कांग्रेसको बैठक : केही अपेक्षित केही अनपेक्षित

हिमालय टाइम्स
Read Time = 9 mins

केन्द्रीय समितिको बैठक विधानतः दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षसम्मको रडाको पछि नेपाली कांग्रेसले-२ साउनमा बोलायो र ११ साउनमा सम्पन्न गर्‍यो । बैठकलाई अनपेक्षित र पूर्वानुमानविपरीत प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरेपछि नेपाली कांग्रेसको छविलाई केहीहदसम्म उज्यालियाउन सजिलो भएको अनुभव धेरैको छ । बैठकमा महामन्त्रीहरूले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि विचारविमर्श जति भयो त्यो भन्दा बढी पक्षविपक्षको विचार र भ्रष्टाचार प्रकरण आदिले लिएको देखियो । कुनै ठोस निर्णयहरू हुने अपेक्षा थिएन । विधानको पालना गर्ने कर्मकाण्डी सोचभन्दा माथि बैठक पुग्न सकेन । तर आगामी दुई महिनामा केन्द्रीय समितिको बैठक पुनः बस्ने र महासमिति बैठक गर्ने निर्णयले विधान अनुसार हिँड्न कांग्रेस नेतृत्वलाई केही दबाब सिर्जना गरेको देखिन्छ ।

कांग्रेसका सामु असरल्ल समस्या छन् । कांग्रेसका सामु मात्रै होइन वर्तमान संघीय लोकतान्त्रिक प्रणालीले नै अनेक समस्याहरूको सामना गरिरहेको छ । संघीय लोकतान्त्रिक प्रणालीलाई विशद् रूपले समस्याग्रस्त बनाउन वर्तमान संविधाननै मुख्य देखिन्छ । संविधानले तय गरेको समानुपातिक प्रतिनिधित्वको व्यवस्था, आर्थिक सामथ्र्यले धान्नै नसक्ने गरी भएको तीन पांग्रे शासकीय स्वरूप, जनप्रतिनिधिका लागि प्रदान गरिने सुविधा र सहुलियतले ढाड सेकिएका जनताको रोदनप्रति पूर्ण वेवास्ता, व्याप्त भ्रष्टाचार र सबैभन्दा महत्वपूर्ण विषय हो सदा अस्थिर सरकारका कारण संविधान आफैं समस्यामा परेको छ । यतिखेर विगत ८० वर्षयता हरेक लोकतान्त्रिक परिवर्तनको प्रमुख शक्ति र मियो मानिएको नेपाली कांग्रेसले यो गम्भीर समस्याबाट संविधानलाई कसरी मुक्त गरी सही दिशातर्फ उन्मुख गराउन सकिन्छ भनेर विकल्प दिन सक्नुपर्ने थियो । आर्थिक अपारदर्शिता र व्याप्त भ्रष्टाचारलाई कसरी निर्मूल गर्न सकिन्छ त्यतातर्फ ठोस योजना, प्रस्ताव तथा रणनीति तय गर्नुपर्ने थियो । अहिले सर्वाधिक अहं समस्या भनेको अध्ययन, रोजगारी दुवैका लागि शिक्षितहरूको विदेश पलायन र अन्य युवाहरूको श्रम बजारमा लस्करबाट उत्पन्न राष्ट्रिय समस्या । यसले देशको उत्पादन क्षेत्र मरुभूमिमा परिणत हुँदैछ भने स्वदेशमा बस्न विवश अशक्त, वृद्धवृद्धा र बालबालिकाका लागि महँगीको भार थप्दै छ ।

खेतबारी बाँझो राखेर भोकै बस्नुपर्ने अवस्थाले सिर्जित समस्याप्रति संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, यो संविधान जारी गर्नेहरूको मौनता र समस्याप्रति तिरष्कार भोलिको नेपालको भयपूर्ण अवस्थाका पूर्वसंकेत हुन् । नेपाली कांग्रेसले एक वर्षपछि बैठक बस्दै गर्दा कमसेकम यी राष्ट्रिय पीडा, चिन्ता र भयपूर्ण सन्देशवाहकका विषयमा केही बोल्नुपर्ने थियो कि थिएन ? केही नीतिगत निर्णय गर्नुपर्ने थियो कि थिएन ? गठबन्धन सरकार सञ्चालन गर्नु वा मन्त्री मनोनयन गर्नुले मात्रै मुख्य राजनीतिक दलको जिम्मेदारी पूरा भएको मानिँदैन ।
नेपाली कांग्रेस पार्टीभित्र वैचारिक अन्तरविरोध केही पनि देखिएको छैन । कार्यगत विवादसहित सत्ता र पद कब्जाको सोचमा मात्रै भिन्नता छ । सत्ताकब्जाको रणनीतिक आक्रामकताले सदस्यहरूलाई दुई धारमा विभाजित तुल्याएको देखिन्छ । आठदशक पूरा भइसकेको जीवनको पोयालाई उछिन्न लाग्नुभएका वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पाँच पल्ट प्रधानमन्त्री, तीन पटक सभापति भइसक्नुभएको छ । तैपनि उहाँमा सत्ता, पद र सम्पत्तिको तृष्णा घटेको कुनै संकेत आजसम्म मिलेको छैन । उहाँका लागि आफूमात्रै भएर नपुग्ने भएको छ ।

