सुपा देउराली र लाहुरेको पहरा

Read Time = 14 mins

✍️ निर्मल आचार्य

गत जेठ २८ गते आइतबारको अंकको बाँकी
काठमाडौं पुग्नेलाई पशुपतिनाथ, आगरा जानेलाई ताजमहल, दिल्ली जानेलाई कुतुब मिनार र चीन जानेलाई ग्रेटवाल जस्तै हो अर्घाखाँची जानेलाई सुपा देउराली । सुपा देउराली दर्शन नगर्ने व्यक्ति अर्घाखाँची गएको के ठहर्नु ! जाने जति सबैको हितचित्त मिलेकैले खाँचीकोटबाट सुपादेउराली भोकभोकै पुगियो । भीडमा लाम लागी दर्शन गरेर सन्तोषको सास फेरियो ।

दर्शनार्थीको घुइँचोले नै सुपा देउराली माईको महिमा बखान गरिरहेको भान भयो । सुपा खोलाको पश्चिमतर्फ अवस्थित सुपा देउराली मन्दिरको इतिहास लामो नरहे तापनि देवी उत्पत्तिको इतिहास प्राचीन रहेछ । किम्वदन्ती अनुसार बाइसे, चौबिसे राज्यकालकै कुरो हो, खाँचीकोटका राजकुमारको विवाह भारतको बलरामपुरकी राजकुमारीसित भएछ । विवाह भई घरतिर लाग्दा राजकुमारीले बाटैमा राजकुमारको छलकपट थाहा पाइछन् । अलिबेरमा डोलीबाट रगतका थोपा चुहिन थालेछ । के भयो ? भनी हेर्दा राजकुमारी मरिसकेकी रहेछिन् । अनि, राज्यमा रोगव्याधि फैलिएछ । धामी देखाउँदा त्यही थलोमा दैवीशक्ति उत्पत्ति भएको थाहा भयो, राजा, रजौटा तथा जनसाधारणले भोगसहित पूजा चलाउन थाले ।

पाणिनिको तपस्याभूमि ‘पणेना’ उल्लेखनीय स्थल हो । यही भूमिमा पाणिनि ऋषिको तपस्याबाट महादेव प्रसन्न भई डमरु बजाउँदै नृत्य गर्नथालेको भनाइ छ । महादेवले १४ पटक बजाएको डमरुबाट १४ सूत्रका रूपमा ‘अइउण्, ऋलृक्, एओङ्, ऐऔच्’ आदि ध्वनि गुञ्जिए ।

सुपा देउराली भगवती मन्दिरसँगै भीरमा लाहुरे टाँसिएको ‘लाहुरे पहराको कथा’ पनि जोडिएको छ । मन्दिर नजिकै रहेको भीरमा साँच्चै लाहुरे टाँसिएको जस्तो देखिन्छ । उहिले भाकल गरी लाहुर गएका उनले इच्छा पूरा भई फर्कंदा देवीको पूजाआजा नगरेकाले भित्तोमा टाँसिनु परेको जनकथन छ ।

वैयाकरण पाणिनि :
पाणिनिको तपस्याभूमि ‘पणेना’ उल्लेखनीयस्थल हो । यही भूमिमा पाणिनि ऋषिको तपस्याबाट महादेव प्रसन्न भई डमरु बजाउँदै नृत्य गर्नथालेको भनाइ छ । महादेवले १४ पटक बजाएको डमरुबाट १४ सूत्रका रूपमा ‘अइउण्, ऋलृक्, एओङ्, ऐऔच्’ आदि ध्वनि गुञ्जिए । यिनै ध्वनिका आधारमा पाणिनि ऋषिले संस्कृत व्याकरण बनाएको उल्लेख पाइन्छ । कतिपयका भनाइमा सिन्धु नदीको किनारमा रहेको शलातुर वा शलातुला गाउँ, लाहौर (हाल पाकिस्तान/तत्कालीन गान्धार क्षेत्र) बाट आई पाणिनिले पाँच हजार वर्ष पहिले यहाँ तपस्या गरेका हुन् भने कोही पाणिनिको जन्मथलो नै यहीँ भएको जनाउँछन् ।

महर्षि पतञ्जलि :
महर्षि पतञ्जलिको जन्मस्थल पनि अर्घाखाँचीमै रहनुले नेपालीको छाती फैलाएको छ । शीतगंगा नगरपालिकाको वलारेपांग्रेमा महर्षि पतञ्जलिको जन्म भएको मानिन्छ । शेषनागको अवतार मानिने पतञ्जलिको योगदर्शन सुविख्यात छ । पाणिनिको अष्टाध्यायी (व्याकरण) का महाभाष्यकार (टीकाकार) पतञ्जलिको आयुर्वेद विधामा पनि ठूलो देन छ । पाणिनिको जन्मभूमि वा तपस्याभूमि नजिकै उनका शिष्य पतञ्जलिको जन्मभूमि हुनु अस्वाभाविक पनि होइन ।

