कुवेतमा ८३ नेपाली कामदार अलपत्र

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । काठमाडौं बसुन्धारास्थित टिजिएल नेपाल म्यानपावर प्रालिले वैदेशिक रोजगारीमा कुवेत पठाएका ८३ जना नेपाली कामदार अलपत्र परेर बसेका छन् । वैदेशिक रोजगारीमा गत नोभेम्बरमा कुवेत पुगेका नेपाली कामदार लामो समयदेखि अलपत्र परेर बसेको पाइएको छ । हाल तीनदेखि ६ महिनासम्मको तलबसमेत नदिई सप्लाई कम्पनी भागेपछि उक्त कम्पनीमा कार्यरत कामदार अलपत्र परेको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनीमा तीन सय विदेशी कामदार कार्यरत रहेकामध्ये ८३ जना नेपाली थिए । अहिले नेपाली कामदार पनि अलपत्र अवस्थामा कम्पनीमै बसेका छन् ।

जेनेरत ट्रेडिङ कम्पनीले ६ महिनादेखि तलब नदिएपछि कामदारहरू हडतालमा उत्रिएका थिए । तलब नदिएपछि नेपाली श्रमिकहरूले विरोध गरे । तर, समस्या समाधानको सट्टा काठमाडौंस्थित म्यानपावर कम्पनीले उक्त विरोध गर्नेहरूको नाइके भन्दै झापाका निशान विष्टलाई कम्पनीमार्फत टर्मिनेट गरेर नेपाल फिर्ता ल्यायो । टर्मिनेटमा पर्ने डरले ८३ जना कामदार विरोधमा उत्रिन नसकेको पीडितहरूले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

म्यानपावरले सप्लाई कम्पनीको रोजगारीमा पठाएपछि रोजगारदाताले सुरुवातदेखि नै तलब नदिएको पीडितको गुनासो छ । जेनेरत ट्रेडिङ रोजगारदाता कम्पनीले तीन महिनाको तलब नदिई सम्पर्कविहीन भएको र म्यानपावरसँग सम्र्पक गर्दा बेवास्ता गर्दै आएको पीडितले बताएका छन् । सम्बन्धित म्यानपावरलाई समस्या समाधानको लागि ध्यानाकर्षण गराएपछि सम्बन्धित म्यानपावरले फिर्ता आउन चाहेका केही कामदारलाई कुवेतबाट नेपाल फिर्ता गरेको थियो । तर, बाँकी युवाहरू भने त्यही अलपत्र अवस्थामा बसिरहेका छन् ।

नेपालीहरू पीडित बनेको विषयमा पटक-पटक ध्यानाकर्षण गराइएको टिजिएल नेपाल प्रालिका सञ्चालक अमृत रिजालले बताउनुभयो । आफूले पीडित युवाहरूलाई फिर्ता ल्याउने कोसिस गरिरहेको उहाँले बताउनुभयो । म्यानपावरका सञ्चालक रिजालले रोजगारदाता कम्पनीले जालझेल गरेर नेपाली कामदारलाई पीडित बनाएको स्वीकार्नुभयो । उहाँका अनुसार रोजगारदाताको डिमाण्ड इण्डियन एजेन्सीमार्फत लिएका कारण समस्या सिर्जना भएको हो । अलपत्र र समस्यामा परेका कामदारका विषयमा आफू गम्भीर भएको र चाँडै समस्या समाधान गर्ने उहाँको भनाइ छ ।

पीडितहरूमध्ये केही पोखराको राज ओभरसिर्जको शाखा कार्यालयबाट, केही बिर्तामोडका म्यानपावर शाखा कार्यालय र केही बसुन्धारास्थित टिजिएलबाटै वैदेशिक रोजगारमा गएको पाइएको छ । जाने क्रममा युवाहरूसँग एजेन्ट र म्यानपापारले डेढदेखि दुई लाख ५० हजारसम्म लागत खर्च लिएको पाइएको छ । तर, म्यानपावरले भने यो विषयका केही बोल्न चाहेन । दुई सातादेखि कम्पनी बन्द भएपछि नेपाली कामदार कोठामै सुत्न बाध्य छन् । पीडितहरूलाई कम्पनीले अकामा नदिएकाहरूले नेपाल फर्किन जरिवाना तिर्नुपर्ने अवस्था छ । अकामाको २५० देखि ३५० कुवेती दिनर तिर्नुपर्ने कानुनी व्यवस्था छ । कतिपय नेपाली जरिवाना तिरेर जानपर्ने अवस्था रहेको बताउँछन् । आफ्नो समस्यामा सम्बन्धित पक्षले खासै ध्यान नदिएपछि पीडितहरूले कुवेतमा कार्यरत रहेका नेपालीसँग उद्धारका लागि आग्रह गरेका छन् ।

यस्तै, पीडितहरूका अनुसार रोजगारदाताले पासपोर्टसमेत लिएर भागेको छ । कम्पनी नै भागेपछि खानासमेत राम्ररी नपाएको पीडितहरूको गुनासो छ । उनीहरूका अनुसार बस्न सकिन्छ तर पानी, बत्ती र एसी केही नभएका कारण कोठामा सुत्न सक्ने अवस्था छैन ।

अधिकांश कामदारको राहदानी नै लिएर कम्पनी भागेपछि ट्राभल डकुमेन्ट बनाई नेपाल आउनुपर्ने बाध्यता भएको पीडितहरूले जानकारी दिए । यो विषयमा कुवेतस्थित नेपाली दूतावासलाई खबर गरे पनि दूतावासले चासो नदेखाएको उनीहरूको आरोप छ । हिमालय टाइम्सले अलपत्र कामदारको बारेमा जानकारी लिन खोज्दा दूतावासका कर्मचारी सम्पर्कमा आएनन् । पछिल्लो सप्लाई कम्पनीको रोजगारीमा पुगेका नेपाली कामदार कुवेतमा अलपत्र पर्ने क्रम बढेको छ । यसरी अलपत्र परेका कामदारको जिम्मेवारी रोजगारदाता कम्पनी, दूतावास र म्यानपावरले नलिँदा समस्या झन् जटिल बन्दै गएको स्वयं कामदारले नै आरोप लगाउँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?