नियात्रा : शय्या बनाऊँ सरिता तँलाई

हिमालय टाइम्स
Read Time = 20 mins

✍️ रञ्जु दाहाल

बाटो उही फोक्सुण्डो खोलाको किनारै किनार । ‘फोक्सुण्डो’ तालको नाम कि खोलाको ? म दुविधामा थिएँ । त्यसैले कागेनीमा पदम बालाई सोधेकी थिएँ । म ‘फोक्सुण्डो’ भनिरहेकी थिएँ, उनले ‘फुक्सुन्दो’ भने । मतलब उही भयो । जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’ (२०३१) मा यस खोलाको नाम ‘सुलीगाड’ र फोक्सुण्डो तालको नाम ‘रिग्म ताल’ लेखिएको रहेछ । हामीले ‘ठूली भेरी’ भनिरहेकी ठूल्दिदीलाई ‘भैरवी’ लेखिएको छ । ठाउँ उही हो, मूल उही हो, खोला उही हो, समयले नाम फेरिदिएछ ! त्यसले मलाई कहिलेकाहीँ समयसँग असाध्यै डर लाग्छ- आफ्नो वास्तविक पहिचान नै फेरिदिने हो कि भनेर !

मैले देखेका खोलाहरूको प्रवृत्ति-प्रकृतिभन्दा विल्कुलै फरक पाएँ मैले फोक्सुण्डो खोलालाई । यत्तिको एउटा ठूलै खोलाको आसपास बसोबास गर्ने मानिसहरूको जीवननिर्वाह त्यही खोलाबाट हुन्छ, पानीलाई नहर-कुलोद्वारा खेतबारीमा पुर्‍याएर, माछा मारेर, माछापालन गरेर, ढुंगा–बालुवा निकालेर । तर, फोक्सुण्डो मैले देखेका खोलाभन्दा फरक रहेछ । न यो खोलाको बगर नै देख्यौं, न बालुवाको रास, न त ढुंगा र गिटीको थुप्रो, न त माछा मार्ने माझी नै ! फोक्सुण्डो त ठूल्ठूला पोस्टरहरूमा देखाइने तस्वीरजस्तै नी...लो, मानवीय मन नै हरण गर्ने खालको ! अतिकञ्चन, अतिस्वच्छ, अलिकति दागसमेत नलागेको, नधमिलिएको !

यो खोलो देखेदेखि आफैं खोलो बनूँ, यसैमा समाहित हूँ, हराऊँजस्तो लागिरहेको थियो । मेरो कविमन पग्लिन बेरै लागेन-
सङ्गीत भर्दै छहराहरूमा
पारेर लट्ठै मनमोहनीमा
चोरेर भाग्ने कविभावलाई
शैøया बनाऊँ सरिता तँलाई !

विश्रान्ति पाऊँ, तनमा छ आँधी
देऊ न वक्षस्थलमा समाधि
त्यो स्वच्छतामा मन चोभ्नलाई
शैøया बनाऊँ सरिता तँलाई !
यात्रामा सँगसँगै भावना यात्रारत थियो, उत्साह साथसाथै थियो, देश हाँस्दा हाँस्ने, रुँदा रुने देशभक्ति सहयात्रा गर्दै थियो । इजिप्टको नाइल नदी हेर्न विश्वभरका पर्यटकको धुइरो लाग्छ । राम्रै आम्दानीको स्रोत बनेको हुनुपर्छ नाइल । हाम्रो देशको शे-फोक्सुण्डोजत्तिको आकर्षक, मनोहर होला त नाइल ? नेपाली भूभागमै बग्ने हुनुको अभिषापले ओझेलिएको त होइन फोक्सुण्डो ?

म पनि कम्ताकी भने होइन । बेलाबेला फोटो खिच्ने, खिचाउने गरिनै रहेकी थिएँ । तर, सहयात्रीहरूको अतिक्रेजले मभित्र बचेखुचेको फोटाको रहर मरेतुल्य भइरहेको थियो । साथीहरू यता फर्किए पनि, उता तर्किए पनि हातमा मोबाइल थमाइदिने, ‘फोटो लिइदिनुस् त’ भनिहाल्ने !

