कृषिमा जोड दिँदै सिद्धिचरण नगरपालिका

Read Time = 5 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले कृषिमा विशेष जोड दिँदै नगरसभा सम्पन्न गरेको छ । १२औँ नगरसभाले चिस्यान केन्द्र निर्माणदेखि कृषि एम्बुलेन्ससमेत खरिद गर्ने भएको छ । कृषि एम्बुलेन्स खरिद गर्न ३० लाख बजेट प्रस्ताव गरेको छ भने संघ र प्रदेश सरकारको लागत साझेदारीमा चिस्यान केन्द्र निर्माण गर्न १० लाख बजेट विनियोजन प्रस्ताव गरिएको छ ।

किसानद्वारा उत्पादित कृषि उपज सुलभ तरिकाबाट बजार पुर्‍याउने उद्देश्यका साथ कृषि एम्बुलेन्स खरिद गर्न बजेट प्रस्ताव गरिएको नगरप्रमुख तेजेन्द्र खनालले बताउनुभयो । स्थानीयस्तरमा उत्पादित कृषि उपज गाडीमा महँगो भाडा तिरेर बजारसम्म पुर्‍याउँदा किसानले उपयुक्त मूल्य पाउन सकेका थिएनन् । नगरपालिकाले सुलभ मूल्यमा कृषि एम्बुलेन्स प्रयोगमा ल्याएपछि किसानले उत्पादन गरेका थोरै-थोरै सामग्री पनि बजार पुर्‍याउन सजिलो हुने भएको छ । बजार अभावका कारण किसानले तरकारी तथा कृषिजन्य उत्पादनमा ध्यान दिएका थिएनन् । कृषि उत्पादनले उचित मूल्य पाउने र सहज बजार पाउने हो भने रोजगारीका लागि विदेशिने क्रम घट्ने नगरको ठम्याइ छ ।

जिल्ला सदरमुकाममा भएको नगर कार्यपालिकाको कार्यालयमा आइपुग्न वडाका नागरिकलाई पैदलयात्रामा करिब एक दिन लाग्छ तर अहिले सबै वडामा सडक सञ्जाल पुगिसकेको छ । वडा-वडामा सडक निर्माण भए पनि सहज यातायातका साधनको पहुँच नहुँदा कृषि उपज बजारसम्म लैजान समस्या छ । नगरपालिकाभित्र ओखलढुंगा सदरमुकाम, रुम्जाटार र निशंखेभञ्याङमा कृषि हाटबजार लाग्ने गरेको छ । किसानले १२ वटा वडा रहेको नगरपालिकामा आफूलाई पायक पर्ने हाटबजारमा डोकोमा बोकेर लगी बिक्री गर्ने गरेका छन् । ओखलढुंगा सदरमुकाममा शनिबार र बुधबार, रुम्जाटारमा शुक्रबार, निशंखेभञ्ज्याङमा पनि शुक्रबार नै कृषि हाटबजार लाग्ने गरेको छ ।

उत्पादनस्थलबाट डोकोमा बोकेर हाटबजारसम्म पुर्‍याई बिक्री गर्न नभ्याउने भएकाले किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा ठेकेदारलाई जिम्मा लगाउनुपर्ने बाध्यता छ । अधिकांश किसानले बिहानको राती नै डोकोमा बोकेर ल्याई सामान्य मूल्यमा ठेकेदारलाई जिम्मा लगाएर जाने गरेका छन् । उत्पादन ठेकेदारमार्फत् उपभोक्तासम्म पुर्‍याउनुपर्ने बाध्यात्मक परिस्थितिले किसानले मूल्य नपाउने र उपभोक्ताले पनि सुलभ मूल्यमा वस्तु नपाउने अवस्था छ । बिगुटारकी आङ्दिकी शेर्पा भन्नुहुन्छ, ‘उत्पादनमात्रै गर्छौं, फाइदा जति सबै अरूले खान्छन्, हामी त काम गर्नेमात्र हो । काम, मल, बिउ, लगानी सबैको हिसाब गर्ने हो भने हामीलाई त केही फाइदा छैन ।’ किसानका यावत् समस्यालाई ध्यान दिँदै सिद्धिचरण नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गर्न बजेटको प्रस्ताव गरेको हो ।

त्यस्तै, मसलाबाली प्रवद्र्धन गरी किसानको जीवनस्तर उकास्न २० लाख बजेट प्रस्ताव गरिएको छ । कृषि र पशुपालनतर्फ सशर्त र निशर्त गरी एक करोड ८९ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?