सरकारको नीति तथा कार्यक्रमप्रति ओलीको टिप्पणी : नजान्ने विद्यार्थीले चिट चोरेजस्तो

डटेर विरोध गर्न आफ्ना सांसदहरूलाई निर्देशन

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले शुक्रबार सदनमा प्रमुख सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको विपक्षमा उभिने भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आर्थिक संकट समाधान गर्न नसक्ने, विकासमा गति दिन नसक्ने र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न नसक्ने निष्कर्ष निकाल्दै एमालेले नीति तथा कार्यक्रमको डटेर विरोध गर्ने निर्णय गरेको हो । शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको विरोध गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । सरकारको नीति तथा कार्यक्रम स्वीकार्य नरहेकाले सदनबाट पारित हुन नदिन निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रमले कुनै मार्गदर्शन गर्दैन । यो स्वीकारयोग्य छैन । समर्थन योग्य छैन । विरोधयोग्य छ । यस्तो फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेस हुनु दुःखको कुरा हो । यसर्थ यसलाई पास गर्न हुँदैन, मिल्दैन । यसको विरोध गर्नुपर्छ । हाम्रो पोजिशन त्यही हो ।’

नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न सक्दैन
अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसक्ने जिकिर गर्नुभएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रलाई नजान्ने विद्यार्थीले चिट चोरेजस्तो रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो । तर, त्यसतिर छुवाएकै छैन । त्यसतिर अर्थ राखेको छैन । हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौँ भन्ने कुरा आउनुपर्ने हो । तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ । विभिन्न ठाउँमा लिइएको छ । हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ भनेर त्यो राख्या हैन परेको । त्यो चिट चोर्ने बेलामा परेको हो ।’

पार्टीका सांसदहरूप्रति असन्तुष्टि व्यक्त
अध्यक्ष ओलीले संसद्‌मा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अबदेखि संसद्मा जोसजागरका साथ सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘संसद्‌मा हाम्रो उपस्थिति लुलो-लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो । एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो ? विचार, तरिका, प्रस्तुति नयाँ छैन भने पार्टी पुरानो हुन्छ । तर हामी विचारको हिसाबले, जोश जाँगरको हिसाबले बलियो छौं भन्ने लाग्छ । हाम्रो प्रस्तुति स्ट्रोङ, तेजतर्रार हुनुपर्छ ।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममा भ्रष्टाचारमा शून्य सहनशीलताको विषय समेटेकोप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार बनेपछि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता निम्ति यो सरकार बनेपछि रे । कुन सरकार बनेपछि पुस १० भनेको हो कि अस्तितिर हो । यो सरकार भन्या कुन सरकार ? भ्रष्टाचारीविरुद्ध उधुम गरे रे ! जनतामा आएको निराशा अन्त्य भयो रे ! जनता उत्साहित भए रे ! सरकारको समर्थन ह्वात्तै बढेका छन् रे  !’

ओलीले आज संसद्‌मा सम्बोधन गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज(आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ । अध्यक्ष ओलीले बैठकको सुरुवातमै आफ्ना विचारहरू राख्ने कार्यक्रम छ । शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरू प्रस्तुत गर्नेबारे सांसदहरूलाई जानकारी गराउँदै भन्नुभयो, ‘मैले आइतबार केही कुराहरू राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरूरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरू अलि बढी राजनीतिक कोणबाट पनि आउने नै छन् ।’ अध्यक्ष ओलीले पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने बताइएको छ ।

सांसदहरूलाई अभिमुखीकरण प्रशिक्षण
सरकारले शुक्रबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे एमालेले आफ्ना सांसदहरूका लागि आभिमुखीकरण प्रशिक्षण कार्यक्रम राखेको छ । शनिबार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा एमालेका सांसदहरूलाई पूर्वअर्थमन्त्री युवराज खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रशिक्षण दिनुभएको हो । उनीहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको स्वरूप, त्यसमा रहेका कमजोरी तथा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले ध्यान दिनुपर्ने कुराहरू लगायतका बारेमा प्रशिक्षण दिएका थिए । शनिबार मध्यान्न १२ बजेदेखि सूरु भएको अभिमुखीकरण कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कसरी प्रभावकारी भूमिका खेल्ने लगायतका विषयमा छलफल भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । आइतबारदेखि लगातार चार दिनसम्म प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएकाले एमालेले त्यसका लागि तयारी थालेको हो ।

स्वतन्त्रताका नाममा स्विमिङ कष्टम लगाएर संसद्‌मा जान पाइँदैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै अध्यक्ष ओली आपत्ति समेत जनाउनुभयो । एमालेको भ्रातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख गर्दै भन्नुभयो, ‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ । पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? कसको निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्‍यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्‍यो ? सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ । नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो ।’

अध्यक्ष ओलीले अहिले बहस भइरहेको सांसदहरूको पोशाकसम्बन्धी विषयमा पनि टिप्पणी गर्दै भन्नुभयो, ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ । स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने,पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ ? स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न । धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ । फर्किएर गुफातिर नपुगौँ ।’

नेकपा एसका केन्द्रीय सचिवसहित जिल्ला कमिटीका नेताहरू एमालेमा फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू एमालेमा फिर्ता भएका छन् । उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले शनिबार तुलसीपुरमा पार्टी प्रवेश गराउनुभएको हो । सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा,दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली,सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी सहितका नेताहरू एमालेमा फर्किएका हुन् । पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?