पूर्वराजालाई धनगढीमा नागरिक अभिनन्दन

नेपाल बनाउने जिम्मा नेपाली जनतालाई नै दिन अपिल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

धनगढी । कैलालीको धनगढीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ । धनगढी रंगशालामा सोमबार पूर्वराजा शाहलाई अभिनन्दन गरिएको हो । पूर्वराजा शाहले अभिनन्दनका क्रममा सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको टिप्पणी गर्दै भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गर्नुभएको छ । उहाँले सोमबार नागरिक अभिनन्दनका क्रममा भन्नुभयोे, ‘नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ ।

देशभित्रै बसौँ, देशमै पसिना बगाऊँ र आफ्नो पौरखले आफ्नै देश सपारौँ भन्ने भावना हराउँदै गएको छ ।’ उहाँले ‘नयाँ नेपाल’प्रति व्यंग्य गर्दै प्रश्न गर्नुभएको छ, ‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?’

उहाँले नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्दै आजको युग विकास र प्रविधिको भएको तथा आफ्नै स्रोत साधन र आफ्नै सामथ्र्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको धारणा राख्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौँ गहिरिएर सोचौँ, अझ दिलैदेखि सोचौँ, नेपाली भएर सोचौँ, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौँ, देशभन्दा ठूलो अरू केही हुँदैन ।’

उहाँले नेताहरूप्रति इंगित गर्दै भन्नुभयोे, ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरूलाई अलमल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावनाअनुसार- नेपाली जनतालाई नै जिम्मा दिऊँ- यसैमा हाम्रो कल्याण छ ।’

नेपालगञ्जबाट आफैँ गाडी चलाएर पूर्वाराजा शाह कैलाली पुग्नुभएको थियो । उहाँसँगै हिमानी शाह पनि कैलाली पुग्नुभएको थियो । पूर्वाराजा शाहलाई अभिनन्दन गर्न जयन्त चन्दको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । पूर्वराजालाई स्वागत गर्न उहाँका समर्थकहरू पुगेका थिए । समर्थकहरूको भिडले अत्तरिया-धनगढी-अछाम रोड केहीबेर अवरुद्ध पनि भएको थियो ।

शाहलाई स्वागत गर्न पुगेका समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाएका थिए । यसअघि जेठ ६ गते हुने भनिएको पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम थियो । नेपाल बन्द हुने चर्चाका कारण सोमबारका लागि सारिएको आयोजकले जनाएको छ । शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किनुभएको हो । लखनउ जानुअघि उहाँको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो । उत्तर प्रदेशमा हुँदा पूर्वराजा शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?