पौने दुईमा पुगियो सांटा । सांटा एउटा सानु दोभान रहेछ । यहीँबाट राष्ट्रिय निकुञ्ज र शे-फोक्सुण्डो गाउँपालिका सुरु हुँदोरहेछ । सांटामा एउटामात्र होटल रहेछ, स्याउको बगैँचाबीचमा, बडो आकर्षक । झोला बिसाउनासाथ एक सयको एक थाल स्याउ ल्याइदिइन् साहुनीले । दुने माइती भएकी सुस्मिता राज्यलक्ष्मी हमाल भेटिइन् यहाँ । काठमाडौं बसोबास गर्ने उनी त्रिपुरासुन्दरीसम्म आएकी रहिछन् । छोराछोरीले शे-फेक्सुण्डो जाने जिद्दी गरेपछि हिँडिदिनुपर्ने बाध्यता आइलागेछ ।

‘आफ्नै रहरले हिँडेका हौँ हामी ।’ हामीले यसोभन्दा उनले आश्चर्य मानिन्, “यो उमेरमा कस्तो रहर लागेको !’ एउटै उमेरसमूहका मानिसमा उस्तै र एउटैखाले रहर कहाँ हुन्छ त होइन ! सुस्मिता हाम्रो चाहना देखेर चकित, म उनको बाध्यता देखेर ।

हिजोदेखि नै मौसम खासा भएको छ । आन्तरिक पर्यटकहरूको धुइरो छ बाटैभरि । शे-फोक्सुण्डो पुगेर आएकाहरू अगाडिको गाउँ-होटलसम्म पुग्न यति समय लाग्छ भन्ने जानकारी गराउँथे । बाटोमा भेटिने नौजवानहरूका लागि हामी उनीहरूका आमाजस्ता । धेरैले हामीसँग प्रत्यक्ष प्रश्न गर्थे, “यो उमेरमा पनि घुम्ने रहर ?’

हामीभन्दा अगाडि-पछाडि पर्नासाथ कोही व्यंग्यभावमा भन्थे, ‘यो बुढेसकालमा केको रहर हो ! मर्ने बेलामा हरियो काँक्रो भनेजस्तो भएन र ?’

मलाई अचम्म त यो लागिरहेको थियो, यही बाटोमा सैयौं विदेशी महिलाहरूले एक्लो यात्रा गरे, गरिरहेछन् । सत्तरी-अर्सीका विदेशीहरू प्रेमिल यात्रा गरिरहेछन्, जसलाई हाम्रो समाज सहर्ष स्वीकार्छ, सामान्य मान्छ । त्यही बाटोमा हामी भर्खर चालीस कटेका चार महिलाको यात्रा अस्वाभाविक किन देखिन्छ ?

हिजो राणीदेखि सँगै आएका युवाहरू खलरूपीबाट हामीलाई पछाडि पार्दै अगाडि बढे । उनीहरू छेप्काभन्दा माथि आजै पुग्ने दाउमा देखिन्थे । नेपालगञ्जतिरबाट आएका एक जोडी ‘दम्पती हौं’ भन्नेहरू पनि हामी सँगसँगै तालमा ताल मिलाउँदै थिए । बाटोमा धेरैजसो केटा नै देखिन्थे । केटीहरूको पनि उपस्थिति देखिन्थ्यो तर केटाको तुलनामा न्यून ।

प्रेमीप्रेमिकाका जोडीहरू प्रेमिल यात्रा गरिरहेका देख्दा मेरो चालीसे मन पनि कताकता लोभिइरहेको थियो । म सँगसँगै यात्रा गर्ने एउटा प्रेमिल जोडी थियो, भेलपुरीको । उनीहरू आफैँले राखेको रे निकनेम, भेलपुरी । भेल केटा, पुरी केटी । पुरी पहाडी बाटो नहिँडेकी । भेलले पुरीको झोला पनि आफ्नै झोलामाथि खप्टिएर हात समाउँदै अगाडि बढाएको दृश्य मोहक थियो । ऊ बेलाबेला फकाउँथ्यो पुरीलाई, ‘हेर त ! हाम्रा ममीजस्ता आन्टीहरू त फटाफट हिँडिरहनुभा छ ! तिमी नसक्ने कहीँ हुन्छ ! ओहो ! लु हेर ! कति कञ्चन खोला ! माथि हेर त ! धौलागिरि र काञ्जिरोवा हाँसेको ! मेरी पुरी धौलागिरि हो कि काञ्जिरोवा ?’

