- मोतीराज बम
दुल्लू उदै दैलेख उदै ताल बजाउन्या उदै
दैले दिन कसरी काट्यौ मैले काट्या रुदै
कर्णाली अञ्चलको भू–भागबाट दैलेख उदो हाटतिर पर्छ । उँदो दक्षिणतिरलाई हाट र उँभो उत्तरतिरलाई भोट भनिन्छ कर्णालीमा । कर्णालीको प्रचलित बोलीको भाषामा दैलेखलाई ‘औल’ भन्ने गरिन्छ । हो, यिनै औलमा जन्मिएका हुन् तन्नेरी हटारू ओम रिजाल । यिनी हाट गए गएनन् तर हटारूको गहिरो अनुभूति भने मानसपटलमा भरिपूर्ण रहेछ । हटारू उपन्यास ओमको तेस्रो कर्मफल हो । यसभन्दा अगाडि दुईवटा कविताकृति प्रकाशित छन् उनका । इतिहास, संस्कृति, साहित्य र धार्मिक सम्पदाका हिसाबले दैलेख कर्णाली प्रदेशकै मुलस्थली हो भन्दा अमिलिनु पर्दैन । अझ राजनीतिक चेतनाको बारे मिहिन मिमाङसा गर्ने हो भने यस भूगोलको अग्रणी जिल्ला मानिन्छ दैलेख । यी सबै साधन, स्रोतको प्रभावले साहित्य र प्रशासनिक क्षेत्रमा दैलेख अबिछिन्न रूपमा अगाडि बढिरहेको छ ।
उपन्यासको प्रधान पात्र सुनकेसा नारी हो तर आजीवन दुःखी पनि हो ऊ । यसकारण उपन्यास कारुणिकतामा डुबेको नारी प्रधान भन्न मिल्ला । जातीय विभेद र सामाजिक कूरीतिका विरुद्ध उभिएको हुनाले क्रान्तिकारी पनि छ ।
उपन्यासकार ओम रिजाल मूलतः राष्ट्रसेवक कर्मचारी हुन् तर उनले जागिरलाई साधन र साहित्य संस्कृतिलाई साध्य बनाएका छन् । विज्ञानको विद्यार्थी, साहित्यको साधक, धर्म परम्पराको खाटी अनुयायी, आजीविकाका लागि नोकरी, चौघेराको माहुरी हुन् ओम । हटारूको छुट्टै महत्व र थुप्रै विशेषता छन् । हाट संस्कृति हो, हटारू साहित्य । हाट जाँदाको पीडा, घर पुग्दाको खुशी दुवै रोमाञ्चित पक्षहुन् ।
यसरी नै तन्नेरी हटारू ओम हटारू जान्छन् तर हटारू डोकोमा थुप्रै चिजहरू बिर्सेर पनि चाहिने मालसामान भने जोहो गरेकै हुन्छन् । जतिबेला यातायातको सुविधा थिएन त्यतिबेला उपभोग्य वस्तुको बन्दोबस्त गर्न महिनौं दिन लगाएर हाट जानुपथ्र्यो । पश्चिमको पहाडी भेकतिर खुबै चल्तीको यो हटारू संस्कृति निकै कारुणिक, मर्मज्ञ र परिस्थितिजन्य कार्य हो । वर्षभरिलाई पुग्ने उपभोग्य वस्तु ल्याउन महिनौं दिन लगाएर हाट जानु त्यति सहज हुँदैन थियो । त्यैबेलाका चल्तीका हाटहरू थिए बाँकेको नेपालगञ्ज, बर्दियाको राजापुर र कटासे । त्यहाँ पुग्न तीनवटा ठूला नदी
कर्णाली, भेरी र सेतीका दर्जनौं ठाउँमा कतै डुंगा त कतै कम्मरमा चिण्डा बाँधेर तर्नु कम्ती जोखिम कुरा थिएन । हाट जानेहरू कोही नदीमा बगेर कोही औलोले, कोही भावर लागेर पनि ज्यान गुमाउँथे । यसर्थ हाट जाँदा रुवाबासी चल्नु र घर पुग्दा हर्षासु झार्नु आँखाको नियति नै बन्थ्यो । हटारूलाई पुर्याउन टाढाटाढासम्म पुग्थे आफन्तहरू फर्किदा दुई–तीन दिन लाग्थ्यो उनीहरूलाई त्यसैले त घरमा बस्नेहरूले देउडा गीतमा व्यंग्य यसरी कस्थे–
