बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई आज सम्झँदा र बुझ्दा

Read Time = 19 mins

नेपालको आधुनिक राजनीतिक इतिहासका एक पुरोधा एवं अग्रज व्यक्तित्व हुन् बिपी कोइराला । उनले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताका निमित्त समर्पण गरे । आफूले अवलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अविचलित निष्ठा, त्यसप्रतिको इमानदार नैतिकता र आदर्शप्रतिको उत्सर्ग नै बिपी चिन्तन र प्रयोगका मूल आधारहरू हुन् भन्ने कुरा उनको राजनीतिक जीवन यात्राले खुलस्त पारेको छ । यद्यपि देशको अग्रगामी राजनीतिका निमित्त उनको लडाइँका बेला अनेक घुम्ती र मोडहरू अवश्य आएका थिए ।
विभिन्न उतारचढावहरू पनि आएका थिए तर बिपीले आफैंद्वारा आर्जित र कतिपय प्रत्युत्पन्न त्यस्ता कुनै पनि मोडमा आफ्नो गन्तव्यप्रति कदापि कसैसँग लत्रने काम गरेनन् । बरु आदर्श र अडानका खातिर जस्तोसुकै पीडा सहन र जीवन अर्पण गर्न पनि तयार भए । बिपीलाई मनन गर्न चाहनेहरूले उनका यी जीवनभरिका संघर्षले कमाएका मूलतत्वलाई कदापि बिर्सनुहुँदैन ।

युवा बिपी आफ्नो युवा वयदेखि नै लोकतन्त्रका निमित्त लड्न तयार हँुदै थिए । किनभने उनका पिता कृष्णप्रसाद कोइराला नै राणा शासकहरूको कोपभाजन हुने गरेकाले बिपीले सानैदेखि राजनीतिमा लाग्ने वातावरण पाए । हुन त कतिपय मानिसहरू त्यस्तो वातावरण पाएर पनि त्यसबाट विमुख हुने गर्दछन् र तिनले कुनै इतिहास निर्माण गर्दा पनि गर्दैनन् । तर, बिपी सुरुदेखि नै एउटा संघर्षको भावनाले ओतप्रोत भएको नेपाली समाजको अवस्थालाई फेर्न तत्पर रहेका देखिन्छन् । त्यसैले उनले वातावरण पाउनासाथ त्यो दिशामा आफ्नो अग्रसरता लिइहाले । फलतः उनी राणा शासकहरूका विरुद्ध उत्रिँदै जान थाले । यसरी सुरुदेखि नै उनले कठोर यातना र काराबासको संघर्षमय जीवनको बाटो पक्रे र निरन्तर त्यसमा लागिरहे । यसरी हेर्दा बिपीलाई नेपाली युवा समुदायको एउटा अजश्र प्रेरणाको स्रोतका रूपमा देखिन्छ ।

बिपीले आफ्नै नेतृत्वमा चलाएको र लडेको २००७ सालको जनक्रान्ति, त्यसै क्रममा भएको ‘दिल्ली सम्झौता’, भूमिसुधार, सेनाको लोकतान्त्रीकरण, २०१७ सालको प्रतिगामी शाहीकदम र त्यसका विरुद्धको संघर्षको जस्तो किसिमले व्याख्या विश्लेषण गरेका छन्, त्यसको गहिराइमा पुगेर आज समीक्षा र आत्मसात गरिनु अत्यावश्यक छ ।

बिपीलाई मनन गर्न चाहनेहरूले उनका यी जीवनभरिका संघर्षले कमाएका मूलतत्वलाई कदापि बिर्सनुहुँदैन । बिपी कोइरालाको राजनीतिक जीवनयात्राका अन्तिमतिरका सारगर्भित कृतिहरू ‘जेल जर्नल’ र ‘आत्म-वृत्तान्त’ पढ्दा र केलाउँदा त्यहाँ नेपाली राजनीतिक आन्दोलनको इतिहासका निकै महत्वपूर्ण र गम्भीर पक्षहरू भेटिन्छन् । जसमा आत्मसात गर्नुपर्ने अत्यन्तै मननीय कुराहरू पनि छन् ।

