डा. आरजु राणाको गुनासो: ममाथि मिडिया ट्रायल गरियो, पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी छ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले आफूमाथि मिडिया ट्रायल गरिएको गुनासो गर्नुभएको छ ।

जनकपुरधाममा मंगलबार कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताउनु भएको हो । उहाँले मिडियाबाट आफूमाथि आक्रमण भएको बताउनु भयो ।

“कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उहाँले भन्नुभयो, “यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो” उहाँले भन्नुभयो । उहाँले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राख्नुभयो ।

नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुबै गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, मधेस प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहका साथै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?