सुन्दरीजलको बोक्सीदहमा पुगेर हेर्दा

विनोद दाहाल वत्स
Read Time = 18 mins

सुन्दरी जल धार्मिक तथा पर्यटकीय जुन दृष्टिकोणबाट हेरे पनि सुन्दर नै छ । माथि वजजंगल र पहाडको फेदीमा सुन्दर बस्ती, त्यसले पनि सुन्दरी जलको महिमागान गरिरहनु पर्दैन । त्यसैगरी यताबाट जाँदा उहीँ पुग्ने बेलामा दाहिनेपट्टिको सैनिक छाउनीले नेपालको एउटा इतिहासलाई स्मरण गराइरहेको छ । त्यसैले यस ठाउँलाई ऐतिहासिक स्थानका रूपमा समेत चिनाएको छ । त्यतिमात्रै होइन काकाकुल काठमाडौंका लागि पानी आपूर्तिको मुख्य स्रोत यही नै हो । वाक्द्वारबाट निस्रित भएको जलप्रबाह जो वागमती नामले प्रवाहित बनेर यही मार्गबाट उपत्यका प्रवेश गर्छ । वागमती यसरी सुन्दरीजलकै मार्गबाट दक्षिणतर्फ प्रवाहित त भइरहेकै छ र प्रदूषणको चपेटामा पर्नुभन्दा पहिले त यही पानी मानिसहरूले पिउने, खाना पकाउने र नुवाइधुवाई गर्ने गरेका थिए ।

तर, पछि प्रदूषित बनेपछि भने वागमतीको पानी सोझै प्रयोग गर्न नमिल्ने बन्न पुग्यो । सुन्दरी जलबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति भएका कारण यहाँको जनजीवन सहज बन्न पाएको छ । यी सबै यसका मौलिक विशेषताले गर्दा सुन्दरीजल वास्तवमै स्वरूप र महिमा दुवै दृष्टिले सुन्दर छ । त्यसैले त्यहाँ वनभोज गर्न, घुमफिर गर्न जानेहरूको निकै नै घुइँचो लागिरहन्छ । सुन्दरतासँग लठ्ठ भएर त्यहाँ रमाइलो गर्ने क्रममा चिप्लिएर लड्ने पानीमा पर्ने बर्खामा भेल आएका बेला तर्न खोज्दा बग्ने नुहाउने क्रममा डुब्ने जस्ता घटना भइरहने गरेका छन् ।
यस पटकको हाम्रो सुन्दरीजल यात्रा यस्तै एउटा दुःखपूर्ण घटनाको साक्षी हुने क्रममा भएको थियो । यसपूर्व म ३६ वर्षको अन्तरालमा तीन पटक त्यहाँ पुगेको थिएँ । पहिलो पटक क्याम्पस पढ्दा वनभोज गएको थिएँ । अर्को पटक केही साथीभाइ मिलेर घुमफिर गर्न गएका थियौँ ।

शुभम्श्री र उनका साथीहरू रमाउन लागे तर दुःखको कुरा त्यही पानीको प्रवाहमा रमाउने क्रममा त्यहाँको एउटा ढुंगाबाट अर्को ढुंगामा फड्को मार्ने हुँदा लेउमा चिप्लिएर शुभम्श्री पानीको प्रवाहमा झरेछन् र ढुंगाका बीचको भकारी आकारको पानीको खाडलमा परेछन् ।

तेस्रो पटक कलेज पढाउँदा विद्यर्थीहरूसँगै वनभोजमा गएका थियौँ । ती तीनैवटा भ्रमण सुखद् थिए तर यसपटक भने त्यसभन्दा नितान्त फरक यात्रामा थियौँ हामी । प्रसंगको हाम्रो कपनको छिमेकी मित्र बाबुराम प्रधान (दयाश्री प्रधानको) छोरा शुभम्श्री प्रधानको त्यहाँ डुबेर निधन भएको स्थानको स्थलगत अवलोकनको हो । दयाश्री सिन्धुपाल्चोक तौथलीका बासिन्दा । आफ्नो अध्ययनभन्दा बढी चेतना भएका मानिस । कपनमा ग्रिल व्यवसाय गर्दै आउनुभएका । गतवर्ष एसइई गरेका छोरा शुभम्श्री प्रधान केही साथीहरूसँग मिलेर सुन्दरीजल घुमफिर गर्न गएछन् । तर, बर्खायाम साउनको महिना वागमतीमा पानीको प्रवाह पनि बढी हुने नै भयो । भिरालो जलमार्गमा ठूलाठूला ढुंगासँग मडारिँदै तलतल झरिरहेको पानीको सेतो छाल किशोर वयका उनीहरूलाई राम्रो लाग्यो ।