देउवालाई पत्नी, पुत्र, भाइभतिज र अन्य आफन्त भारदारहरूको राजनीतिक स्थान सुरक्षित गर्नुपर्ने चिन्ताले सताइरहेको छ । यसैकारण उहाँ सकीनसकी आफ्नो सफलताका कथाहरू जोड्जाड् गर्ने क्रममा हुनुहुन्छ । तर, पार्टीभित्र देउवाको बलियो प्रभाव र पकड छ । उहाँप्रति बाहिर जेजस्ता शब्दहरूमार्फत रोष अभिव्यक्त भए पनि विकल्प दिने तागत कांग्रेसमा देखिएको छैन । थोरै बोलेर धेरै पकड राख्ने देउवाको रणनीतिलाई चुनौती दिने वर्तमानमा कोही पनि कांग्रेसजन छैन । जति पकड भए पनि अब चार वर्षभन्दा बढी देउवाको भूमिका रहनु असम्भव छ । दश दिनसम्म असाध्य मौन रहेर पार्टीका पक्षविपक्षका सदस्यहरूको बहस सुनेपछि असाध्य हलुको शैलीमा उहाँको प्रतिक्रिया रोचक छ ः म त धेरै आलोचना होला भनेर पर्खिरहेको थिएँ तर थोरै भयो, सोचे जति भएन । अर्थात् देउवा अरू चार वर्ष आफ्नो राजनीतिक जीवनलाई शालीन बनाउँदै पूरा गर्ने र त्यसपछि विश्राम लिने मूडमा रहेको यो कथनले स्पष्ट गर्दछ ।

अर्कोतिर राजनीतिक वटवृक्षको टुप्पोमा पुगेको उत्साही जमात आफूलाई कांग्रेस पार्टीको भाग्यविधाता, मालिक र सामथ्र्यस्रोत प्रमाणित गर्न न्वारानदेखिको बल लगाइरहेको छ । लोकतान्त्रिक राजनीतिलाई व्यक्तिगत अहंकारको चक्रव्यूहमा पार्ने र सत्ता, पद, प्रतिष्ठा प्राप्त गर्ने चिन्तन र त्यस्तो चिन्तनको समर्थनमा समेत कांग्रेस पंक्तिमा बलियो जनमत रहेको छ । एकातिर थकित गोरुले स्थान ओगटेको रअ र्कोतिर अराजक बहरहरूको डुक्राइका चेपुवामा कांग्रेसका राम्रा मुद्दाहरू पनि चेपिएर स्वाहा भएका छन् । यो पटक रूपान्तरणको अभियानमा कांग्रेसका उत्साही सदस्यहरूले निकै गतिला, समयोपयोगी र कांग्रेसलाई सही मार्गउन्मुख गराउने प्रस्ताव, सुझाव प्रस्तुत गरेका थिए । स्वयं महामन्त्री गगन थापाले बैठकमा प्रस्तुत गरेका धेरै प्रस्तावहरू कांग्रेसको जीवनमा महत्वपूर्ण हुने थिए । तर देउवाको पक्ष र महामन्त्रीको पक्षका रापमा बैैठकको समय खर्चभएपछि धेरै विषयवस्तु ओझेल परे । यद्यपि पार्टी जीवनमा यस्तो उतारचढाव हुने गर्दछ । तर, पार्टीलाई सबल गराउने विषयलाई आफ्नो पद जोगाउने खाल र पदकब्जाको खेलमा अनिर्णित गराउनु बसद्धिमानी थिएन । तर कांग्रेस बैठकमा त्यस्तै देखियो र भयो । जे भए पनि एक वर्ष यताको रिगरिग मेटिएको छ र सम्पन्न बैठकले भविष्यमा विधान अनुरूप पार्टी चलाउन थप दबाब सिर्जना गरेको छ । सायद कांग्रेस बैठकको महत्वपूर्ण उपलब्धि यही नै हुनुपर्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2023-07-28 7:43 am

काँग्रेसका क्रियाकलाप र चरित्र एवं करनी र कथनीमा रहेका अन्तरकाे सही र सटीक मूल्याङ्कन सम्पादकले गरेका छन् ।देशकाे अावश्यकता र जनताकाे चाहना कहिले कसले या कुन राजनीतिक दलले विचार गरी नीति बनाएथ्याे र ? अाअाफ्ना गुट,दृष्टि नै त प्रमुख रहेका थिए नि ।अतः सम्पादकीय सुन्दर तथा गम्भीर छ भन्नैपर्छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?