बैंक ब्याजदर घट्ने अर्थमन्त्रीको आश्वासन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो बीच उहाँले यस्तो बताउनुभएको हो । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले चर्को ब्याजदर घटाउन आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ । त्यसकारण योे पोलिसी रेट घटाउने र यो पुनर्ताजिकीकरण गर्न पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला । त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तु खपतमा जोड दिनु पनि आग्रह गर्नुभयो । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाका क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीको पनि प्रशंसा गर्नुभयो । सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहन नीति लिएको उहाँको भनाइ थियो । कृषि अनुदान दुरूपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने, चाहे उद्योग व्यवसाय होस्, चाहे कृषिजन्य व्यवसाय होस्, त्यसलाई प्रोत्साहन दिने, हरेक चिज हामी आयातितमा निर्भर हुने जुन परिस्थिति छ, त्यसलाई अन्त्य गरेर देशभित्रका कृषक, कृषि व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौँ । एक तहको संरक्षण दिने नीति लिएका छौँ । अनुदान पनि हामीले उत्पादनको आधारमा दिने व्यवस्था गरेका छौँ । मलाई लाग्छ, तपाईंहरूको जुन देशभरको सञ्जाल छ । विभिन्न कार्यक्रमको सिलसिलामा ठूलो कृषिजन्य पदार्थको खपत पार्टी प्यालेसहरूले गर्छन् । तपाईंहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुहुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?