ती संघर्षका गाथाका रूपमा आएका बिपी-कृतिहरूमा अन्य महत्वपूर्ण कुराका अतिरिक्त आफ्ना राजीतिक त्रुटि कमजोरीहरू केलाउने जुन अत्यन्तै महत्वपूर्ण आत्मसमीक्षात्मक टिप्पणीहरू बिपीले गरेका छन् तिनले नेपाली जनआन्दोलनको दिशानिर्देश गर्न वस्तुवादी आधार प्रदान गर्दछन् र इतिहासलाई कहाँ-कहाँ सच्याउनुपर्ने रहेछ भन्ने दिशाबोध पनि गराउँदछन् । बिपीजस्ता नेपालको राजनीतिक आकाशका एक उच्चतम् व्यक्तित्वले महसुस गरेका र मनन गरेका ती कुराहरूले आज पनि हामीलाई देश र जनताप्रति उत्तरदायी हुने राजनीतिक संस्कार र संस्कृतिको शिक्षा दिन्छन् । अग्रगामी परिवर्तनको पक्षपोषण गर्ने र त्यस्तो परिवर्तनका लागि समर्पित हुन चाहनेहरूका लागि बिपीका संघर्षशील जीवनका यी कदम दूरगामी महत्वका कुरा हुन् ।

बिपीले आफ्नै नेतृत्वमा चलाएको र लडेको २००७ सालको जनक्रान्ति, त्यसै क्रममा भएको ‘दिल्ली सम्झौता’, भूमिसुधार, सेनाको लोकतान्त्रीकरण, २०१७ सालको प्रतिगामी शाहीकदम र त्यसका विरुद्धको संघर्षको जस्तो किसिमले व्याख्या विश्लेषण गरेका छन् त्यसको पनि गहिराइमा पुगेर आज समीक्षा र आत्मसात गरिनु अत्यावश्यक छ । किनभने नेपाली जनआन्दोलनको इतिहासमा कहाँ–कहाँ गल्ती कमजोरी भएका छन् र प्रतिगामी आन्तरिक र बाहृय शक्तिले क्षणिक र अस्थायी रूपमै भए पनि तिनबाट फाइदा उठाएका र जनतालाई लोकतान्त्रिक आन्दोलनबाट गुमराह गर्न सफल भएका छन् भन्ने चेत बिपीमा भरपूर रहेको देखिन्छ ।

२०१७ सालको प्रतिगामी शाहीकाण्ड घटाएर जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालासमेत सम्पूर्ण प्रतिपक्ष अर्थात् कांग्रेस र कम्युनिष्टका नेता कार्यकर्ताहरूलाई जेलनेल हाल्ने, दमन गर्ने र राणाशाहीको विकल्पमा लोकशाही होइन, शाहशाही चलाउने गलत बाटो राजा महेन्द्रले लिए त्यो उनको वर्गीय राजसी हितअनुकूल भए पनि नेपाल र नेपाली जनताको हितमा थिएन । त्यसैले राजाको नेतृत्वमा रहेको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाका विरुद्ध आरम्भदेखि नै जनता रुष्ट, असन्तुष्ट र संघर्षशील रहेका हुन् । त्यो वास्तवमा २००७ सालको अधुरो नै जनक्रान्ति भए पनि त्यसपछि विश्वसमक्ष खुल्ला भएको नेपाली समाज र विकसित हँुदै गएको नेपाली जनताको चेतनाकै प्रतिबिम्ब पनि त्यो थियो र हो ।

तर, पञ्चायती कठोर काराबासमा परेका नेपाली कांग्रेस र कम्युनिष्ट नेताहरूले आपसमा मिल्नुको साटो जेलभित्रैबाट परस्पर विरोधको राजनीतिक खेल्न सुरु गरे । राजाले कम्युनिष्टहरूलाई लगाउने गरेको ‘ध्वंसात्मक तत्व’ र कांग्रेसलाई लगाउने गरेको ‘अराष्ट्रिय तत्व’ को लाञ्छनाको बहकाउमा लागेर कांग्रेस र कम्युनिष्ट नेताहरू नै एकअर्काका विरुद्ध खडा हुनु नेपाली जनआन्दोलनको त्यो पञ्चायतीकालमा एउटा विडम्बनापूर्ण र हास्यास्पद कुरा थियो । काराबासमा बसेका नेतृत्वको कांग्रेस र कम्युनिष्टविरोधी वक्तव्यवाजीपछि जेलबाहिरका कार्यकर्ताहरूका बीच पनि नकारात्मक प्रभाव पर्न गई त्यो ‘गोबर’ र ‘खरानी’ को (त्यो बेला कांग्रेसलाई गोबर र कम्युनिष्टलाई खरानी भन्ने संज्ञा पञ्चायती राजावादीहरूले दिएका थिए) झडपमा परिणत हुन थालेपछि जेलबाट ८ वर्षपछि छुटेका कांग्रेस नेता बिपी र निर्वासनमा रहेका कम्युनिष्ट नेता पुष्पलालले वक्तव्य दिएर त्यो ‘गोबर’ र ‘खरानी’ को झडपलाई साम्य पार्नुपरेको थियो ।

