लम्पी महामारी र किसानको विचल्ली

हिमालय टाइम्स
Read Time = 6 mins

हाल देशभरि नै पशुचौपायामा एक प्रकारको रोग फैलिएको छ । लम्पी स्किन भनिने रोगको महामारी राष्ट्रव्यापी फैलावट बनेका कारण पशुपालक किसानहरूले क्षति व्यहोर्दै आइरहेका छन् । क्षतिलाई कसैको गल्ती वा कमजोरीबाट भएको हो भन्न मिल्दैन । सो महामारी नै हो भन्ने कुरा सबैलाई थाहा छ । बेलाबेलामा विभिन्न प्रकारका महामारी फैलिने गर्छन् । कहिले मानिसहरूमा त कहिले पशुप्राणीहरूमा महामारी सभ्यताको प्रारम्भिक चरणदेखि नै देखिँदै आएका छन् । गाउँघरमा पहिले पनि अनेक प्रकारका व्याधिका कारण गाईभैंसीहरू भकाभक मर्ने गर्थे । अहिलेभन्दा आधा शताब्दी पहिले त सरकारको पहुँच हालको जस्तो थिएन । यातायात र सञ्चारको विकास भइनसकेका कारण गाउँघरमा आइपर्ने महामारीको जानकारी सरकारको आधिकारिक निकायलाई ढिलो गरेरमात्र जानकारी हुने गथ्र्यो ।

गाउँलेहरूले यस्तो बेलामा देसान लागेको भनेर झारफुक, धुपधुवाँर गर्ने गर्थे । त्यस्तो अवस्थाभन्दा हाल निकै अगाडि हामी र हाम्रो समाज बढिसकेको छ । हाल यातायातको र सञ्चारको तीव्र विकास भइसकेको छ । क्षणभरमै एक ठाउँको घटना वा समाचार अर्को ठाउँमा पुग्नसक्छ । यो अवस्थामा पनि सरकार बेखबर भएर बस्नु किसानका लागि कदापि उचित मान्न सकिँदैन । हुन त कतिपय अवस्थामा नयाँ–नयाँ रोग आइदिन्छ । केही वर्ष पहिले कोभिड-१९ वा कोरोना नामबाट मानिसमा सर्ने रोग विश्वव्यापी रूपमा फैलिन पुग्यो । जसले गर्दा एक प्रकारले भन्ने हो भने संसार नै लकडाउन बन्यो । केही देशले मात्र विशेष सतर्कताका साथ लकडाउन नगरी आफ्ना दैनिकी चलाए ।

त्यसको कुनै प्रकारको औषधोपचार थिएन । औषधि आविष्कार गर्न र त्यसको पहुँचमा सबै मानिसलाई पुर्‍याउन निकै समय लाग्यो । पछि भने कोरोना निर्मूल भइनसकेको भए पनि नियन्त्रणमा आएको छ तर अझै कतिपयले पूर्णरूपमा खोप लाउन पाएकै छैनन् । जसरी मानिसमा बेला–बेलामा महामारी आउने गरेका छन् त्यसरी नै पाल्तु जनावरहरूमा पनि महामारी देखिने गरेका छन् । कहिले कुखुरामा बर्डफ्लु त कहिले सुँगुरमा स्वाइनफ्लु आउँदै र हराउँदै जाने क्रम यथावत नै छ । रोगमुक्त अवस्था कहिल्यै स्थापित बन्न सक्दैन तर रोग वा महामारीको सामना गर्दै र सतर्कता अपनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ ।

मानिसले परम्परागत रूपमा पशुपालन गर्दै आएको छ । किसानहरूले गाई, भैंसी, बाख्रा, भेडा आदि पाल्ने गरेका छन् र जीविकाको माध्यम बनाउँदै आएका छन् । वर्तमान समयमा त यसलाई व्यावसायिक बनाउँदै लाने गरिएको छ । यो क्रम बढ्दो छ । लम्पी स्किन वा अरू नै पनि कुनै रोगको महामारी फैलिनाले जीविकोपार्जन र व्यवसाय धराशायी बन्न जान्छ । हाल लम्पीका कारण त्यस्तै अवस्था सिर्जना भइसकेको छ । संसद्मा यो विषय जोडतोडका रूपमा उठिरहेको छ । पछिल्लो चरणमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारलाई यसबारे सदनमा जानकारी गराउनका लागि रूलिङसमेत गर्नु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा अन्य प्रतिपक्ष दलहरूबाट सरकारको ध्यानाकर्षण गराएर यसबारे जवाफ माग गरेपछि सभामुखले रुलिङ गर्नुभएको हो । वास्तवमा यो समस्या देशव्यापी बनेको छ, यो कुनै पार्टीगत समस्या होइन, सबैको साझा समस्या हो । कसैले जानकारी गराउने र जवाफ माग्ने गरे/नगरे पनि सरकारले यसतर्फ तत्कालै ध्यान पुर्‍याउनै पर्ने विषय हो । हालसम्म हजारौं पशु मरिसकेका छन्, लाखौं प्रभावित बनिसकेका छन् । अर्बौंको क्षति भइसकेको छ । व्यावसायिक पशुपालन गर्नेहरूले त करोडौंको ऋण लिएर आ–आफ्ना व्यावसायिक फर्म सञ्चालन गर्दै आएका छन् ।

आपूmले पालेका पशु मरेर नोक्सान भएका कारण तिनले व्यावसायिक लाभ लिन त परैको कुरा आफ्नो लगानीसमेत डुबेर बिलखबन्दमा पर्नुपरेको छ । सरकारले लम्पीको रोकथाम, नियन्त्रण वा सकिन्छ भने निराकरणकै लागि विशेष प्रयास गर्नुपर्छ । संसद्मा जानकारी वा जुहारीको विषयभन्दा पनि यो स्थलगत रूपमा विज्ञ टोली, औषधि पठाएर सकेसम्म छिटो समाधान खोज्ने विषय हो । यसले गाउँघरमा बस्ने किसानको जीवनमात्र होइन शहरी क्षेत्रमा बस्नेहरूको जीवनसमेत प्रभावित बन्न गएको छ । ती प्राणीहरूबाट प्राप्त हुने दूध, मासुलगायत शहरी क्षेत्रमा उपलब्ध नहुन सक्ने सम्भावना बढ्दै गएको छ । सरकारले यस विषयमा गम्भीरतापूर्वक सोच्नु र छिटोभन्दा छिटो समाधानतर्फ लाग्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?