श्रम नीतिविपरीत अदक्ष कामदारमाथि शैक्षिक योग्यता लाध्दै साउदी

हिमालय टाइम्स
Read Time = 9 mins

रमेश भरती/हिटा
काठमाडौं । नेपालस्थित साउदी दूतावासले वैदेशिक रोजगारीका लागि साउदी जाने नेपाली कामदारका हकमा अनिवार्य एसइईसम्मको प्रमाणपत्र हुनुपर्ने नियम लागू गर्न खोजेको म्यानपावर कम्पनीहरूले आरोप लगाएका छन् । गत जुन १२ तारिखदेखि रोजगारीका लागि साउदी जाने कामदारहरूले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने नियम सार्वजनिक भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लगायतका केही संस्थाहरूले चर्को विरोध गरेका थिए । संघको विरोध भएपछि दूतावासले शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम फिर्ता लिएको थियो ।

दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने भए पनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र आवश्यक नहुने भन्दै भिसामा सहजीकरण गरेको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा वितरण गरेको दूतावासले आइतबारदेखि फेरि लेबर भिसाका हकमा पनि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र खोज्न थालेको संघले जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने नियम पुनः लगाउन दूतावासले चलखेल गरिरहेको उनीहरूको आरोप छ ।

आइतबारदेखि दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य खोज्न थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी समस्या समाधान समितिका संयोजक वैकुण्ठप्रसाद पौडेल ‘वैभव’ले बताउनुभयो । दूतावासले आधिकारिक रूपमा केही जानकारी नदिए पनि भिसा जारी गर्ने बेलामा प्रमाणित भएको शैक्षिक प्रमाण खोज्न थालेको उहाँले बताउनुभयो । ‘नेपालबाट साउदीलगायत खाडी देश र मलेसियाको रोजगारी गर्न जाने अधिकांश नेपाली कामदार अदक्ष हुन्छ । सामान्य शैक्षिक योग्यता भएका कामदार नै यी देश जाने गरेका छन् । शैक्षिक प्रमाणपत्र अनिवार्य गर्नु प्रकारान्तरले रोजगारीबाट वञ्चित गर्ने प्रपञ्च भएको हो ।’ उहाँले भन्नुभयो, ‘साउदीले कामदार आदानप्रदानसम्बन्धी द्विपक्षीय श्रम सम्झौता हुन नसकेका कारण दूतावासले पटक-पटक नयाँ बहानाबाजी गरेर दुःख दिएको हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ । नत्र यो ठूलो समस्या हुन्छ ।’ साउदीको विषयमा यति ठूलो विषयमा विवाद भइरहँदा सरकार भने मौन बसेको उहाँको आरोप छ ।

संघले मंगलबार दूतावासमा सम्पर्क गरेर शैक्षिक प्रमाणपत्र अनिवार्य नगर्न पुनः आग्रह गरेको छ । दूतावासले भने बकर इदका कारणले साउदी अरेबियामा लामो बिदा परेको जनाएको छ । पेस भएका राहदानीमा मंगलबार भिसा नलागेमा बकर इदपछि मात्रै भिसा लाग्ने दूतावासले जनाएको छ । कामदारको योग्यता तोक्ने काम दूतावासको नभई कामदारलाई रोजगारी दिने कम्पनीको विषय भएको भन्दै शैक्षिक प्रमाणपत्र माग गर्ने दूतावासको नीति आर्थिक र व्यवहारिक दृष्टिकोणले समेत अनुचितसँगै झन्झटिलो रहेकोे व्यवसायीहरूले आरोप लगाइरहेका छन् ।

लेबर भिसामा जाने नेपाली कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य नगर्न पटक–पटक ध्यानाकर्षण गराएको भए पनि दूतावासले साउदी सरकारको निर्णय भन्दै प्रमाणित शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएको जवाफ दिँदै आएको संघले जानकारी दियो । भिसाका लागि शैक्षिक प्रमाणपत्र माग गर्ने साउदी दूतावासको निर्णय अव्यावहारिक भएको भन्दै उनीहरूले विरोध गरिरहेका छन् । अदक्ष नेपाली कामदारको प्रमुख रोजगारदाता देश साउदीमा हाल ६ सय बढी वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउने गरेका छन् । कतिपय व्यवसायीले भने साउदी अरेबियाको आर्थिक विकासमा नेपाली कामदारको उच्च योगदान भए पनि दूतावासका पछिल्ला कदम र व्यवहार कामदार तथा वैदेशिक रोजगार व्यवसायीलाई अपमानित गर्ने प्रकृतिको देखिएकाले दूतावास लचिलो नबनेको अवस्थामा नेपाली कामदार पठाउन रोक्नुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

शैक्षिक प्रमाणपत्रको विषय श्रम सम्झौतामा नभएका कारण तत्काल आवश्यक नपर्ने श्रम मन्त्रालयका कर्मचारीहरूले बताउँदै आएका छन् । साउदी र नेपालबीच कामदार रोजगारीमा कामदार आपूर्ति गर्ने विषयमा श्रम सम्झौताको अन्तिम चरणमा छ । यो अवस्थामा जबरजस्ती शैक्षिक प्रमाणपत्रको विषय उठाउनु सन्दार्भिक नभएको श्रम मन्त्रालयको बुझाइ छ । हाल साउदीमा दैनिक करिब तीन सय कामदार रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग तीन जनालाई प्रवेश अनुमति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एकजना यात्रुको बिदाइसँगै स्वागतका लागि तीनजना मात्रै जान पाइने भएको छ । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एकजनाका लागि तीनजना मात्रै जान पाउने निर्णय गरेको हो ।
टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले त्यो निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायकले उडान भरिरहेका छन् ।

अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भिड लाग्छ । तर, विमानस्थलको यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । विमानस्थल दुई वर्षअघि पनि यस्तै निर्णय गरेको थियो । तर, विरोध भएपछि कार्यान्वयन भएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?