भद्राको भद्रतामाथि अभद्र व्यवहार

हिमालय टाइम्स
Read Time = 9 mins

कामनपा वडा नं १० धोवीखोला किनारमा करिब तीन दशकअघिदेखि भद्रकुमारी घलेद्वारा स्थापित तथा सञ्चालित सामाजिक संस्थामा प्रयुक्त डोजर कारबाहीले विवेक र कानुनका बीचमा द्वन्द्व सिर्जना भएको छ भने यसबाट कुन सही हो भन्ने गम्भीर प्रश्न खडा भएको छ । पूर्णरूपमा अविवाहित, निर्दलीय पञ्चायतकालमा पाँच पटक राष्ट्रिय पञ्चायत सदस्य र एकपटक मन्त्री भए पनि आफ्नो सामाजिक तथा राजनीतिक छविमा कुनै खाले दाग भद्रकुमारी घलेमा देखिएको थिएन । नौ दशक पार गर्नुभएकी घलेको सामाजिक काम सबैका लागि स्तुत्य थियो । उहाँको सेवासदनमा २५ भन्दा बढी आश्रयहीन परिवारलाई आश्रय मिलेको, डेढ सयभन्दा बढी विपन्न परिवारका विद्यार्थीहरूले पढ्न पाएको, पुस्तकालयको व्यवस्थापन, संग्रहालय आर्टग्यालरी जस्ता ऐतिहासिक स्थलमाथि यसरी कानुनका नाममा अविवेकपूर्ण आक्रमण निन्दनीय र अमानवीय छ । त्यसमा पनि स्वयं घलेले सबै त्यहाँ भएको भौतिक संरचना र संस्थाहरू महानगरपालिकालाई नै हस्तान्तरण गर्ने निरन्तर अभिव्यक्ति दिइरहनुभएको थियो । घलेको जीवनभरको आर्जन त्यही सेवासदनमा खर्च गर्नुभएको छ । उहाँ स्थापित साहित्यकारसमेत हुनुहुन्छ । आफ्नो सम्पूर्ण सृष्टि त्यसरी धूलोमा मिल्दा ९३ वर्षीय वृद्धाका आँखामा बहेका आँसुको कुनै मूल्य हुँदैन र ? त्यो आँसुको मोल नेपालको कुनै पनि कानुनले, विधान र विधिले तिर्नसक्दैनन् । यति निष्पृह मानिस कसरी हुन्छ होला ?

काठमाडौं महानगरपालिकाका अति उत्साही मेयरका कामहरूको सर्वत्र प्रशंसा र आलोचना दुवै भइरहेको छ । उहाँले आश्चर्यजनक विजय हासिल गरेको विषयलाई राजनीतिक दलप्रतिको नागरिकले लिएको प्रतिशोधका रूपमा न हेरिएको होइन । तर उत्साही, समर्थवान्, प्रभावकारी र कलाकारका रूपमा नयाँ पुस्तामा पारेको प्रभावसहित सामाजिक सञ्जालको खँदिलो उपयोगले समेत वालेन विजयलाई सहज तुल्याएको अनुभव छ । वालेन विजयले ठूला राजनीतिक दललाई सुध्रन अनिवार्य र सामयिक सन्देशसमेत दिएको थियो । ठूला राजनीतिक दल सुध्रिन सके–सकेनन् समयले स्पष्ट गर्नेछ । अव्यवस्थाले आक्रान्त राजधानी शहरलाई व्यवस्थित गराउन वालेन प्रयासको सम्मान भइरहेको देखिन्छ । तर समस्याका कारण पीडित नागरिकहरूका लागि कुनै न कुनै रूपमा वैकल्पिक व्यवस्था अपरिहार्य हुन्छ । एउटा कुनै नगरपालिकाले मात्रै त्यस्तो व्यवस्था गर्न सक्दैन । वालेनको प्रयासमात्र पर्याप्त हुँदैन ।

