रोविन तामाङप्रति श्रद्धाञ्जलि अर्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रोविन तामाङप्रति स्रष्टा, शुभेच्छुक र आफन्तजनले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । आइतबार तामाङको पार्थिव शरीरलाई काठमाडौंको नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरिएको थियो । श्रद्धाञ्जलि सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले दिवंगत तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–४ का सांसद गगन थापा पनि नक्साल पुग्नुभएको थियो ।

श्रद्धाञ्जलिपछि तामाङ परम्परा अनुसार स्वयम्भूमा उहाँको अन्तिम संस्कार गरिएको छ । रोविनका दुई छोरीहरू फ्रान्समा बसोवास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आइतबार अन्त्येष्टि गरिएको हो ।

गत मंगलबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा उहाँको मृत्यु भएको थियो । ‘रविन एण्ड द लुज ब्याण्ड’ का गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?