दोलखाका स्थानीय तहहरुलाई तिन अर्ब ३८ करोड बढी विनियोजन

हिमालय टाइम्स
Read Time = 4 mins

-नवराज शिवाकोटी

दोलखा । दोलाखाका स्थानीय तहहरुलाई संघिय सरकारले चालु तथा पूँजिगत खर्चकालागि ३ अर्ब ३८ करोड भन्दा बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०-८१ को वित्तीय हस्तान्तरण मा उल्लेख भए अनुसार आगामी आर्थिक वर्षकालागि दोलखाका स्थानीय तहहरुलाई ३ अर्ब ३८ करोड ३८ लाख रकम विनियोजन गरिएको हो ।

नौ वटा स्थानीय तहहरुरहेको दोलखामा स्थानीय तहहरुको लागि साधारण तथा पूँजिगत खर्च समेतका लागि सो रकम विनियोजन गरिएको वित्तीय हस्तान्तरण २०८०-८१ मा उल्लेख छ । संघिय सरकारबाट स्थानीय तहहरुकालागि विनियोजित रकम मध्ये जिल्लाका दुई नगरपालिकाको लागि ८३ करोड ६१ लाख तथा सात गाउँपालिकाहरुको लागि २ अर्ब ५४ करोड ७७ लाख रकम विनियोजन गरिएको पाइएको छ ।

दुई नगरपालिकाहरु मध्ये भीमेश्वर नगरपालिकालाई सबै भन्दा बढी ५१ करोड ७९ लाख तथा जिरी नगरपालिकालाई ३१ करोड ८२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी सातवटा गाउँपालिका मध्ये सबै भन्दा बढी कालिञ्चोक गाउँपालिकालाई ४२ करोड १२ लाख तथा सबै भन्दा कम विगु गाउँपालिकालाई ३२ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख छ । जिल्लाका अन्य सथानीय तहहरुमा बैतेश्वर गाउँपालिकालाई ३४ करोड ४३ लाख, मेलुङ गाउँपालिकालाई ३४ करोड ४९ लाख तथा गौरिशंकर गाउँपालिकालाई ३५ करोड २५ लाख रकम विनियोजन गरिएको छ । यस्तै शैलुङ गाउँपालिकालाई ३६ करोड ५७ लाख तथा तामाकोसी गाउँपालिकालालाई ३९ करोड २९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ ।

संघिय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहहरुलाई समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पूँजिगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ । आर्थिक वर्ष २०८०-८१ का लागि दोलखाका स्थानीय तहहरुको लागि चालु तर्फ ३ अर्ब ११ करोड ८४ लाख तथा पूँजिगततर्फ २६ करोड ५४ लाख रकम विनियोजन गरेको पाइएको छ । विनियोजित रकमको प्रतिशतका हिसावले दोलखाका स्थानीय तहहरुलाई विनियोजन गरिएको कुल रकम मध्ये चालुतर्फ ९२ दशमलब १६ तथा पूँजिगत तर्फ ७ दशमलब ८४ प्रतिशत रहेको छ । विकास खर्च घटी साधारण खर्च बढ्दै जानु अर्थतन्त्रका हिसावले ठिन नभएको स्थानीयहरुको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?