हाट जान्या कैलेछियौ हटेउरु पुरेउन्या
माया लाउन्या कैलेछियौ जिउ मात्तै झुरेउन्या
अब हटारू उपन्यासमा विचरण गरौं । यस उपन्यासका सामाजिक, सांस्कृतिक, धार्मिक र केही रोचक पक्षहरू छन् । चेतनाको दृष्टिकोणले उच्चतम कोटिमा पर्नसक्छ । त्यसर्थ नै उपन्यास पढ्दैजाँदा यो एक आन्दोलन पनि हो । सशक्त सांस्कृतिक, भाषिक र नारी अस्तित्वरक्षा अभियानको आरम्भ हो यो हटारू । आफ्नो मातृभाषा र मौलिक संस्कृति विस्तारै क्षयीकरण हुने हो कि ? चिन्ता गरिएको छ । गाउँका स्वघोषित ठालुहरूले भत्काउँदै गएको सभ्यताको पाटोप्रति आक्रोश पोखेको छ । ‘संस्कार जोगाउ कुसंस्कार अन्त्य गर’ हटारूले हजारौंलाई खुलेआम आहृवान गरेको छ ।
नारीले नारीमाथि गरेको परपीडन, ठूलाबडाले गरिबमाथि गरेको अन्याय, छुतले अछुतमाथि गरेको विभेद, यस्ता समाजका काला दागहरूविरुद्ध लेखक निर्भिग्न उभिएका छन् । बाहुनको छोराले दलितको घरमा खाना खानु, क्षेत्रीको छोरी दलित केटासँग पोइल जानु, दलितको छोराले क्षेत्रीकी छोरी विवाह गर्नु, उपन्यासका सबल र क्रान्तिकारी पक्ष हुन् । तर, अयोध्यामा संस्कृत पढेर आएको ब्राहृमणको छोराले दलितको घरमा खाना खाएबापत उसलाई गाउँ निकाला गर्दा ऊ विक्षिप्त भएको घटनाले पनि उपन्यासको उचाइ चुलिएको मान्नुपर्छ किनकि लेखक सत्यमा अडिग रहेछन् भन्ने ज्वलन्त प्रमाण हो यो ।
उपन्यासमा लेखकले आफ्नो मातृभाषा र मौलिक परम्परालाई सशक्त ढंगले उठाएका छन् । उनलाई यसमा कुनै हिच्किचाहट र आत्मग्लानि छैन । लेखक सतिसाल बनेका छन् । बज्यैलाई बुबा, काकालाई काउजु, सानिमालाई साञ्ज्या, दिदीलाई आज्जु, फुपूलाई पुस्या, आमालाई जिया, बाबालाई बाउजुभन्दा गर्व गर्छन् उनी ।
हटारू जस्तै जिन्दगी दुई दिनका लागि मेला भर्न आयो रमाइलो ग¥यो गयो तर जीवन दर्शनसँगै जीवन दृष्टान्त पनि हो हटारू । जिन्दगी जिउनका लागि जिन्दगीले बाध्यात्मक रूपमा व्यहोरेको तीतोसत्य हो हटारू । परिस्थितिजन्य संस्कृति हो हटारू ।
हाम्रो परम्परागत साइनो बिगारेर फुपाजुलाई भिनाजु, ससुरालाई बा, सासूलाई आमा, सालालाई भाइ, जेठानलाई दाइ, श्रीमतीलाई मामु भन्ने विदेशी प्रभावले छोप्नै लागेको यो आडम्बरी समयमा आफ्ना ठेट मौलिक शब्द साइनोलाई उपन्यासमा सगर्व उपस्थित गराउनु लेखकको बहादुरी हो । भाषाप्रतिको गहिरो प्रेम र संस्कृतिप्रतिको अद्वितीय श्रद्वा हो । मागल, धमारी, पणेली, कर्खा, गाथा, भारत, भैलो, भूओ, पञ्चेबाजाको मोह पनि बिछट्ट छ लेखकमा । संस्कृतिभित्रको विकृत पाटोलाई पनि नलजाई उठान गरेका छन् । सुन्दा अपराध झैँ लाग्ने अनौठो प्रचलन छ कर्णाली सेरोफेरोमा । त्यसलाई ‘साटिको साटो’ भन्छन् ।
