संसद्‌मा प्रधानमन्त्रीको स्पष्टीकरण :

विवादित अभिव्यक्तिबारे आत्मालोचना, विपक्षीले माग्नेबित्तिकै राजीनामा नदिने अडान

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको गुनासोे गर्नुभएको छ । असार १८ गते प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा आयोजित भारतीय नागरिक सरदार प्रितम सिंहको जीवनीमा आधारित पुस्तक विमोचन समारोहमा आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरैपटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर बुधबारदेखि लगातार संसद् अवरुद्ध गरेको थियो । सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो विवादित अभिव्यक्तिप्रति आत्मालोचना गर्ने र संसद् सुचारु गर्ने सहमति गर्नुभएको थियो । प्रमुख दलका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफूलाई आफ्नो कुरा राख्नका लागि अवसर नदिएको गुनासो गर्नुभएको हो ।

प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म त सुरुदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ, राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो । के यही हो संसदीय अभ्यास ? एकचोटि मैले यो सदनसमक्ष भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति ? यी मेरा प्रश्नहरू मात्रै हुन् । म यहाँ प्रतिवादका लागि होइन, स्पष्टीकरणका लागि उपस्थित भएको हुँ ।’

त्यो दिन म प्रधानमन्त्री नभएर ज्ञानुको बुवा भएर बोल्न पुगेँ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले असार १८ गते आफूले बोलेको विषय भावनात्मक भएको स्पष्टीकरण दिनुभएको छ । सोमबार प्रतिनिधिसभामा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै आफूले त्यसदिन नबोलेको भए पनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुवाको हैसियतमा बोलेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपथ्र्यो । तर, त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ । म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झन पुगे । प्रितम सिंहको सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा । यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधीनताका लागि गरेको योगदान काटियो ? एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’

‘मेरो अन्तरआत्माले भन्यो भने एकमिनेट पनि बस्दिनँ’
प्रधानमन्त्री प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एकमिनेट पनि पदमा नबस्ने स्पष्ट पार्नुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो केही दिन पहिलाको अभिव्यक्तिलाई लिएर राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो भने हुन्छ । हुन त माननीय राजेन्द्रजीको भर्खर दुई कार्यकाल भयो क्यारे तपाईँको । पहिला-पहिलाको हेर्नुभयो भने दुई/दुईपटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईंले पढ्नुभएको छ ? कस्तो परिस्थितिमा दिएँ, के आधारमा दिएँ ? छातीमा हात राखेर त्यसमा पनि गहिरोसँग विचार गर्न नैतिकता कसले देखायो, कसले देखाएन ? तपाईंले भनेर त म गर्न सक्दिनँ । मेरो अन्तरआत्माले भन्यो भने एकमिनेट पनि बस्दिनँ म । प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन चाहँदिनँ ।’

‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन’
प्रधानमन्त्री प्रचण्डले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उहाँले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको दाबी गर्दै भन्नुभयो, ‘म पहिल्यै दुईपटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रोपटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यहीअनुसार गर्दै आएको हुँ । मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर, जति समय हुन्छु, योपटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दै छु ।’

नैतिकता जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकता जीवित भए प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताउनुभएको छ । सोमबार सदनमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गम्भीर भएकाले राजीनामा दिनुपर्ने जिकिर गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिपक्षमा रहेका सबै दलले त्यसको विरोध गरेका थियौँ । तर, त्यो दिन हामीलाई विचार राख्न किन दिइएन ? किन नियम मिचेर सत्तापक्षतिर बोल्न दिइयो । प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ । दबाबले दिने होइन ।’ अध्यक्ष लिङ्देनले संसद्मा तीन दल मात्र नभएको भन्दै तमाम दलहरू निर्णायक अवस्थामा रहेको बताउनुभयो ।

रास्वपामाथि प्रश्न उठ्ने जालसाजीपूर्ण भाष्य बनाइयो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा रास्वपाको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी आफ्नो कुराहरूसमेत राख्न नदिइएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको विषयमा रास्वपाका आफ्नै अडानहरू रहेको भन्दै सो विषयमा प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा पनि त्यही हो भन्ने भाष्य बनाइएको उहाँको गुनासो छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै सभापति लामिछानेले भन्नुभयो, ‘रास्वपा प्रतिपक्षको भूमिकामा छ । हामी प्रतिपक्षमा हुनुका पनि आफ्ना मुद्दाहरू छन् । रास्वपा अरू कुनै दलको एजेण्डामा होइन, आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको छ । हामीमाथि प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ । म यो कुरा सदनलाई स्मरण गराउन चाहन्छु ।’ सभापति लामिछानेले यो संसद् तीन दलले बन्धक बनाउन मिल्छ ? भन्ने प्रश्नसमेत गर्नुभयो ।

प्रधानमन्त्रीले संसद्‌मा आएर गल्ती स्वीकार्नु सकारात्मक : नेम्बाङ
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले गरेको स्वीकारोक्तिका लागि धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो गल्ती स्वीकार गर्नु सकारात्मक रहेको प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले भन्नुभयो, ‘उहाँले हामीलाई सोधेको प्रश्न नयाँ होइन । विगतमा उहाँहरू प्रतिपक्षमा बस्दा यही कुरा सत्तापक्षले सम्झाउनुपथ्र्यो । संविधानसभा कालमा त यसरी अवरोध गर्न नपाइने भनी नियम नै बनेको थियो । अवरोध कानुनीभन्दा पनि राजनीतिक कुरा हो, जसलाई उहाँले आज आफैँ आएर सम्बोधन गरिसक्नु भएको छ ।’ प्रचण्डले आफ्नो व्यक्तिगत र पारिवारिक विषयलाई संवेदनशील रूपमा उठाएको भए पनि प्रधानमन्त्रीका रूपमा दिएका कतिपय जवाफ चित्तबुझ्दो नभएको उहाँको टिप्पणी छ ।

प्रतिनिधिसभा बैठक असार २९ गतेसम्म स्थगित
प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो । अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सुरु गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी नयाँ संसद् भवन निर्माण कार्यअघि बढाउन निर्देशन दिनुभएको छ । सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै गर्ने गरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोहीअनुरूप कामको गति बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको बताउनुभयो । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँले निर्देशन दिनुभयो । यस्तै, सहरी विकास मन्त्री सीता गुरुङले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरूको संख्या बढाउन निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले श्रमिकको संख्या बढाउन आफूले पटक-पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?