मिटरब्याजी बानियाँको घरमा विप्लव नेकपाको कब्जा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

बुटवल । भैरहवाको सिद्धार्थनगर नगरपालिका-५ मिलनचोकका मिटरब्याजी रमानन्द बानियाँको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको छ । मिटरब्याजी पीडितहरूको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले घर कब्जा गरेको हो । नेकपाले प्रदर्शनसहित बानियाँको घर पुगेर कब्जासहित विरोधसभासमेत आयोजना गरेको थियो । मिटरब्याजी बानियाँले रूपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक, दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ ।

बानियाँले झण्डै ७६ जना किसानलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा देखिन्छ । बानियाँले भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको देखिन्छ । बानियाँले नक्कली कागज तयार पारेर ऋणीहरूलाई ल्याप्चे लगाई अकुत ब्याजसमेत लिइरहेका थिए । उनले भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका धेरै तथ्य भेटिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

निज बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन् । कैयौंले घर छाडेर आफन्तको शरण लिएर बस्न बाध्य भएका छन् । एक ऋणीले बानियाँसँगको ऋण लेनदेनले दबाबमा मृत्युको निर्णयसम्म लिएको तर पछि पारिवारिक सल्लाहले उक्त बाटो नरोजेको पीडा व्यक्त गरेका छन् ।

बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएको बताइएको छ । २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणीहरूले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पीडितसँग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसँग करोडौं ब्याज मिटर व्याजमार्फत असुली गरिरहेको देखिएको बताइएको छ ।

पीडित ऋणी, स्थानीयसहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिई कारबाही गरेको हो । प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित विरोधसभा आयोजना गरेको थियोे । सभामा नेकपामा केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज सरद, जिल्ला सेक्रेटरी वीरेन्द्र, जिल्ला सचिवालय सदस्य शिशिरलगायत नेताहरूले सम्बोधन गर्नु भएको सो पार्टीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?