बढ्दो गर्मीसँगै आवश्यक सावधानी !

हिमालय टाइम्स
Read Time = 6 mins

वैशाख महिनामा केही दिन पानी पर्‍यो । त्यसले गर्दा मानिसमा केही राहतको महसुस भयो, गर्मी पनि भएन, फलफूल तरकारीदेखि बालीनालीका लागि वरदान सावित बन्न पुग्यो । त्यसबेलाको वर्षालाई मनसुनको प्रारम्भिक रूपमा हेरियो । निरन्तर रूपमा पानी पर्दै जाला र बर्खा लाग्छ भन्ने ठानियो तर पानी पर्न छोड्यो र हाल खडेरी परिरहेको छ । खेतीबालीहरू सुख्खा छ, खोलानाला सुक्दै गएका छन्, बोटबिरुवा ओइलिएको अवस्था छ । मौसमविद्हरूको एउटा तर्क हुनसक्छ तर खेती-किसानीमा जीवन समर्पण गर्दै आएकाको अनुभवले पनि धेरै कुरा सिकाइरहेको हुन्छ । चैत-वैशाखमा धेरै पानी पर्‍यो भने जेठ-असारमा पानी पर्दैन भन्छन् बुढापाकाहरू । हाल त्यस्तै भइरहेको छ ।

काठमाडौंमा गर्मी बढिरहेको छ, यहाँ बस्नेहरूले यस्तो महसुस गरिरहेका छन् तर काठमाडौंबाहिर विशेषगरी मधेसमा बस्नेहरूको जनजीवन त गर्मीका कारण तहसनहस नै भएको छ । मधेस गर्मी हुने ठाउँ नै हो । त्यहाँ गर्मी हुन्छ भन्ने कुरा सबैलाई अवगत छ । त्यहाँको खानपान तथा लवाइखुवाइ र दैनिकी त्यही प्रकारले अवलम्बन गर्ने गरिन्छ तर यस वर्ष भने विगत वर्षको तुलनामा अत्याधिक गर्मीले जनजीवन प्रभावित बनेको छ । केही ठाउँको तापक्रमले रेकर्ड तोडेको छ । तराईमा ४६ डिग्रीसम्म तापक्रम पुगेको भनिएको छ भने केही पहाडी जिल्लामा पहिलेको तापक्रमको रेकर्ड ब्रेक भएको छ ।

त्यतिमात्र होइन हिमाली क्षेत्रमा पनि यसैगरी तापक्रम अत्याधिक बढेको छ । यो मौसममा सधैं ६-८ डिग्री सेल्सियस हुने तापक्रम हाल १५ डिग्रीसम्म पुगेको बताइएको छ । जसको कारण जलवायु परिवर्तन नै हो भन्ने तर्क गरिन्छ । ग्लोबल वार्मिङ भनेर हामी यसको कारण बताउँछौं तर जाडो मौसममा कतै-कतै अत्याधिक चिसो बढेकैले केही मानिस त्यसलाई ग्लोबल कुलिङ भन्ने गरेका छन् । सीमाभन्दा बढी जाडो र बढी गर्मी हुनुले तापमानको असन्तुलन देखाइरहेको छ । यसलाई स्वाभाविक मान्न सकिँदैन ।

कुनै-कुनै वर्ष जेठको मध्यदेखि नै मनसुन सक्रिय भएर रोपाइँ सुरु हुने गरेको अवस्थामा यस वर्ष पानी पर्न अझै केही दिन पर्खिनुपर्ने राय मौसमविदहरूको छ । अझै केही दिनसम्म तापमान स्थिर रहने वा अझै बढ्ने हो भने यसबाट वनस्पति, अन्य प्राणी तथा मानिसहरूको जीवन ज्यादै कष्टकर हुने निश्चित छ । तराईका जिल्लाहरूमा तातो हावा लु चल्न थालेको छ भने पहाडी जिल्लामा पनि मध्यदिनमा काममा निस्कन नसकिने भएको छ । गर्मीलाई मानिसले कम गर्न सकिने होइन तर सावधानी अपनाउन भने सकिन्छ । खानपान, काम र लुवाई विशेष गरी यी तीन कुरामा सावधानी आवश्यक छ ।

गर्मीको मौसममा पकाएर राखेका खानेकुराहरू छिट्टै बिग्रन्छन् । बासी, सडेगलेका र ओइलिएका खाद्य वस्तुहरू खानु हुँदैन । यो सिजनमा पचाउन नसकिने खालका खानेकुराभन्दा हलुका र पचाउन सजिलो हुने खानेकुरा खानुपर्छ । पेय पदार्थ धेरै प्रयोग गर्ने र शीतल ठाउँमा बस्ने गर्नुपर्छ । चर्को घाममा बाहिर हिँड्नु हुँदैन, हिँड्नु परे शरीर सुरक्षित हुने खालका हलुका र पातला कपडा लगाउनुपर्छ । छाताको प्रयोग गर्नुपर्छ । मधेसतिर त दिउँसो तातो हावा चल्ने बेलामा बाहिर निस्कन सकिँदैन र निस्कनु पनि हुँदैन । गर्मीमा रोगहरूको प्रकोप पनि बढ्न सक्छ । टाउको दुख्ने, रिँगटा चल्ने, वाकवाक लाग्ने, बेहोस् हुने, झाडापखाला लाग्नेलगायत रोगहरूको प्रकोप फैलिन सक्छ ।

वातावरण बिगार्नमा केही मात्रामा मानिस पनि दोषी छ । मानिसका क्रियाकलापबाट पृथ्वीको वातावरणमा असन्तुलन पैदा भइरहेको छ । यसलाई हामीले स्वीकार्नै पर्छ । स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले यसको सुरक्षा गर्नैपर्छ । प्रकृतिले निर्धारण गरेको अवस्था सोही सोही समयमा पैदा हुन्छ नै तर कहिलेकाहीँ कुनै कारणले त्यसको सन्तुलन बिग्रन जान्छ र फरक खालको परिणाम देखापर्ने हो । हाल भइरहेको पनि यस्तै हो । यस्तो अवस्था धेरै लामो समयसम्म रहँदैन, त्यसपछि ऋतुकालीन परिणाम देखा पर्छ नै । त्यसको प्रतीक्षा गर्नुपर्छ र हाल हामी त्यही प्रतीक्षामा छौं । धैर्य गर्नैपर्छ र त्यसबेलासम्म सतर्क र सावधानीका साथ रहनु बुद्धिमानी हुन जान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?