बिआइएसको ९३ औँ बैठकमा गभर्नर

फाइल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिआइएसको ९३औँ वार्षिक बैठकमा सहभागी हुनुभएको छ । असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित बैठकमा सहभागी भई उहाँ मंगलबार स्वदेश फर्किनुभएको हो । बैठकमा बिआइएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा गभर्नर अधिकारी फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित पोलिसी एप्रोच फर एड्रेसिङ रिस्क्स पोस्ड बाई क्रिप्टो एसेट्स एण्ड डिसेन्ट्रलाइज्ड फाइनान्स विषयक अन्तरक्रियामा सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँले क्रिप्टोकरेन्सीले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । बैठकमा बिआइएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बिआइएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंक दबाबमा रहेको चर्चा गर्नुभएको थियो । गभर्नर अधिकारी असार १० गते आयोजित ओभरकमिङ क्रस बोर्डर पेमेन्ट च्यालेन्जस फर इमर्जिङ मार्केट्स एण्ड डेभलपिङ इकोनोमिक विषयक ‘सेन्ट्रल बैंक राउण्डटेबल’मा समेत सहभागी हुनुभएको थियो । बैठकका क्रममा गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमिल अहमदसँग भेटवार्ता गर्नुभएको थियो ।

सो अवसरमा मूल्यस्थिति, वित्तीय स्थायित्व र बाहृय क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो । गभर्नर अधिकारीले ‘बिआइएस इनोभेसन हब’ अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिनुभएको थियो । बिआइएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनमा आवश्यक भूमिका निर्वाह गर्छ । सन् १९३० मा स्थापित संस्थामा हाल ६३ केन्द्रीय बैंक सदस्य छन् भने मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?