उनीहरू रमाउन लागे तर दुःखको कुरा त्यही पानीको प्रवाहमा रमाउने क्रममा त्यहाँको एउटा ढुंगाबाट अर्को ढुंगामा फड्को मार्ने हुँदा ढुंगाको लेउमा चिप्लिएर शुभम्श्री पानीको प्रवाहमा झरेछन् र ढुंगाका बीचको भकारी आकारको पानीको खाडलमा परेछन् । बीस फिट जति गहिरो त्यस खाडलबाट बाहिर निस्कन सक्ने कुरै थिएन, त्यहीँ नै उनको देहान्त भएछ । गत २०७८ साउन ९ गतेको त्यस घटनापछि नौ महिनाभन्दा बढी समय बितिसकेको छ । प्रधानजीले आफ्ना छोराका बारेमा केही लेखिदिन आग्रह गर्नुभएको केही महिना भएको थियो । स्थलगत अवलोकन पनि गरेरमात्रै केही लेखौँ न त भन्दाभन्दै अरू केही समय बितिहाल्यो । त्यहाँ जाने समय पनि मिलिरहेको थिएन । त्यसका लागि समय मिलाइयो २०८० साल वैशाख १८ गते सोमबार ।

पानी त परिरहेकै थियो । जाने भनेर निर्णय भइसकेको हुँदा स्थगित गर्न उचित लागेन । दयाश्री, रनिला श्रेष्ठ, उहाँका भिनाजु अर्थात गाडी चालक सन्तबहादुर श्रेष्ठ, तिलकप्रसाद लुइँटेल, म विनोद दाहाल, सुदर्शन पराजुली । हामी ठीक ११ बजे कपन राधाकृष्ण चोकबाट हिँड्यौँ । दयाश्री मोटरसाइकलमा जानुभयो । तिलक सर, रनिला र म गाडीमा गयौँ । माकलबारीमा बस्ने भएका कारण सुदर्शन सरलाई गोकर्णेश्वर मन्दिरमा पुगेर केही बेर पर्खियौँ । त्यसको केही छिनपछि नै हामी सुन्दरीजल पुगिहाल्यौँ । दयाश्रीजीले जाँदाजाँदै फोन गर्नुभएकाले हामी त्यहाँ पुग्दा केही स्थानीयहरू पनि पुगिसक्नुभयो ।

गाडीको अन्तिम बिन्दुमा पुगेपछि हामी थोरै माथिसम्म हिँड्यौँ आठ-दश मिनेट । वागमती दुईतिर बगेको र बीचमा अलिकति जमिन भएको हुँदा त्यसलाई मजुवा भनिने रहेछ । त्यसभन्दा माथि बोक्सी दह भनिने पानीको दह रहेछ । त्यसको दाहिनेतिर मेलम्चीको पानी ल्याएर वागमतीमा खसालिएको रहेछ र दुईवटा ठूला पोलिथिन पाइपबाट पानी ल्याएर त्यही बोक्सी दहसँगै खसालेर खानेपानीका लागि रिजरभ्वाएरतर्फ लगिएको रहेछ । बाँकी पानीको ठूलो प्रवाह भने वागमती नदीमै प्रवाहित गरिएको रहेछ । बोक्सीदहभन्दा अलिकति माथि ढुंगामाथि ढुंगा खप्टिएको ठूला ढाँडका बीचको च्याप परेका ठाउँमा शुभम्श्रीको उक्त घटना भएको रहेछ । हामी भावुक भयौं । दयाश्री भावुक नहुने कुरै थिएन तर उहाँले अनेकौँ आधार र तर्कका आधारमा मन बुझाउँदै आउनुभएको पाइन्छ । यसको अर्को विकल्प पनि छैन ।

हामी निकै बेर त्यहाँ उभिएर उक्त, स्थानलाई गहिरो गरी हेर्‍यौँ । अहिले त हिउँद महिना भएका कारण त्यस ठाउँमा पानी नै छैनभन्दा पनि हुन्छ । हामी त्यहाँ बस्ताबस्तै पानी पर्न थाल्यो । हामी नजिकैको रिसोर्टमा केही बेर बस्यौँ र चिया खायौँ । त्यहीबेला हामीबीच पनि परिचय हुने र वागमती शुभम्श्री पर्यटन विकास समितिका पदाधिकारीहरूसँग परिचय गर्ने सन्दर्भ मिल्यो । वास्तवमा त्यस क्षेत्रमा अहिलेसम्म साठीजना जति व्यक्तिको यसरी दुःखद् अवसान भएको जानकारी मिल्यो । स्थानीयहरूको संख्या पनि १५-१६ जना जतिको रहेछ । घुम्न गएकाहरू र अरू बाँकी । कहिलेकाहीँ त्यस क्षेत्रमा पानी नपर्दा पनि शिरतिर पानी परेका कारण अचानक झुक्याएर आएको बाढीबाट पनि मानिसहरू बगेको पाइयो । आआफ्ना असावधानीले यस्ता दुर्घटनाहरू हुँदै आएका हुन् भन्ने लागेर हो वा यस्ता दुर्घटना हुने ठाउँमा रोकथामको उपाय खोज्नुपर्छ भन्ने सोच्न नभ्याएर हो, कसैले पनि त्यस क्षेत्रको सुरक्षाका लागि आवाज उठाएका रहेनछन् । तर, दयाश्रीले भने सुरक्षाका उपायहरूको अवलम्बन त गर्नुपर्छ भनेर स्थानीय निकायलदेखि सम्बन्धित पक्षहरूमा आवाज उठाउन थाल्नुभएछ ।

