कथा : ‘अपरिवर्तन’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ अर्पण

उई....
लाइन गयो...........
म कमल पोखरीलाई घुम्दै छु । म जस्तै अरू पनि धेरै घुम्दै छन् । कोही कसैको हात समाएर कोही म जस्तै आफ्नै संसारमा । हो म आफ्नै संसारमा घुमिरहेको थिए कमल पोखरीलाई । पोखरीकै आकारमा, पहिले पनि नआएको ठाउँ होइन पहिले आउँदा बीच भागमा कमलको मूर्ति थियो वरिपरि पानी, चार कुनामा र पूर्वी भागको बीचमा साना काठे घर, अहिले मूर्ति हटेछ । म घुम्दै थिए उई...लाइन गयो भन्ने आवाजले झस्के पछि थाहा पाएँ म खै कता पुगेको रहेछु र त्यो आवाजले फेरि फर्केर साविक अवस्थामा नै आएछु । पोखरीलाई एक फन्को मारेर पश्चिम-उत्तर भागमा बाटो मुनिको पहिलो सिढी छोडेर बसेको छु म ।

मलाई मनमनै काठमाडौंदेखि रिस उठ्छ ईष्या लाग्छ र पनि काठमाडौंलाई धन्यवाद दिन्छु धन्य काठमाडौं लाइन छ र लाइन गयो आवाज सुन्न पाएको छस् । यत्तिकैमा मलाई मेरा गुरुले सुनाएको कथा सम्झिन्छु । काठमाडौं पहिले पानीले भरिएको थियो रे पछि मञ्जुश्रीले चोभरको डाडो काटेर पानी फाले पछिमात्रै मानिस बस्न योग्य भएको रे । त्यसपछि विभिन्न वंशका राजाले शासन गर्दै गए रे, एकीकरणपछि मात्रै विशाल नेपालको स्थापना भयो रे । त्यसपछि पनि राणा शासन पञ्चायत शासन भोग्नु पर्‍यो रे त्यसबाट मुक्ति पाउन पनि धेरै युद्ध भए रे, यो मेरो लागि कथा हो इतिहास हो त्यो मैले बाँचेको समय होइन म त पञ्चायतमा जन्मे पनि मैले भोगेको समयलाई गणतन्त्र भन्छन् सायद । किन भन्छन् भन्नेलाई नै थाहा होला !

काठमाडौंलाई धेरै गाह्रो छ । काठमाडौंमा लाइन छ, यहाँ बेला मौकामा लाइन जान्छ । मेरो गाउँलाई धेरै सजिलो छ त्यहाँ लाइन नै छैन जाने कुराबाट कुनै झन्झट छैन । काठमाडौंमा सडक छ गाडीहरू छन् दुर्घटना छ । मेरो गाउँ यसमा पनि खुशी छ त्यहाँ अहिलेसम्म बाटो पुगेको छैन दुर्घटना छैन कहिँ कतै पुगेको भए पनि पहिरो र भत्किएको छ गाडी चल्ने सम्भावना छैन । मेरो गाउँको समस्या त अझै पनि मकै छरेको बारीमा बाँदर जानु हो । काठमाडौंमा धेरै कुरा छ, सबै कुरा अलिअलि जान्छन् तर मेरो गाउँमा त केही घर बस्तीमात्रै छन्, ती घरमा केही युवा थिए, भएको न रहेछ जाने जाँदा जाँदै सकिए । म सम्झिन्छु अघिको लाइन गयो आवाज लाइन त म बस्दा बस्दै एकैछिन् मा आएको थियोे । मेरो गाउँमा युवा आउलान् त बृद्ध आमाबाबु हुँदाहुँदै ?

म सम्झन्छु अस्ति भर्खर चुनाव भएको कुरा । भोट दिएको कुरा, पहिले भोट दिन र आफ्नो नेतृत्व चयन गर्न पाइँदैन थियोे रे यो कुरा पनि गुरुले नै भन्नु भएको, तर अहिले त्यस्तो छैन अहिले मज्जाले पाइन्छ राम्रो मान्छे चयन गर्न तर पनि म गुरुले सुनाएको इतिहास वर्तमानमा देखिरहेछु । सायद यही नै होला प्रजातन्त्र र गणतन्त्र ल्याएको परिवर्तन हुनुपर्ने इतिहास वर्तमान र हुनुपर्ने वर्तमान इतिहासमा देखिएको छ ।

म काठमाडौंमा छु यहाँ लेख्नका लागि धेरै कुरा छन् । चुनावले बालेन दिएको छ, बालेनले काम दिएको छ लेख्नलाई, उता मेरो गाउँ छ जहाँ चुनावले कयौं बालेन खोसेको छ । चुनावको भोलि पल्ट परिवर्तन हुन सक्ने दिनेश दाइ चुनावको अघिल्लो दिन परिवर्तन हुन किन सकेनन् होला ! आज जय बालेन भन्ने गणेश दाइ हजुरका मेयर किन अजय भए होलान् ! अर्को चुनावका लागि गृहकार्य गरिरहनु भएका ठुल्दाई अझै कति आफ्ना कुरामात्रै फेसबुकको भित्तो सजाउनु हुन्छ ! हामीले हजुरलाई चिन्न चाहादैनौ सक्नुहुन्छ भने थाहा नै नदिइ काम गरेर देखाइदिनुस् । हजुरले जित्नु भनेको त उही पुरानो पद्धति न हो हजुरको कामले जितेछ भने मानौंला परिवर्तन, भन्नका लागि मेरो गाउँ रित्तो भइसकेको छ । खाली आफैंमा पूर्ण छ,
त्यसैले पूर्णमदस् पूर्णमिदम्,
अर्को चुनावमा फेरि मिलम् ।।
म भाग्यमानी छु मेरो गुरु जस्तै, मेरा गुरुले मलाई स्वर्ण युगदेखि फलामे युगसम्मका कथा सुनाउनुभयो । मैले पनि मेरा शिष्यहरूलाई बालेन र हर्क युगका कथा सुनाउन पाउँछु । तर मलाई भाग्यमानी बनाएर आफू अभागी भएका मेरा बाआमाका कथा कसरी सुनाउँला ! हुन त सबै कथाहरू सुन्नका लागि कहाँ बनेका हुन्छन् र यदि हुन्थे भने बत्ती मुनि अँध्यारो हुने नै थिएन ।

खै म कहाँ पुगेछु पुग्दा पुग्दै अल्लि टाडा नै पुगेछु । फर्किने बाटो नै बिर्सिए जस्तो, पोखरीमा भ्यागुतो उफ्रिएको स्वरले मलाई झस्कायो । सोंचे भ्यागुताले पनि ब्युँझाउने रहेछ । मेरो गाउँ पनि अझै कति कुवाको भ्यागुतो भई बस्नुपर्ने हो थाहा छैन र पनि वरिपरि बस्नेलाई ब्युँझाएर टाडा पठाएको छ आफू रित्तो नै किन हुन नपरोस् । म बस्नुअघि दायाँबायाँ दुई जोडी थिए म उठ्ने बेलामा एक्लै रहेछु समय धेरै बितिसकेछ म फर्किए, मेरो गाउँ पनि फर्केला त ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
अज्ञात
अज्ञात
2024-03-19 10:33 am

❣️❣️

रिलेटेड न्युज

छुटाउनुभयो कि ?