारिसमा सल्लाह नभएको बारे प्रश्न उठाएपछि सभापति देउवाले मन्त्रीबारे पटक-पटक छलफल भएको र आफूले त्यहीअनुसार मन्त्री सिफारिस गरेको दाबी गर्नुभएको हो । उहाँले हतारहतारमा सिफारिस गर्नुपरेकाले सबैसँग सल्लाह नभएको र आगामी दिनमा निर्णय गर्नुअघि सबैसँग सल्लाह गर्ने बताउनुभयो ।

सभापति देउवा र सहमहामन्त्री परियारबीच चर्काचर्की
मन्त्री नियुक्तका सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवा र सहमहामन्त्री जीवन परियारबीच चर्काचर्की भएको छ । देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकमा दुई नेताबीच मन्त्री चयनका विषयमा चर्काचर्की भएको हो । सहमहामन्त्री परियारले पार्टीका तर्फबाट आठजना मन्त्री पठाउँदा दलित, मधेसी तथा पछाडि परेको क्षेत्रबाट समावेश नगराइएको भन्दै गुनासो गरेपछि देउवाले जवाफ फर्काउनुभएको स्रोतको भनाइ छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सहमहामन्त्री परियारले आठजना मन्त्री पठाउँदा समावेशी नहुनुको कारणबारे प्रश्न गर्दै सोध्नुभएको थियो, ‘मन्त्री बनाउँदा दलित, मधेश तथा पिछडिएका वर्गको प्रतिनिधित्व किन भएन ? यसले कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएन, हामी समावेशी भएनौँ ।’

जवाफमा सभापति देउवाले सबैलाई समेट्न नसकिने भन्दै कांग्रेसको एकल सरकार बने मात्र सबैलाई समेट्न सम्भव हुने तर्क गर्नुभयो । देउवाको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भन्नुभयो, ‘कहाँ सम्भव छ, कहाँ सम्भव छ ? पहिला बहुमत ल्याउने, सिंगल सरकार बनाउने अनि सबैलाई समेट्ने । अहिले त्यो सम्भव छैन । सरकार आलोपालोमा चल्ने भएकाले अर्कोपटक अवसर दिन्छु ।’

सरकार र पार्टी सञ्चालनबारे छुट्टाछुट्टै बैठकमा छलफल
नेपाली कांग्रेसले सरकार र पार्टी सञ्चालनको विषयमा एकसाथ केन्द्रीय कार्यसमितिको एकै बैठकमा छलफल नगर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सरकार र पार्टी सञ्चालनको विषयमा एकसाथ एकै बैठकमा छलफल नगर्ने निर्णय गरेको हो । पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेले फरक–फरक दिन सरकार र पार्टी सञ्चालनको विषयमा छलफल गर्ने सहमति भएको जानकारी दिँदै भन्नुभयो, ‘हामीले एकै बैठकमा सरकार र पार्टी सञ्चालनको विषयमा भन्दा पनि एकदिन सरकार र एकदिन पार्टी सञ्चालनको विषयमा छलफल गर्ने निर्णय गरेका छौँ ।’

नेविसंघ र तरुण दललाई पूर्णता दिने तयारी
नेपाली कांग्रेसले भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललाई शुक्रबारसम्म पूर्णता दिने तयारी गरेको छ । नेताहरूले शुक्रबार बेलुकासम्म नेविसंघ र तरुण दलका केन्द्रीय महाधिवेशन आयोजक समितिलाई पूर्णता दिने दाबी गरेका छन् । सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दललाई पूर्णता दिनेबारे बिहीबार पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेविसंघ र तरुण दलसहित भ्रातृ संस्थाहरूलाई पूर्णता दिने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, ‘बैठकले नाम संकलन भइसकेका भ्रातृ संस्थाहरूको पूर्णता दिँदै जाने निर्णय गरेको छ । यसका लागि शुक्रबार पनि हामी बैठक बसेर भ्रातृ संस्थाहरूको समिति शुक्रबारबाटै पूर्णता दिन थाल्छौँ ।’

शुक्रबार साँझसम्म नेविसंघ र तरुण दलको समिति आउने हो ? भन्ने प्रश्नमा सहमहामन्त्री उपाध्यायले अहिलेसम्म केन्द्रमा आएको नामहरूको आधारमा दुई भ्रातृ संस्था (नेविसंघ र तरुण दल) को समिति शुक्रबारसम्म आउने दाबी गर्नुभयो । पदाधिकारी बैठकमा अर्थमन्त्रीसमेत रहनुभएका पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो । उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?