नेफ्टा अवार्ड : ‘छक्कापञ्जा-४’ सर्वाधिक १५, ‘कबड्डी-४’ र ‘ऐना झ्यालको पुतली’ समान ११ विधामा मनोनयन

Read Time = 4 mins

काठमाडौं । एघारौं संस्रकणको नेफ्टा फिल्म अवार्डका उत्कृष्ट पाँच मनोनयन घोषणा गरिएको छ । सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । यस संस्करणमा ‘छक्का पञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ ।

‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् । ‘फूलबारी’ नौ विधामा मनोनित छ । समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली चलचित्रले देश तथा विदेशमा फैलने अवसर पाएको बताउँदै धर्मनिरपेक्षा, संघीयता र समावेशीजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा पनि चलचित्रले उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभएको थियो ।

घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली चलचित्रको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको बताउँदै उपराष्ट्रपति यादवले नेपाली चलचित्रलाई अझै अन्तर्राष्ट्रियकरण गर्न नेफ्टाजस्ता अवार्डको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यस्थलको रूपमा विकास गर्नुपर्ने खाँचो औंल्याउँदै उहाँले यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी हुने बताउनुभयो ।

‘विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बनाउन सक्छौं’, उपराष्ट्रपति यादवले भन्नुभयो, ‘नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुशी लाग्छ । विदेशी बजारमा बलियो बन्न प्रवद्र्धन गर्नु जरुरी छ ।’ ‘चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संबद्र्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मिहिनेत र लगावको प्रतिफल हो’, उपराष्ट्रपति यादवको भनाइ थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसालसहित चलचित्र र संगीतकर्मीको समारोहमा उपस्थित थियो । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा)ले नेपाली चलचित्रलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताउनुभयो ।

‘हामीले गरेको प्रयासमा सधैं चलचित्रकर्मीको साथ पाएका छौं । सोहीकारण हामी अवार्ड गर्न सक्षम भएका हौं । निष्पक्षरूपमा अवार्ड सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, अध्यक्ष लामाले भन्नुभयो ।

अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । यसपटक ३० भन्दा बढी चलचित्रकर्मी अवार्डमा सहभागी हुन अमेरिका जाँदैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?