त्यस कारण गोकर्णेश्वर नगरपालिका वडा नम्बर-१ सँग उहाँको केही असमझदारी जस्तो अवस्था सिर्जना पनि भयो रे । यस्तो स्थितिले केही लामै समय लियो । आफ्नो छोराको यसरी भएको मृत्युको पीडा उहाँमा थियो, त्यो स्वाभाविक थियो । उहाँले स्थानीय निकायलाई समेत आक्षेप लगाएका भन्ने पनि कुरा सुन्न पाइयो । त्यो अवस्था स्वाभाविक मान्न सकिने होइन । दयाश्रीले निरन्तर संघर्ष गरेर यस क्षेत्रको सुरक्षाका लागि आवज उठाइरहनुभयो । अन्त्यमा केही स्थानीय निकायको उपस्थितिमा त्यहीँका पीडित परिवार समेत बसेर एउटा समिति बनाइएको रहेछ जुन यस्तो छ :
कैलाशमान श्रेष्ठ (स्थानीय) अध्यक्ष, बाबुराम प्रधान (दयाश्री प्रधान, पीडित परिबार) उपाध्यक्ष, प्रियंका लामा (स्थानीय) उपाध्यक्ष, सन्दीप श्रेष्ठ (स्थानीय) कोषाध्यक्ष, रनिला श्रेष्ठ (पीडित परिवारतर्फबाट) सचिव, धर्माकुमरी पौडेल (स्थानीय) सहसचिव र सदस्यहरूमा नरेश मानन्धर, सुजन तामाङ, लक्ष्मीप्रसाद जोशी, पार्वती श्रेष्ठ र सुनील शिलाकार रहनुभएको रहेछ । त्यस दिन विकास श्रेष्ठ, सन्तबहादु्र श्रेष्ठ र हामी तिलकप्रसाद लुइँटेल, म विनोद दाहाल र सुदर्शन पराजुली पनि आमन्त्रित वा आगन्तुकका रूपमा समावेश भयौं । समितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर-१ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ आमन्त्रित सदस्य रहनुभएको रहेछ । ‘तिलकप्रसाद लुइँटेल, विनोद दाहाल र सुदर्शन पराजुलीलाई समितिको सल्लाहाकारमा मनोनयन गर्ने निर्णय गरियो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वीपाटोको दक्षिणतिरको अन्तिम सिमाना यहीँनेर आएर टुंगिने रहेछ । यस वरपर उत्तिस, टिम्बुर, मेल, बल्छे, पिपिरी, खस्रेटो (निभाराकै एक प्रकार), धँगेरो, चिलाउने, झिँगनु, भीमसेन पाती, पैयुँ, लप्सी, बाँस, भलायो, काफल, ऐँसेलु वनमारा जस्ता वनस्पतिहरू देखिन्थे । मस्तिर भित्तामा र तल्तिर फाँटमा उचाइका कारण फरक-फरक वनस्पतिहरू पाइने रहेछन् ।

गाउँ-ठाउँमा अन्धविश्वासहरू पनि धेरै जोडिने गरेका हुन्छन् । त्यसैले बोक्सीदह जस्ता अनेकौं नामहरू राखिन्छन् । फर्किने क्रममा तल बीपी संग्रहालयको सामुमा प्रसिद्ध विद्वान् प्रा.डा. ऋषिराम पोखरेलको घरमा गएर केही समय उहाँसँग सरसल्लाह लिने काम पनि भयो । समितिले उहाँलाई पनि सल्लाहकारमा राखेर अभिभावकत्वका लागि अनुरोध गर्‍यो । उहाँबाट धेरै सुझाव प्राप्त भयो । वागमती क्षेत्रका बारे हिमवत् खण्ड, वागमती माहात्म्य जस्ता पौराणिक ग्रन्थहरूमा यहाँ देवीदेवताहरूको बासस्थान रहेको चर्चा छ । त्यही भएर तिनीहरूप्रति आस्था र सम्मानभाव घट्दै गएका कारण यस क्षेत्रमा यस्ता घटना दुर्घटनाहरू भइरहन्छन् भन्ने उहाँको धारणा पाइयो ।

माथि एउटा जनै लगाएको एउटा ढुंगो छ रे जसलाई पहिलो राणा शासक जंगबहादुर राणाकै पालामा विदेशीले तीन करोड दिएर लान चाहेका थिए रे तर जंगबहादुर ले दिएनछन् । अहिले यस्तो प्रस्ताव आउने हो भने के गरिन्थ्यो होला ?