पुरी मुस्कुराउँथिन् । भेल उनको मीठो मुस्कान क्यामेरामा हतारहतार कैद गथ्र्यो अनि दुवै मज्जाले हाँस्थे, क्षणमै सारा थकान मेट्थे । म पनि विगतको प्रियसँगको कुनै यात्रा सम्झिन्थेँ र गहिरोसँग मुस्कुराउथेँ । मायाप्रेमका कथा नै बेग्लै ! सम्झिँदा त यतिविघ्न मग्न भइन्छ भने यी कुनाकन्दरामा सामाजिक परिबन्धभन्दा टाढा, स्वतन्त्र रूपमा, प्रकृतिको अनुपम छटाभित्र दुई प्रेमिल जोडीको यात्रा ! आहा ! कति मनोहारी ! कति सहृदयी ! कति हृदयमङ्गी !!

‘यो जोडी जीवन रहेसम्म एकअर्काका पदचाप चुम्दै कुनाकन्दरा घुमिरहोस् ! प्रेमजत्तिकै पवित्र छौ तिमी काञ्जिरोवा ! कुनै बाधा-अड्चन नआओस् यो जोडीमाथि !’ मैले काञ्जिरोवातिर हेर्दै प्रार्थना गरेँ ।

आज त साथीहरूका पनि मोबाइल बजेका छैनन् । सुलीगाडबाट अगाडि बढेदेखि मोबाइलको नेटवर्कले काम नगर्दोरहेछ । त्यसैले आफ्नु मोबाइल नबज्नुको झन्झन् झिनो बन्दै गएको पीडाले पनि सताउन पाएको छैन आज । सोचेको भन्दा अझ बढी आनन्दित लागिरहेको छ यात्रा । तल स्वच्छ, सफा फोक्सुण्डो खोला, माथि अनवरत मुस्कुराइरहेको धवलागिरि, काञ्जिरोवा अनि वरिपरि डोल्पाली परिवेशको बिछट्टै आकर्षण, नांगा तर अतिशोभनीय, रुख-बुट्ट््यानविहीन तर खुबै सुन्दर डाँडाहरू । बाटैभरि क्षणमै एउटै परिवारझैँ बनेका प्रेमिल यात्रीहरू । सुखानुभूतिको पराकाष्टा भनेकै यही त होला नि है !

प्रत्येक गाँसमा ढुङ्गोझैँ मलाई यात्रा अलिकति झन्झटिलो चाहिँ लागिरहेको थियो । त्यसको कारण थियो, साथीहरूको फोटोक्रेज । प्राकृतिक क्यामेरा, हाम्रा आँखाहरूले यी सुन्दर दृश्यको तस्वीर खिचेर मनभित्र सुरक्षित गर्नुजत्तिको अमरता मोबाइलमा कैद गरिएका तस्वीरमा होलान् ? २०५३ सालमा गरेको दूधकुण्ड यात्राको समयमा मसित क्यामेरा हुँदो हो त कति र कस्ताकस्ता फोटो खिच्थेँ होला जस्तो लागेथ्यो । १६-१७ को जवानीको समय, आधुनिक प्रविधिको लोभ हुने नै भयो । तर, यो उमेर ! यो रूपरङ !

