छिपछिपेमा झोलुङ्गे पुल निर्माण, १ सय ७५ घरधुरी प्रत्यक्ष लाभान्वित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट र चिउरीबोटको भौगोलिक दुरी घटाउन छिपछिपेमा झोलुङ्गे पुल निर्माण भएको छ ।
रु ३३ लाख ५९ हजार ८९ रुपैयाँ लागत अनुमान गरिएकोमा गाउँपालिकाले पुलको आवश्यक सामग्री (स्टिल पाट्र्स) कम लागतमा खरिद गरेको हुँदा पुल निर्माणमा यथार्थ खर्च भने ३२ लाख ५५ हजार चारसय ५९ रुपैयाँ भएको उपभोक्ता समितिले जनाएको छ ।

पुल निर्माणको लागि कुल छिपछिप गाउँको छिपछिपे खोलामाथि निर्माण भएको झोलुङ्गे पुलबाट १ सय ७५ घरधुरीका नौ सय बढी जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । पुल निर्माण अवधिमा कुल ३५ सय २६ दिन रोजगारी सिर्जना भएकोमा पुरुष १७ सय ८४ र महिला ३ सय ७३ जनाले रोजगारी पाएका पुल निर्माण समितिका कोषाध्यक्ष बुद्धिसरा घर्तीमगरले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा उक्त पुल निर्माण गरिएको हो ।

झोलुङ्गे पुल निर्माण गर्नको लागि प्रादेशिक प्राविधिक सहयोगी निकाय (पिटिएपि) पोखरा, झोलुङ्गे पुल सहयोग इकाई (टिबिएसयु) पोखरा र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहयोग उपलब्ध गराएका थिए । नवनिर्मित झोलुङ्गे पुलको उद्घाटनसँगै सार्वजनिक लेखापरीक्षण समेत गरिएको छ । पुल निर्माणका लागि गाउँपालिका र उपभोक्ता समितिको बीचमा २०७९ साल वैशाख १५ गते निर्माण सम्झौता भएको थियो ।
पुल निर्माण गर्न कुल लागतको केन्द्रीय अनुदान झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट २६ लाख ६३ हजार चारसय ८३ रुपैयाँ, मालिका गाउँपालिकाको चारलाख ३६ हजार छ सय ८१, लठ्ठासहित बुल्डग ग्रिप्स सहयोग एकलाख ९१ हजार सातसय ४२ र समुदायबाट सहयोग ६७ हजार एकसय ८१ रुपैयाँ लगानी भएको छ ।

५८ मिटर लामो झोलुङ्गे पुलको हिँड्ने बाटो (चौडाई) १ मिटर ६ सेन्टिमिटर, खोलादेखि पुलसम्म फ्रिबोट (पुलको उचाई) ९ मिटर ३० सेमी, पुलको जाली १ मिटर १० सेमी रहेको छ भने एकपटकमा पुलको २५ सय टन भारवहन क्षमता रहेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?