बिपी झण्डै दुई दशक प्रतिपक्षमा रहँदा पनि नेपाली राजनीतिको धुरी नै भएर रहे । राजनीति उनकै वरिपरि केन्द्रित भएर रहृयो । उनलाई हिजो गलत ढंगले नकार्नेहरूले पनि आज उनको राजनीतिक जीवन र संघर्षबाट सिक्ने धेरै कुराहरू गर्न थालेका छन् । यो बिपीको सत्य निष्ठाप्रतिको अटुट आस्थाबाट निःसृत भएको शिक्षा हो ।

त्यसै पृष्ठभूमिको प्रभावले गर्दा झण्डै एक दशकपछि गएर २०३५/०३६ सालमा पञ्चायती व्यवस्थाविरोधी संयुक्त विद्यार्थी आन्दोलन राष्ट्रव्यापी रूपमा विकसित भएको र निर्विकल्प दाबी गरिएको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा खडा हुन पुगेको हाम्रो अखण्डनीय इतिहास रहेको छ । जुन जनमत संग्रहमा शाही पञ्चायतले ठूलो धाँधली गर्दा पनि बहुदलको पक्षमा ४४ लाख चानचुन मत आएको थियो र त्यसले नेपाली राजनीतिको भविष्यको संकेत गरेको थियो । त्यसपछि नै २०४२ सालको आन्दोलन २०४६ को व्यापक संयुक्त जनआन्दोलनको गृहकार्यका रूपमा चलेको थियो र सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरुद्ध बृहत् संघर्षको उठान २०४६ साल फागुन ७ गतेबाट सुरु भएको थियो र ४९ दिनपछि राजाको सक्रिय नेतृत्वको पञ्चायती व्यवस्था ढलेर देशमा पुनः बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएको थियो । जुन गन्तव्य वस्तुतः बिपीकै उद्देश्य अनुरूप थियो ।

यहाँ स्मरणीय एउटा कुरा के छ भने बिपी आठ वर्षको कठोर काराबासपछि २०२५ सालमा पञ्चायती जेलबाट छुटेपछि पुनः ८ वर्ष स्वनिर्वासनमा भारतको वनारसमा रहेका थिए । सारनाथ नेपाली कांग्रेसको हेडक्वाटरजस्तै थियो । अहिलेको पहिलो पुस्ताका धेरैजसो कांग्रेसी नेताहरू त्यही सारनाथको बिपी हेडक्वाटरकै उपज हुन् भन्दा फरक पर्दैन । तर, बिपीको दूरगामी चिन्तन, चरित्र र व्यवहार अहिलेका कांग्रेसमा दिउँसै बत्ती बालेर खोज्नुपर्ने अत्यन्तै दुःखद र दारुण स्थिति छ ।

यहाँ अर्को एउटा निकै महत्वपूर्ण कुरा पनि नगर्ने हो भने बिपी व्यक्तित्वको समग्रता उजागर हुन पाउँदैन । आठ वर्ष प्रवासमा रहेका बिपी भारतबाट २०३३ साल पुस १६ गतेका दिन राष्ट्रिय मेलमिलापको नीति लिएर आफूमाथिका आठवटा फासीका मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका थिए । पञ्चायती व्यवस्थाले ‘पनिजाबुस र गाउँफर्के’ फासिस्ट रूप लिएर चर्को दबदबा चलिरहेको त्यो असहज बेलामा बिपीले जानीबुझीकनै कार्यनीतिक रूपमा राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए र त्यसरी आफू स्वदेश फर्किने कुरा भारतको वनारसमै निर्वासित जीवन बिताइरहेका नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता कमरेड पुष्पलालसँग पनि गरेरै फर्केका थिए । पुष्पलालजीले राजासँगको मेलमिलाप तपाईंको कार्यनीतिक बाध्यता भए पनि आफूले त्यसको विरोध गर्ने वस्तुगत तर्क दिएपछि बिपीले त्यस कुरालाई पनि सहर्ष स्वीकारेका थिए ।

बिपीलाई राम्ररी थाहा थियो कि पञ्चायती व्यवस्थालाई फासिष्ट शैलीमा चलाइरहेका राजाले मेलमिलापको नीतिलाई बेवास्ता गर्नेछन् र यसरी राजा मेलमिलाप होइन द्वन्द्व चाहन्छन् भन्ने कुराकै पुष्टि हुन्थ्यो । बिपीले यी सबै कुराको हिसाबकिताब र पूर्वानुमान गरेर नै स्वदेश फर्केका थिए र पुष्पलालले त्यो मेलमिलाप नेपाली जनआन्दोलनलाई कमजोर तुल्याउने ‘मन्द बिष हो’ भनेर वक्तव्य दिँदा पनि बिपीले त्यसको प्रतिवाद गरेका थिएनन् । हुन पनि बिपीको राष्ट्रिय मेलमिलापको नीतिले राजा र पञ्चायती व्यवस्थाको मन पग्लिएन बरु अझ कठोर बन्यो । बिपी थुनामा परे ।