सीताका चुल्हो र छत्र महाराज :
जगज्जननी सीतासँग सम्बन्धित स्थलले अर्घाखाँचीको महत्ता बढाएका छन् । वनवासका बखत सीताले प्रयोग गरेका चुह्लो, जाँतो आदिका शिलास्वरूप रहेका छन् भने महाभारतकालीन पात्रसम्बद्ध जनश्रुति तथा लेकले अर्घाखाँचीको पुरावैभव झल्काएको छ ।

छत्र महाराजको स्थललाई बिर्सन मिल्दैन । प्रचलित कथा अनुसार महाभारतमा वर्णित बर्बरिक नै छत्र महाराज हुन् । बाल्यकालदेखि नै योद्धा एवं शिव तथा देवीका परमभक्त छत्र महाराज भीमका नाति हुन् । भीमकी पत्नी हिडिम्बाबाट जन्मिएका तीन छोरा घटोत्कच, अञ्जनपूर्व र मेघवर्णमध्ये घटोत्कचका छोरा हुन्-बर्बरिक । यिनकी माता प्राग्ज्योतिषपुरका दैत्यगुरुकी छोरी मौर्वी वा कामकंटका हुन् । घटोत्कचको नेपालसितको साइनो पनि संगतिपूर्ण देखिन्छ । हिडिम्बापुत्र मकवानपुरको भूमिमा जन्मिई, हुर्किएको जनश्रुति छ । भनिन्छ, उनकी आमा हिडिम्बाबाटै हेटौंडा नाम चलेको हो । पूर्वजन्मकी अप्सरा हिडिम्बा नै भुटनदेवी हुन् भन्ने भनाइसमेत छ ।

छत्र महाराज वा बर्बरिक महाभारत युद्धमा सरिक हुन व्यग्र रहेछन् । आमाबाट ‘जतापट्टि कमजोर छन्, त्यतै लाग्नू’ भनी आज्ञा पाएपछि कुदेका बर्बरिकलाई श्रीकृष्णले बाटैमा छल गरी युद्धमा सामेल हुन नदिएको कथा पनि छ । ब्राहृमण भेषधारण गरी भेटिएका श्रीकृष्णले धेरै ज्ञानगुन दिई गुरुभेटी स्वरूप उनको शिर माग्दा महाभारत युद्ध हेर्न पाउने सर्तमा उनी सहमत भएका रहेछन् । सुदर्शन चक्रद्वारा उनको शिरोच्छेदन हुनासाथ देवीहरूले आई प्रिय भक्तको शिरलाई अमृततत्व प्रदान गरी राहुको अमर तुल्याइदिए । अनि भीमले त्यो शिर यहाँ ल्याई महाभारत युद्ध हेर्न मिल्ने व्यवस्था मिलाएको जनकथन छ ।

देवता झैँ पूजनीय :
पूर्वजन्ममा उनी यक्षराज सूर्यवर्चा थिए । यो कथा पनि रोचक छ । दैत्यराजा मूरले निकै दुःख दिँदा सबै देवता विष्णु भगवान्लाई पुकार्न थाले । ‘त्यस्ता नाथेलाई मार्न किन विष्णु गुहार्नुपर्‍यो’ भनी घमन्ड गरेकाले ब्रहृमाको श्रापमा परी उनले राक्षस योनिमा जन्मनुपर्‍यो । ब्रहृमाकै सहृदयताका कारण श्रीकृष्णबाट मुक्ति पाउनाका साथै देवता झैँ पूजित हुने वरदान पनि उनले प्राप्त गरेको वर्णन स्कन्दपुराणमा यसप्रकार छ :
तत्सतथेती तं प्राह केशवो देवसंसदि ।
शिरस्ते पूजयिषयन्ति देव्याः पूज्यो भविष्यसि ।।
अर्थात्, त्यसबखत देवताको सभामा श्रीकृष्णले भने-हे वीर, तिम्रो शिरको पूजा हुनेछ, तिमी देवरूपमा पूजित भई प्रसिद्ध हुनेछौ !
अहिले पनि मन्दिरको गर्भगृहमा छत्र महाराजको शिर रहेको र विशेष पूजाआजा हुँदै आएको परम्पराले यहाँको गरिमा उचालेको छ । भनिन्छ, पहिले रूखमुनि पूजा गरिन्थ्यो । मन्दिरको निर्माण चाहिँ विसं १८५० मा भएको हो । यसका पछाडि पनि ऐतिहासिक पाटो छ । पाल्पाली कर्णेल अंग्रेज सेनालाई सघाउन लखनउ जाँदा भाकल गरेकाले सोही अनुसार विजय प्राप्त भएपछि यहाँ दरबार, मन्दिर बनाइएको हो । छत्र महाराज दरबार, प्राचीन हतियार, मन्दिरका अतिरिक्त भीमसेनको ढुंगा पनि अत्याकर्षक छन् । छत्र महाराजको ख्यातिकै कारण स्थानीय तहको नाम समेत छत्रदेव गाउँपालिका राखिएको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको न्वारान भएको स्थान (पौवा, बल्कोट), शान्ति बगैंचा, आलमदेवीको मन्दिर, कर्णेलको कुलो, कर्णेलको पाटो, ठाडाको पोखरी यी स्थान तत्कालीन श्री ३ वीर शमशेरद्वारा ‘ठाडा’ धपाइएका खड्ग शमशेरसँग सम्बद्ध मानिन्छ ।