मझुवामा महाकालेश्वर महादेवको मूर्ति बनाएर राख्ने चर्चा चलिरहेको रहेछ । हामी भगवानमा विश्वास गर्छौं त्यसैले गर्ने गराउने उनै भगवान हुने भन्ने ठानेर अघि बढौँ । यस क्षेत्रमा यस्ता धेरै दुर्घटना भइसकेका छन् तर अरूले यसरी केही गरौँ भनेर चासो राखेका थिएनन् । तपाईंहरूले यस्तो चासो गर्नुभएको रहेछ, यो उत्साहलाई कायम राखेर अगाडि बढ्नुहोस्, गर्ने गराउने दुवैको कल्याण हुन्छ भन्ने सुझाव उहाँबाट पाइयो । त्यहाँ शैलेश्वर महादेव, सुन्दरी माईलगायत मन्दिर तथा देवालय रहेका रहेछन् । तिनको र तलको मझुवाको संरक्षण गर्नु आवश्यक छ ।

हामी बढी नै भौतिकवादी भएका कारणले गर्दा पनि यस्ता घटनाहरू हुने गरेका हुन् । ‘वचस्तत्र प्रयोक्तव्यं यत्र तस्य नसीदति’ भन्ने शास्त्रीय उक्ति उद्धरण गर्दै उहाँले तारबार गरेर यस क्षेत्रलाई सुरक्षित गर्नु उचित र आवश्यक छ भन्नुभयो तर त्यहाँका ढुंगाहरू तोडफोड गरी अनेक मूर्ति र संरचना बनाउने सोचलाई भने उहाँले उचित होइन भन्ने सल्लाह दिनुभयो । भगवान साकार र निराकार दुवै रूपमा हुनुहुन्छ । त्यसैले ढुंगा फोर्ने र कुँद्ने काम गर्नु हुँदैन । पौडीपोखरी बनाउनु पनि हुँदैन भन्नुहुन्छ उहाँ । उहाँले अर्को एउटा रमाइलो प्रसंग पनि सुनाउनुभयो । माथि जनै लगाएको जस्तो एउटा ढुंगो छ रे जसलाई पहिलो राणा शासक जंगबहादुर राणाकै पालामा विदेशीले तीन करोड दिएर लान चाहेका थिए रे तर जंगबहादुरले दिएनछन् । त्यस बेला त्यति रकम भनेको नेपालको वार्षिक बजेटभन्दा बढी हो । यसबाट जंगबहादुरको राष्ट्रिय चेतना प्रष्ट हुन्छ । अहिले यस्तो प्रस्ताव आउने हो भने के गरिन्थ्यो होला ? भन्ने हामीलाई लाग्यो ।

पानी परिरहेकै थियो । हामी फर्कियौँ फेरि कुनै दिन गएर ऋषिराम सरले भनेको जनै लगाएको ढुंगो पनि हेर्नुपर्ला । दिवंगत शुभम्श्रीको आत्माको शान्तिका लागि गरिने आध्यात्मिक कार्यहरू, भौतिक रूपमा सालिक स्थापना, पार्क निर्माणलगायतका कार्य गर्ने योजना पनि रहेको छ । यसका लागि स्थानीय निकाय, संघीय सरकारलगायत निकायहरूको सहयोगका लागि प्रस्ताव पनि गरिएको छ, संस्था दर्ता भइसकेको छ । यसका लागि शुभम्श्रीका पिता बाबुराम प्रधान (दयाश्री)को निरन्तरको प्रयास रहेको छ ।

उहाँलाई रनिला श्रेष्ठलगायत व्यक्तिहरूको समेत सक्रिय सहयोग प्राप्त भइरहेको छ जुन प्रशंसनीय छ । आफ्नो छोराको मात्र होइन अहिलेसम्म त्यस क्षेत्रमा यसरी मृत्यु वरण गर्नेहरूको तथ्य संकलन गरी त्यसको प्रकाशनको प्रयास भइरहेको छ । यसका लागि दयाश्रीको सोच र उदार भावनाको प्रशंसा गर्नैपर्छ । यस प्रयासले जसरी भए पनि सार्थकता पाउनै पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?