अहिले राजधानीका कतिपय सडक हिँड्न सहज भएका छन् । कतिपय स्थानमा पार्क निर्माण भएको देखिन्छ । कतिपय स्थानमा पोखरी र ऐतिहासिक हिटी र धाराहरूको संरक्षण भएको छ । अस्तव्यस्त बजार सभ्यता नियमित हुँदैछ । अनेक नाममा विकास भएको सुकुम्बासी अतिक्रमण रोक्ने काम भएको छ । सम्पदा संरक्षण गरी शहरी सभ्यता निर्माणमा वालेन र उहाँका सहयोगीहरूको अभियान अनुचित छैन । गैरकानुनी रूपमा बनाइएका संरचनालाई स्थापित, राजनीतिक प्रभाव र स्वार्थयुक्त संरक्षणको जालोबाट मुक्त गर्ने प्रयास स्वाभाविक भए पनि कठिन थिए । तर वसन्तपुर र अहिले भद्रा घलेको भद्र कामलाई अभद्र तरिकाले भत्काउने कामको प्रशंसा हुनसक्दैन । जयनेपाल सिनेमा हल क्षेत्रमा टुकुचा खोल्ने समयमा पनि विवाद भएको थियो । केही यस्ता अपवादहरूलाई छाडेर वालेनको राजनीतिक उदयप्रति राजधानीवासी प्रसन्न नभएका होइनन् ।

वालेन कतिपय बालहठ र बालविचारको विवादमा पनि परेको सुनिन्छ । राष्ट्रियताका विषयमा नेताहरूमाथि सामाजिक सञ्जालमा नै वालेनको टिप्पणी त्यति स्वाभाविक थिएन । वालेन तराईमधेस पुख्र्यौली भएका साह हुनुहुन्छ । उहाँले कहिल्यै पनि यस्तो दाबी गर्नुभएन । आम वर्ग र समुदायको स्नेह पाउनुभएका वालेनले त्यस्तो स्नेहलाई कानुनको डण्डाले मात्रै सुरक्षित गराउँनसक्दैनन् । विवेक र कानुनको फरक सम्बन्ध हुन्छ । तैपनि विवेकविहीन कानुन हुनसक्दैन । काठमाडौं नगरको विकास राजधानी शहरका रूपमा निकै पहिलेदेखि नै भएको मानिए पनि आधुनिक शहर बन्न सकेको छैन ।

०४६ को परिवर्तन पश्चात् तत्कालिन मेयर पीएल सिंहले यो शहरको अन्तर्राष्ट्रिय परिचय दिने प्रयास गर्नुभयो । उहाँले अनेक अन्तर्राष्ट्रिय शहरहरूसँग भगिनी सम्बन्ध कायम गर्नुभयो र अन्तर्राष्ट्रिय फोरमहरूमा काठमाडौंको विकासलाई महत्वकासाथ उठाउनुभयो । त्यही समयमा उपमेयर नवीन्द्रराज जोशीले राजधानीलाई स्वच्छ र सफा राख्ने ध्येयले सफा टेम्पोलाई प्रोत्साहित गर्नुभयो । ०५४ सालपछि मेयर हुनुभएका केशव स्थापितको शहर सपना त चर्चामा नै छ । उहाँले तत्कालीन विभागीय मन्त्री चिरञ्जीवी वाग्ले समेतको सहयोगमा नगरलाई व्यवस्थित गराउन निकै प्रयास गर्नुभयो । ०७४ पछि निर्वाचित विद्यासुन्दर शाक्य भने सफल देखिनु भएन । अहिले वालेनमा पीएल् सिंह, नवीन्द्रराज र केशव स्थापित सबैको समवेत सपना र योग्यता देखिन्छ । तर उहाँले अनावश्यक आवेशमा आउने र कानुनको मात्रै हठ राख्ने हो भने ऐतिहासिक स्थल र सभ्यता असुरक्षित हुने सम्भावना रहन्छ । कामको हिसाबले त धरानका मेयर हर्क साम्पाङ उदाहरणीय हुनुभएको छ । वर्षौंदेखिको धरानवासीको पानी पीडा समाप्त पार्न उहाँको प्रयास र स्वयंसेवी श्रमदान अभियान निकै प्रशंसनीय छ । अरू धेरै नगरपालिकाका मेयर उपमयरहरूले पारदर्शी, व्यवस्थित र रचनात्मक काम गरिरहनुभएको छ । वालेनका प्रयासहरू पनि यिनैमा पर्दछन् । तर ९३ वर्षकी वृद्धा भद्रा घलेको आँखाबाट बहेका आँसुको मूल्य कुनै पनि अन्य मूल्यले चुक्ता गर्न सक्दैन । यस सत्यलाई अनुभूत गर्नु उचित हुनेछ । यदि उहाँको आँखाबाट आँसु पुछ्ने हो भने र कानुनको समेत पालना गर्ने हो भने घले सेवा सदनको वैकल्पिक व्यवस्था हुनु आवश्यक छ । त्यस संस्थाबाट जेजस्ता समाजसेवामुखी कामहरू भएका छन् तिनलाई निरन्तरता दिनु वालेनको कत्र्तव्य हो भन्ने हाम्रो मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?