बीआरआईमा चीनको चासो छः गृहमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आईतवार स्वदेश फर्कनुभएको हो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै चीन भ्रमण फलदायी भएको बताउनु भयो । उहाँले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको बताउनु भयो ।

उहाँले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताउनु भयो । उहाँले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताउनु भयो । उहाँले व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताउनु भयो ।

चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको उहाँले बताउनु भयो । उहाँले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताउनु भयो । उहाँले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभांवित हुने विश्वास लिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताउनु भयो ।

उहाँले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु-काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको बताउनु भयो । उहाँले भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिंचाई प्रणालीको अवलोकन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो । नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास,व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन् । चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधिनताका लागि संधै सम्मान गर्दै आएको छ । नेपालको विकास प्रक्रियामा पनि संधै साझेदारको रुपमा सकारात्मक भूमिका खेल्दै आएको छ । नेपालमा संकट पर्दा चोह भुकम्प र कोभिड महामारीमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौं । नेपालले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढी रहेको अवस्थामा विगतमा गर्दै आएको आर्थिक सहयोगलाई थप वृद्धि गर्नको लागि विशेष अनुरोध गरेका छौं । चीनको उप्रधानमन्त्रीले सिचुवान पार्टी प्रमुखले पनि सकारात्मक रुपले सोचिने विश्वास दिलाउनु भएको छ । व्यापार पर्यटनको क्षेत्रमा प्रवद्र्धन गर्नको निम्ति अनुरोध गरेका छौं । साथै विआरआईको सन्दर्भमा पनि नेपाल सरकारले २०७० मा सम्झौता गरौं । त्यसको कार्यान्वयनका लागि दुई पक्ष विचमा छलफल भइरहेको छ । अन्तिम रुप दिइसकेपछि विआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुङ्गो लगाउने छौं । यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौं । बीआरआईबाट कस्तो खालको लाभ लिनसक्ने गरी तयारी गर्नु भएको छ भनेर सोध्नु भएको थियो । त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौं । सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ । छेन्दु काठमाडौंको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौं । उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । छेन्दु पोखरा-भैरहवा कमर्सियल उडानको निम्ति अगाडि बढ्न अनुरोध गरौं । त्यसमा पोखरामा बढी सोचेको प्रतिक्रिया दिनुभएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?