आफ्नोसँगै सहयात्रीहरू प्रभा बराल, सरस्वती अर्याल र भवानी खतिवडाको रूपसौन्दर्य नियाल्दै गर्दा एक दिन प्रसंगवश छोरी वृष्टिले भनेको सम्झिएँ, ‘आमाहरू भनेका राम्रा-नराम्रा हुँदैनन् क्या ! सिर्फ आमा हुन्छन् ।’

म पनि कम्ताकी भने होइन । बेलाबेला फोटो खिच्ने, खिचाउने गरिनै रहेकी थिएँ । तर, सहयात्रीहरूको अतिक्रेजले मभित्र बचेखुचेको फोटाको रहर मरेतुल्य भइरहेको थियो । साथीहरू यता फर्किए पनि, उता तर्किए पनि हातमा मोबाइल थमाइदिने, ‘फोटो लिइदिनुस् त’ भनिहाल्ने ! कहाँकहाँ र कतिकति खिच्नु क्या ! कम्ता झन्झटिलो बनाइरहेको थिएन यात्रालाई ।

फोटो आतंककै बीच कवि साथी प्रोल्लास सिन्धुलीयको लेखेको एउटा प्रसंग झलझली सम्झिएँ, ‘त्यति सुन्दर दृश्य हुन्छ । हिमाल, पहाड, तराई, खोलानाला, वनजंगल... सबका सब हुन्छन् । ती सबैलाई आधा छेक्नेगरी कोही उभिन्छ अनिमात्र फोटो खिचिन्छ । मान्छेको टाउको नभएको एउटै तस्वीर हुँदैन...!’ हामी चार सहयात्री, सबै लेखक । यस्ता यात्रामा प्रत्येक मिनेट-मिनेटमा दृश्य-परिदृश्यहरू परिवर्तन भइरहन्छन् । त्यो प्रत्यक्ष हेर्न छाडेर पछि बडेमानको टाउको भएको फोटो हेरेर कविता, नियात्रा लेख्नु ?

समस्या समाधानकै निम्ति जन्मिने हो । त्यसको समाधान मैले निकालिहालेँ, साथीहरूभन्दा अघिअघि हिँड्ने । मेरो यौटा अमिट चाहना छ, हिमाली यात्रा एक्लै गर्ने । त्यसको अभ्यास भनूँ कि तालिम पनि त प्राप्त गर्ने भएँ नि मैले ! जे हुन्छ राम्रैका लागि हुन्छ होइन त ! चिया-खाजा सँगै खान्थ्यौँ, बास एकै ठाउँमा बस्थ्यौँ तर बाटोमा प्रायः म एक्लै हुन थालेँ, सबैभन्दा अघिअघि ।

कागेनीबाट माथि लागेदेखि नै भकिम्लोका बोटहरूमा पाकेका राता झुप्पाहरू प्रशस्तै देखिए । यसको सदुपयोग-व्यवस्थापन हुन नसकेकामा खिन्नताबोध भइरहृयो । यी झुप्पा अमिलोका भण्डार हुन् । डोल्पाको जंगलमा मुस्कुराएका भकिम्लोमात्रै संकलन गर्ने हो भने तीन करोड नेपालीले चीनसँग अमिलो मन पारेर हात थापिराख्नु पक्कै पर्दैनथ्यो ! विश्वका अधिकांश हावापानी, वनस्पति, जीवजन्तु पाइने यति सानु देश हामीलाई आत्मनिर्भर हुन पुकारा गरिरहेको छ, हामी भने परनिर्भरताको मदमै मस्त छौं ।

साढे तीनमै पुग्दा पनि बास पाइएन छेप्कामा । सुलीगाडको प्रभाकर होटलका भाइ त भन्दै थिए, ‘धेरै मान्छेहरू गएका छन् माथितिर, छेप्कामा बास पाउन मुस्किल छ । यहीँबाट फोन गरेर म बुक गराउनुस् ।’ पश्चात्तापमा रुमल्लिँदै अन्तिम आशा लिएर पुग्यौँ न्यु वेलकम होटलमा । साहुनीले सुरुमै भनिहालिन्, ‘कोठा खाली छाइनान् ।’

बालकुमारी बसेको ठाउँबाट जुरुक्क उठिन् । लोग्नेको चिउँडो समाउँदै भनिन्, ‘लु हेरा ! यस्तो सालमान खानजास्तो मेरो बुढा र मा त्यै यौटो ओढ्ने-ओछ्याउने नपायार छा-सात रात भो साँगै सुत्ना नपाको ! तमीहरू ओढ्नेको कुरा गार्छा !”