तर, देशमा संयुक्त विद्यार्थी आन्दोलन (जुन कांग्रेस र कम्युनिष्ट सम्बद्ध पञ्चायती व्यवस्थाविरोधी विद्यार्थी आन्दोलन नै थियो) उठ्यो र राजाले २०३६ साल जेठ १० गते एकाबिहानै ६ बज्दा नबज्दै (यो लेखक पञ्चायती जेलमा काराबास जीवन बिताइरहेका बेला) पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा परेको घोषणा गर्नुपर्‍यो भन्ने कुरा माथि नै उल्लेख गरिसकिएको छ ।

यसप्रकार बिपीले आजीवन संघर्षमा बिताउनुप¥यो तर त्यो चानेचुने संघर्ष थिएन । विचार, नैतिकता, इमानदारिता र आदर्शसहितको एउटा जीवन्त संघर्ष थियो । त्यसैले बिपी झण्डै दुई दशक प्रतिपक्षमा रहँदा पनि नेपाली राजनीतिको धुरी नै भएर रहे । राजनीति उनकै वरिपरि केन्द्रित भएर रहृयो । उनलाई हिजो गलत ढंगले नकार्नेहरूले पनि आज उनको राजनीतिक जीवन र संघर्षबाट सिक्ने धेरै कुराहरू गर्न थालेका छन् । यो बिपीको सत्य निष्ठाप्रतिको अटुट आस्थाबाट निःसृत भएको शिक्षा हो ।

हुन पनि देशमा पहिलोपटक भएको संसदीय निर्वाचनमा अत्यधिक मतले विजय प्राप्त गरेर प्रधानमन्त्री बनेको व्यक्ति लोकतान्त्रिक मूल्य मान्यता र मूल्य पद्धतिका निमित्त ८ वर्ष निरन्तर कठोर जेलजीवन बहन गर्दछ, आठ वर्ष पुनः प्रवासमा निर्वासित हुन्छ र जीवनकै जोखिम मोलेर स्वदेश फर्केपछि पनि बाँचुञ्जेल आफ्नो आस्थामा आँच आउन नदिई संघर्ष गरिरहन्छ भने त्यो एउटा सफल र सबल संघर्षको द्योतकसिवाय अरू केही हुन सक्तैन । यस्तै व्यक्तित्व थिए नेपाली लोकतन्त्रका अग्रतम् धरोहर बिपी कोइराला ! जसले आफ्ना कमजोरीहरू राम्ररी बुझेको थियो अनि तिनलाई सच्याउने र सकेसम्म आफूलाई आफ्नो मान्यता अनुरूपको सही बाटो हिँडाउने निरन्तर अथक प्रयत्न गरिरहेको थियो ।

सत्तामा पुगेपछि कसरी सुकिला-मुकिलाहरूले त्यसलाई आफ्नो कब्जामा लिन्छन्, नेतृत्व र जनताका बीचमा अविश्वासको ठूलो खाडल पैदा गर्दछन् भन्ने कुरा पनि बिपीले सात सालपछिदेखिकै अनुभवका आधारमा राम्रोसँग बुझेका थिए । ती अमूल्य अनुभवको भण्डार रहेका बिपीको आज भने कसैले अनुशरण गर्न सकेको छैन । केवल आफ्नो स्वार्थका लागि बिपीलाई भजाउने काममात्र भइरहेको छ ।

आज बिपीको राष्ट्रिय मेलमिलापको कुरा गरिरहँदा जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा बिपीले त्यो नीति लिएका थिए त्यसको गम्भीर मनन गर्दै बढ्दो बाहृय हस्तक्षेप र लम्पसारवादी प्रवृत्तिका विरुद्ध सम्पूर्ण बाहृय हस्तक्षेका विरोधी रहेका देशभक्त शोषित पीडित नेपाली जनता र क्रान्तिकारी शक्तिहरूको राष्ट्रिय एकता वर्तमानको सर्वाेपरी र अपरिहार्य आवश्यकता बन्न गएको यथार्थ लोकतन्त्रका हिमायती युवा पिँढीले बुझ्नु अत्यावश्यक छ । अनिमात्र बिपीको मेलमिलापको नीति सम्झेको सार्थक ठहरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?