अख्तियारद्वारा बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षकविरुद्ध साढे एक करोडको भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मिश्रविरुद्ध मंगलबार विशेष अदालतमा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

मिश्रले आफ्नो सम्पत्तिमध्ये एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसाको वैधानिक स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ । सोही कारण उनीविरुद्ध उक्त रकमबराबर बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

तर यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । यो रकम उनको वैध आम्दानी भन्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढबढाएको सम्पत्ति श्रीमतीहरू सरोज कुमारी र तुलसीकुमारी मिश्र शर्माको नाममा राखेको देखिएको पनि अख्तियारले जनाएको छ ।

सोही कारण उनीहरूको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र सरोज कुमारी र तुलसा कुमारीसमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभएको छ ।

कुल आय र वैध आयबीचको अन्तर एक करोड ३० लाख ४५ हजार ७६० देखिएकाले त्यसलाई अवैध मानेर सोही बराबर बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । ‘निजले प्राप्त गरेको आय रकम १,३०,४५,७६०.२९ (एक करोड तीस लाख पैंतालिस हजार सात सय साठी रुपैयाँ उनन्तीस पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज कौशलेन्द्र मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको,’ अख्तियार प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?