सुनकोशी नदीमा बेपत्ता जिप र दुई जनाको शव फेला

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)का दुईजना कर्मचारीको शव फेला परेको छ । मंगलबार साँझ सुनकोशी नदीबाट गाडी र दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गोताखोरको टोलीले शव र गाडी निकालेको हो । फेला पर्नेमा प्रशासन महाशाखाका निर्देशक तनहुँको भानु-९ का ५७ वर्षीय कृष्ण केसी र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल रहनुभएको छ । पूर्वी नवलपरासीको प्रगति-७ घर हुनुभएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल भने अझै वेपत्ता रहनुभएको छ ।

घटनास्थलबाट करिब दुई सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडी र गाडीभित्र उहाँहरूको शव फेला परेको हो । शव पानीले फुलेको अवस्थामा रहेको थियो ।

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किनुभएको थियो ।

सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थापनसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी कार्य निरन्तर गरिरहेको थियो । पछिल्लो समय एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको खोजीमा संलग्न गोताखोर केशव महतले जानकारी दिनुभयो । मंगलबार पनि कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो ।

घटनास्थल वरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न गोताखोरलाई कठिनाइ भएको थियो । र्‍याफ्टिङ लिएर माथिमाथि, कुना कन्दरामा खोजी गरे पनि गहिराइमा पुगेर टोलीले खोजी गर्न सकेको थिएन । ‘पानीको वेग बलियो छ । अलिकति तल जानासाथ हुत्याइदिन्छ । घुमाउनेमा फसिने डर भएकाले खोजी गर्न समस्या परेको थियो’ महतले भन्नुभयो ।

सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जिउमा बाँधेर मंगलबार खोजी कार्य गरिएको थियो । गोताखोर महतका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।

घटना भएको दोस्रो दिनबाटै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको थियो । घटनास्थलमा चारवटा एक्स्काभेटर, दुईवटा डोजर र केही ड्रम ट्रक प्रयोग गरिएको थियो । बेपत्ता यमप्रसाद भुर्तेललाई भने पानीले बगाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डिएसपी) चिरञ्जिवी दाहालले बताउनुभयो । उहाँका अनुसार बुधबार घटनास्थलबाट केही तल नदी किनारबाट खोजी सुरु गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?