जिल्ल परेको अनुहार लगाएका हामी चार छोरीमान्छेमात्रै देखेपछि सहानुभूति दर्शाइन्, ‘छोरीमान्छे मात्रै रछस् ! काँ जान्छास् ता ! मिलाइदिम्ला यौटो कोठो ! बस् यातै !!’

आगो तापेर रात बिताउन त तयार थियौँ, कोठै पाइयो ! के चाहियो र !
कोठा बुक नगराई चार बजेपछि आउनेले बास पाएनन् छेप्कामा । हाम्रा छोराछोरीसमानका केटाकेटीहरूलाई भने चिसो रात छिँडीमै बिताउनुपर्ने बाध्यता आइलाग्यो । आँगनमा आगो बालिदिए साहुजीले । सबै युवायुवती आगो तापेर, नाचगान गरेर रात बिताउने तरखरमा लागे । मभित्रको आमापन चसक्क दुख्यो ।

रातको नौ–दश यस्तै बजेको हुँदो हो । करिब सत्तरी-असी जनालाई खाना खुवाइसकेकी थिइन् बालकुमारीले । उनका पति पनि सँगसँगै, अझ भनौं बालकुमारीभन्दा बढी तल्लीन थिए आतिथ्यमा । हामी तातो फलामे चुल्होवरिपरि बसेर बालकुमारी-प्रहसन सुनिरहेका थियौँ । चार युवा ढोकामा देखा परे, ‘यहाँ बास पाइएला दिदी ?’

बालकुमारीले उनीहरूतिर कम, आफ्नै कामतिर ज्यादा ध्यान दिँदै भनिन्, ‘छोइनाँ, छोइनाँ ! तीन बाजेदेखि आयार त बास पाएना आजो छेप्कामा । याति बेला आयार पायाको पायै हो !’

कहाँ जाऊन् ती बिचरा, यो अन्धकारमा ! अझ मायालु भावमा अनुरोध गरे, ‘यति राति कहाँ जाऊँ त ? यतै अँगेनाको छेउतिर ढल्किउँला । यौटा ओढ्ने–ओछ्याउने भए दिनुस् !’

बालकुमारी बसेको ठाउँबाट जुरुक्क उठिन् । लोग्नेको चिउँडो समाउँदै भनिन्, ‘लु हेरा ! यास्तो सालमान खानजास्तो मेरो बुढा र मा त्यै यौटो ओढ्ने-ओछ्याउने नपायार छा-सात रात भो साँगै सुत्ना नपाको ! तमीहरू ओढ्नेको कुरा गार्छा !’

हाँसोले गुञ्जियो बैठक । सबैभन्दा मीठो मुस्कान उनकै सलमान मुस्कुराए, लजालु, लयालु, सुकोमल ।

बालकुमारीमा कुनै संकोच, कुनै असहजपन, कुनै धक, कुनै बन्धन, कुनै बाध्यता.. अहँ केही थिएन । ओहो ! कस्तो बिन्दास जिन्दगी ! कति स्वतन्त्र मुस्कान ! वास्तवमै लोभ्यायो मलाई हिमाली भेगकी यिनको जीवनशैलीले ।

बालकुमारीले ती युवालाई फर्काइनन् । भनिन्, ‘लु आइजो, तातो भात खाइहाल् ! क्वै चोटामा, क्वै कोठामा, क्वै भान्सामा, क्वै थाङ्नामा बिताउँला रात ! काँ जान्छास् ता यासबेला !’

मलाई यस्तो लाग्यो, यो अनकन्टारमा यिनीहरू व्यवसाय कम सेवा बढी गरिरहेका छन् ! तल आँगनमा अबेरसम्म चलिरहेको नाचगानले निद्रादेवीलाई प्रवेश गर्न दिएन ।

भोलिको बाटो अझ कठिन, अझ लामो छ, जानकार थिएँ तर डराएकी थिइनँ । तिनै हँसिली, रसिली, मिजासिली बालकुमारीलाई सम्झिँदै, मुस्कुराउँदै थिएँ, कत्ति बेला भुसुक्कै निदाइछु !

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kiran Dahal
Kiran Dahal
2023-06-02 2:06 am

Sarai ramro ranju didi

रिलेटेड न्युज

छुटाउनुभयो कि ?