ऐतिहासिक मालारानी :
ऐतिहासिक मालारानीको कथा पनि कम्ताको छैन । माला नामकी रानीको निवासस्थल भएकोले ठाउँ नै कहलियो-मालारानी । उतिबेला गोठालाले यहींसम्म गाई ल्याई फर्काउने गरेकाले ठाउँलाई गाईखर्केनी पनि भनियो भने गाईले सधैं एउटा ढुंगोमा दूध चढाउने गरेको कुरोले स्थानीय ओज बढ्नपुग्यो ।

अन्य उल्लेख्य स्थान :
अर्घाखाँचीका अन्य उल्लेख्य स्थानलाई छोटकरीमा यसरी सरसरती सम्झन सकिन्छ : बामरुकको बाइसहाते नरसिंह थान, शिवजीलाई प्रसन्न तुल्याई रावण नाचेको पर्वत नर्तनाचल, दुर्वासेश्वर गुफा, जाड्या राजाले बाघको शिकार खेल्ने ठाउँ ‘बाघखोर’, तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको न्वारान भएको स्थान (पौवा, बल्कोट), शान्ति बगैंचा, आलमदेवीको मन्दिर, कर्णेलको कुलो, कर्णेलको पाटो, ठाडाको पोखरी यी स्थान तत्कालीन श्री ३ वीर शमशेरद्वारा ‘ठाडा’ धपाइएका खड्ग शमशेरसँग सम्बद्ध मानिन्छ । पछि, पाल्पाका तैनाथवाला हुँदा खड्गशमशेरले कालीगण्डकीको किनारमा रानीमहल बनाउनुका साथै अशोकस्तम्भ पहिल्याई बुद्धको जन्मस्थल लुम्बिनी भएको प्रामाणिकता प्रस्तुत गरेको यशश्वी इतिहास पनि छ ।

आफूले देखे, सुने र पढेका यस्ता केही पक्षले मात्रै पनि अर्घाखाँची गौरवशाली रहेको छर्लंग हुन्छ भने अझ यहाँ नउघारिएका कति पाटा होलान् ! गम्दा पनि फुरूङ्ङ परिन्छ ।

प्रचुर सम्भावना
‘अर्घाखाँचीमा के छ ?’ भन्नेलाई तत्कालै ‘अर्घाखाँचीमा के छैन !’ सजिलै मुखमा बुझो लगाउन सकिनेरहेछ । हो, रिक्तता पनि छ, अभाव र कमजोरी पनि छन् । महत्वपूर्ण सम्पदा उपेक्षाका शिकार बनेका छन् । युवाहरू राजधानी, तराई वा विदेशिनेक्रम चिन्ताजनक छ । स्थानीय स्रोत, साधनमा आधारित उद्योगधन्दाको विकास हुनसके चाहिँ पलायनको गति घट्न सक्छ । पटक-पटक शिलान्यास गरिएको अर्घाखाँची विमानस्थलको बिजोग मेटिनैपर्छ । पर्यटन व्यवसायीले गुन लगाउन सक्छन्, सुपा देउरालीलगायतका क्षेत्रलाई समेटी ‘भ्रमण कार्यक्रम’ ल्याए ‘बूटी’ ठहरिनेछ । स्थलमार्गबाट सुपा देउराली पुग्ने स्वदेशी तथा विदेशी (भारतीय) पर्यटकलाई सबैतिर पुर्‍याउन सरल, सहज तथा आकर्षक कार्यक्रम (प्याकेज) ल्याइएमा रोजगारी र व्यापार बढ्नेछ । यस्तो सुखद् कल्पना मात्रैले पनि मनचरो उन्मुक्त आकाशमा उडान भर्न खोज्दोरहेछ ! acharya.nik@gmail.com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?