वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरुरी छ : अर्थमन्त्री

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौँ मात्र नभनी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ प्रतिस्पर्धी हुने बताउनुभएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउने हो भनेर संघसंस्था लाग्यो भने सकारात्मक नतिजा दिन्छ ।’

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा जोड दिँदै उहाँले ब्याजदरलगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थालेमा ढिलोचाँडो त्यसले समस्या सिर्जना खडा गर्ने भएकाले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा एकदमै जरुरी रहेको बताउनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘२०४६ सालपछि वित्तीय क्षेत्र व्यापकरूपमा विस्तार भएको हो । बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति छ । यसबाहेक विभिन्न वित्तीय संस्था आएका छन् । बिमा कम्पनी धेरै भएकाले अहिले मर्जरको कुरा आइरहेको छ ।

प्रविधिमा परिवर्तन आएकाले पारदर्शिता पनि धेरै विकसित भएको छ । यो सबैका लागि खुसीको कुरा हो । उपभोक्ताको अधिकार र सुरक्षा उच्च प्राथमिकतामा राख्नेछन् भन्ने मलाई विश्वास छ, बैंकिङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैंकलाई राष्ट्र बैंकको सहयोगमा सुधार भएको पाइन्छ । कृषि विकास बैंकमा पनि सुधार आवश्यक छ ।’

उहाँले मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेकोमा पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग पुग्ने सम्भावना बढेको बताउनुभयो । तथापि मूल्यवृद्धि नियन्त्रणमात्र मौद्रिक नीतिको लक्ष्य नभई समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको उहाँको भनाइ थियो ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरा सम्बोधन गर्नेछ । बैंकसँग तरलता भए पनि पुँजी प्रवाह नभएको अवस्थालाई यसले सम्बोधन गर्नेछ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्रका समस्या समाधानको बाटो खोज्नुपर्छ । ठूला लगानीकर्तामा मात्रै पुँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्तामा पुँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?