तात्पर्य के हो भने कसैले ऋण तिर्न नसकेपछि उसकी छोरी माग्ने तर दुलहा जति कुरूप भएपनि बुढो भए पनि बुढो र कुरूप भन्न नपाइने विवाह गर्नैपर्ने । मूलपात्र सुनकेसाका काउजुले साठी रुपैयाँमा सुनकेसालाई एउटा अपांगलाई पोइल दिन्छन् । साठी रुपैयाँमा किनेर ल्याएकी हुनाले त्यो अपांगको घरमा नपाउनु सास्ती पाउँछे बिचरी सुनकेसा । त्यहाँ पनि बस्न नसकेर अर्कोसँग हिँडिदिन्छे । एउटै केटी तीनजनाभन्दा बढी र एउटा केटा तीनभन्दा बढीसँग बिहे गर्छन् भन्ने प्रसंग पनि नढाटी बोलेका छन् लेखकले । अन्तरजातीय विवाह गर्नेको घरपरिवारलाई गाउँ निकाला गरेको, उनीहरूको श्रीसम्पति खोसेको कुरासँग आगो बनेका छन् कृतिकार । ‘जातले विभेद गर्छ प्रेमले समानता ल्याउँछ’ लेखक ठोकुवा गर्छन् ।
खस (राष्ट्र) भाषामा लेखिएको दामुपालको पहिलो कृतिस्तम्भ दैलेखको दुल्लुमा छ । लेखक हटारूमार्फत सिंगो बौद्धिक वर्ग र इतिहासविदलाई चुनौती दिन्छन् ‘कि अर्को देखाऊ कि यसैलाई स्वीकार गर’ । इतिहास पनि समावेश हुँदा हटारू हटारूकै ‘छकौणी’ जस्तो मिसमास र स्वादिष्ट छ । छकौणीको पनि आफ्नै भाष्य छ–दर्जनौं हटारूले आआफ्नो घरबाट विभिन्न पकुवान (पुरी, हलुवा, खिर, अर्सा, ढ्यासु, लगण, चाम्णिखाजा, तल्यारोटा, चिउणा इत्यादि) ल्याएका हुन्छन् ।
साँझ जुन स्थानमा बास हुन्छ त्यहाँ सबै पकुवान एकै ठाउँ मिसाएर खानुलाई नै छकौणी भनिन्छ । उपन्यास विभिन्न फूलमालाले उनिएको छ । इतिहास, राजनीति, संस्कृति, साहित्य, समाज, समुदाय, वर्गको स्फटिक जस्तै छ । प्रकृतिप्रेमको मोह झन् अथाह देखिन्छ । उपन्यासको प्रधान पात्र सुनकेसा नारी हो तर आजीवन दुःखी हो ऊ । यसकारण उपन्यास कारुणिकतामा डुबेको नारी प्रधान भन्न मिल्ला । जातीय विभेद र सामाजिक कूरीतिका विरुद्ध उभिएको हुनाले क्रान्तिकारी पनि छ ।
कविता कर्ममा अब्बल र वरिष्ठतम् लाग्ने उपन्यासकार ओम रिजाल उपन्यासमा त्यति निक्खर भेटिँदैनन् । शिल्पकलाको कमजोरी पाइन्छ । कथाकी पात्र सुनकेसाले जन्मदेखि मृत्युसम्म सुख के हो ? मीठो के हो ? आराम के हो ? रमाइलो के हो ? कहिल्यै अनुभूत गर्न पाउँदिन । लेखक यति किन भावुक बने ? दुःख मात्रै झेल्नुपर्ने बाध्यता के हो ? पीडा सहेरै बस्नुपर्ने प्रतिवाद गर्न नपाइने किन ? लेखकले जवाफ दिनुपर्छ पाठकलाई ।
केही समीक्षकहरूले हटारूलाई जीवनदर्शन भनेर व्याख्या गरेको पनि पाइयो । हटारू जस्तै जिन्दगी दुई दिनका लागि मेला भर्न आयो रमाइलो गर्यो गयो तर जीवन दर्शनसँगै जीवन दृष्टान्त पनि हो हटारू । जिन्दगी जिउनका लागि जिन्दगीले बाध्यात्मक रूपमा व्यहोरेको तितोसत्य हो हटारू । परिस्थितिजन्य संस्कृति हो हटारू । हटारूले ल्याएको गुढ र दरियानारुलको स्वादभन्दा यो मिठो र लाभदायक छ । पठनीय अनि संग्रहणीय छ । पाठक अल्मलिनुपर्ने कहीँ कतै छैन । बरू चलन र प्रचलन बुझ्न औधी उपयोगी छ उपन्यास हटारू । लेखकलाई बधाई एवं शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच