प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेबाट हुने भएको छ । ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ वर्षमाथिको युगल, यू-११, यू-१३ र यू-१५ छात्र÷छात्रा गरी १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रुद्र थिङले जानकारी गराउनुभयो ।

असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेको छ भने नेपालका लागि योनेक्सको आधिकारिक बिक्रेता योनेक्स सनराइज इनास इन्टरप्राइजेजको विशेष सहयोग रहेको छ ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार राशि पाँच लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

यस्तै, पुरुष युगलतर्फ शीर्ष तीन विजयीहरूले क्रमशः नगद ४० हजार, २० हजार र आठ हजार, भेट्रान्सतर्फका विजयीहरूले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यू-११, १३ र १५ का शीर्ष तीन विजयी खेलाडीहरूले क्रमशः १५ हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यसका साथै विजयी खेलाडीहरूले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब २५० खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।

यस्तै, जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिकर्मी डबल्स ब्याडमिन्टन आयोजना हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमोलको भ्रातृ संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस-राष्ट्रिय ब्याडमिन्टन संघको व्यवस्थापनमा राजनीतिकर्मीहरूलाई एकै छातामुनि ल्याई खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले राजनीतिकर्मी युगल ब्याडमिन्टन आयोजना गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘राजनीतिमा एकआपसमा पक्षपात, कटाक्ष र अनुशासनहीन कार्य गर्ने राजनीतिकर्मीलाई खेलकुद सबैको साझा थलो हो, यसमा जात, धर्म, वादजस्ता कुराको प्रभाव नहुने, निष्पक्षता र अनुशासित रहने तथा सम्मानपूर्वक हारजित स्विकार गर्न सक्ने क्षमता रहेको ज्ञान प्रवाह गर्नु पनि यसको उद्देश्य रहेको छ,’ अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

ललितपुरस्थित रिभाइभ लिजर पार्कमा आयोजना हुने प्रतियोगितामा मन्त्रीहरू, पूर्वमन्त्रीहरू, प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसदहरू एवं पूर्वसांसदहरू तथा संविधानसभाका सभासदहरूको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगिता असार १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?