वैद्यको मुक्तकसङ्ग्रह ‘अन्तहीन यात्रा’

सुशीला घिमिरे
Read Time = 7 mins

सुरेशराज वैद्य नेपाली साहित्यमा स्थापित नाम हो । उहाँको लगनशीलता र समर्पण लोभलाग्दो किसिमको छ । कुनै पनि साहित्यिक कार्यक्रमहरू उहाँ छुटाउनुहुन्न । वयोवृद्ध भन्न मिल्ले वयसन्धिमा रहेर पनि उहाँ सबैतिर पुगिरहनुहुन्छ । यस पटक उहाँको ‘अन्तहीन यात्रा’ शीर्षकमा मुक्तकसङ्ग्रह प्रकाशित भएको छ । प्रकाशक आफैँ रहनुभएको यो पुस्तक पकेट साइज वा स्ट्यान्डर्ड साइज भनेर चिनिने सानो र छरितो साइजमा छ । प्रथम संस्करणका रूपमा २०८० साल अर्थात् हालैमात्र यो पुस्तक प्रकाशित भएको छ । कृतिकारमा सर्वाधिकार रहेको यो पुस्तकको छपाइस्तरीय छ तर भाषिक अशुद्धिहरू भने भेटिन्छन् ।

भूमिका खण्डसमेत गरी जम्मा १०० पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपैयाँ छ । बगलामुखी अपसेट प्रेस, कोपुण्डोल ललितपुरमा मुद्रण भएको यस पुस्तकको आवरण मदन नेपालको रहेको छ । आवरण कालो रङको पृष्ठभूमिमा एकजना मानिस छाता ओढेर हिँडिरहेको छायाँचित्र छ । पुस्तकको शीर्षक सुहाउँदो अन्तहीन यात्रामा हिँडिरहेको मानिसको सांकेतिक चित्रका रूपमा यो चित्र रहेको छ । माथि ठूला हरियो रङमा पुस्तकको शीर्षक ‘अन्तहीन यात्रा’ भनेर राखिएको छ र त्यसकै तल पुस्तकको विधा जनाउन सुनतोला रङमा ‘मुक्तकसङ्ग्रह’ भनिएको छ । पुस्तकको तल किनारामा राता साना अक्षरमा मुक्तककारको नाम दिइएको छ ‘सुरेशराज वैद्य’ भनेर ।

पृष्ठ आवरणमा मुक्तककार वैद्यको फोटोसहित परिचय दिइएको छ । जसअनुसार उहाँ २००४ सालमा काठमाडौंको हृयुमत टोलमा शम्भुराज वैद्य र कपिलनानी वैद्यको छोराका रूपमा जन्मिनुभएको हो भन्ने थाहा हुन्छ । वाणिज्य शास्त्रमा स्नातक उहाँ २०२३ सालदेखि लेखनमा लाग्नुभएको उल्लेख भएको छ । विशेषतः उहाँ मुक्तकमै कलम चलाउँदै आइरहनुभएको छ तर उहाँले उपन्यास पनि लेखेको देखिन्छ । उहाँका यसपहिले तीनवटा पस्तकक प्रकाशित भएका छन् ।

उहाँका मुक्तकमा मुक्तकीय विशेषताहरू छन् । संरचनात्मक र भावगत वा अर्थप्रधानताका दृष्टिले समेत उहाँका मुक्तकहरू सफल छन् । मुक्तककार सुरेशराज वैद्यको यस पुस्तकमा रहेका मुक्तकहरूमा अधिक मात्रामा प्रेमकै प्रकटीकरण भएको छ । वैद्य विशेषत शृंगार रसमा मुक्तक लेख्नुहुन्छ ।

२०५७ सालमा ‘झरेका फूलहरु’ मुक्तकसङ्ग्रह, २०६१ सालमा ‘स्तब्ध आकाश’ उपन्यास र २०७७ सालमा ‘समृद्धि’ शीर्षकमा संयुक्त, मुक्तकसङ्ग्रह प्रकाशित भएका पाइन्छन् । यसरी हेर्दा यो उहाँको एकलमा तेस्रो र संयुक्तसमेत गर्दा चौथो पुस्तक भएको थाहा हुन्छ । भूमिका खण्डमा समर्पणमा उहाँका मातापिताको फोटो र नाम उल्लेख भएको छ । त्यसपछि हामी र हाम्रो कृति समूहका शैलेन्द्रकुमार थापाको ‘शुभकामना’ सोही समूहकी गंगा आचार्य सेढाईको ‘शुभकामना’, सोही समूहकै मदन नेपालको ‘सम्पादकीय’, सोही समूहमा संलग्न तथा मुक्तककार वैद्यको ‘मेरा मनका कुरा’ छन् । यसपछि पृष्ठ ११ बाट मुक्तकहरूको प्रस्तुति सुरु भएको छ । पुस्तकमा २७० वटा मुक्तकहरू छन् ।

मुक्तक कविताको लघुत्तम रूप हो । छोटो छरितो रूपमा प्रस्तुत गर्न सकिने र भाव संप्रेषणका दृष्टिले सहज रूप भएको हुँदा वर्तमानमा मुक्तक कविताको लोकप्रिय उपविधा मानिन्छ । मुक्तकलाई चतुष्पदी पनि भनिन्छ । किनकि यसमा चार पाउ हुन्छन् । पहिलो पाउ र दोस्रो पाउमा अनुप्रास हुन्छ । तेस्रो पाउलाई अनुप्रासविहीन बनाइन्छ र फेरि चौथो पाउमा पहिलो र दोस्रो पाउसँगको अनुप्रासको समन्वय गराइन्छ । यसो गर्नाले मुक्तक आकर्षक बन्छ र भावसबलता पनि पैदा हुन्छ । लेख्न र भावाभिव्यक्तिका लागि सहज भएका कारणले हालका दिनहरूमा मुक्तक बढी नै लेखिने उपविधा हो । सामाजिक सञ्जालहरूमा संप्रेषण गर्नका लागि पनि सहज हुनेहुँदा मुक्तक हालका दिनहरूमा प्रसस्तै लेखिने गरेका छन् ।

भन न भन लौन ए मेरी प्यारी प्यारी मैना
आफ्नै रूपमा मख्ख परी कति हेछ्र्यौ ऐना
पहिलो भेटमै कसरी जादु चलायौ मलाई
आऊ गरिहालौँ न त माया पिरतीको बैना ।

उहाँका मुक्तकमा मुक्तकीय विशेषताहरू छन् । संरचनात्मक र भावगत वा अर्थप्रधानताका दृष्टिले समेत उहाँका मुक्तक सफल छन् । मुक्तककार सुरेशराज वैद्यको यस पुस्तकमा रहेका मुक्तकहरूमा अधिक मात्रामा प्रेमकै प्रकटीकरण भएको छ । वैद्य विशेषत शृंगार रसमा मुक्तक लेख्नुहुन्छ । यसका साथै राजनीति, करुणा, मानवता, प्रकृति चित्रण, व्यंग्यलगायत विभिन्न कुरा उहाँका मुक्तकमा पाइन्छन् । मुक्तककार वैद्यलाई बधाई, उहाँको पुस्तकको सफलताको शुभकामना । उहाँबाट यस्ता प्रयास फेरि–फेरि पनि हुनु आवश्यक छ, हार्दिक शुभकामना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?