एमालेकै सम्पर्कमा छैनन् आठ दिनदेखि फरार टोपबहादुर रायमाझी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार हुनुहुन्छ ।

नेकपा एमालेले पनि उहाँ पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ठहर हुने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनु भयो । सो प्रकरणमा मुछिएपछि पार्टीबाट निलम्बनमा पर्नुभएकाे रायमाझी बैठकमा उपस्थित हुनुहुन्न ।

बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले रायमाझी एमालेसँग सम्पर्कमा नभएको बताउनु भएको थियो । गुरुङले भन्नुभयो, ‘उहाँ जुन दिनदेखि सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई थाहा छैन । अस्ति सचिवालयको बैठकले नै विधि र कानूनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेको थियो । अपराधी नै भएको होइन नि अहिले त अभियोगमात्रै लागेको हो ।’

सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने बुधबार नै पक्राउ परिसक्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?