मनोज न्यौपाने र ‘अन्तिम’ गजलसङ्ग्रह

डा. नारायण चालिसे
Read Time = 19 mins

आगोमा उम्रिएको दूबो (२०६२), आगोको मूच्र्छना (२०६२) र रगतको दरबार (२०६७) जस्ता चोटिला कविता/काव्य लेख्ने एकजना कविका रूपमा चिनिँदै आएका मनोज न्यौपानेले एक दिन एउटा गजलको किताब हातमा राखिदिँदै भने म गजल लेखक पनि हुँ नि ! पढ्नुहोला र प्रतिक्रिया लेखिदिनुहोला । यो केही समय पहिलेको कुरा हो । भन्न त मनोजले अन्तिम (२०६९) गजल सङ्ग्रहको एकप्रति उपहार दिँदै यो पनि भनेका थिए । गजल लेखनको परम्परामा आफू भर्खरै उदाएका गजलकार भने होइनन् । नेपाली गजल लेखनको चालीसको दशकपछिको सक्रिय लेखनमा असीको दशकमा उनी पनि नाउँ लेखाउन आइपुगेका हुन् । जुन कुरा अन्तिमभित्र पनि उल्लेख गरेका छन् ।

मलाई अहिले मनोजको समय खुट्याउने आग्रह र गजल लेखनको सैद्धान्तिक मान्यताको बहसलाई पुनरावृत्ति गरिरहन मन छैन । कारण यसको बहसमा नअल्झिन मात्र खोजेको हो र हो इतिहासको पुरानो पानामा आफ्नो नाउँ खोज्दै अल्मलिएका मनोजभन्दा सिर्जनाले अग्लिएको आफ्नो उज्यालो अनुहार लिएर वर्तमानमा मुस्कुराइरहेका मनोज राम्रा देखिएलान् भन्ने लागेर पनि हो । त्यसैले मनोजलाई पुराना गजलकारको पंक्तिमा नभई आजको समयका हस्ताक्षर मान्नुपर्ने प्रस्ताव गर्न चाहेको छु । तसर्थ जेठो कान्छोको तर्कलाई अब गजलमै हेरौं ।

गजल गेयात्मक विधा हो, यसमा गेयताका साथै अन्य सम्भावना पनि साथै रहन्छन्, वाचन, पठन, मनन, अनुभूत सबै हुन्छ गजल । प्रेमी-प्रेमीकाका प्रणय सन्देशको बाहक गजल आज युगको बेथितिको सटीक प्रहार गर्ने शाब्दिक अस्त्र पनि हो । गजल विधा नेपालीमा मोतीराम युग अर्थात् १९४० देखि प्रवेश गरेको हो । म गजलबारेको सामान्य जिज्ञासु मात्रै हुँ तसर्थ गजलको सैद्धान्तिक बहसप्रति मेरो गहिरो ज्ञान छैन । गजलमा के हुनुपर्ने, के हुनु नपर्ने ? कुन गजल, कुन फजल भन्नेजस्ता जुहारी पनि सुन्ने गरिन्छ । समयसँगै गजलको लेखन र चिन्तनमा बढ्दै गरेका बहसहरूको आफ्नै अर्थ होला । त्यसतर्फ मेरो आग्रह पटक्कै छैन । तापनि रदिफ, काफिया, शेर, बहर, तखल्लुस आदि गजलका आधारभूत पक्षमाथि मेरो अनुराग छ ।

आफ्नो पहिचान दिँदै रहेका समकालीन पुस्ताका थुप्रै युवा गजलकारमध्ये मनोज न्यौपाने पनि हुन् । लामो समय अभ्यासमा बिताएका न्यौपानेले २०६९ मा आएर आफ्नो साढे दुई दशक लामो गजल अभ्यास परम्पराबाट एउटा सङ्ग्रह प्रकाशित गरेका छन् ।

आफ्नो पहिचान दिँदै रहेका समकालीन पुस्ताका थुप्रै युवा गजलकारमध्ये मनोज न्यौपाने पनि हुन् । लामो समय अभ्यासमा बिताएका न्यौपानेले २०६९ मा आएर आफ्नो साढे दुई दशक लामो गजल अभ्यास परम्पराबाट एउटा सङ्ग्रह प्रकाशित गरेका छन् । आजको नेपालको औसत मान्छेले के सोच्ने गरेको छ, मनोजले त्यही सोचेका छन् गजलमा । आजको मान्छेले जे भोगेको छ जीवनमा मनोजले त्यही भोगेका छन् । सोच्ने र भोग्नेको यो विसम घडीमा छट्पटिएको मानिसको अभिव्यक्ति गजलमा कसरी होला त्यो हामीले अनुमान गरेजस्तै मनोजले लेखेका छन् ।

भोगाइको स्थिति निकै दुःखद् र कारुणिक हुन्छ तर त्यही भोगाइलाई एउटा कवि वा गजलकारले शब्दमा उतार्दा कति सुन्दर रूपमा आउँछ अनुभूति भन्ने कुरा गजलकार न्यौपानेले पनि देखाएका छन् । साँच्चै नबाचूँ झैँ त हुन्छ तर न त नबाँच्न नै सकिन्छ न त मनोजले झैँ पीडालाई शब्दमा उतारेर जीवनको भारी हलुको पार्न नै सकिन्छ । मानिस कति विवश छ बाँच्न; बाँच्नुका सबै अर्थहरू रित्तिएपछि निरर्थक बाँच्दा जीवनकाप्रति मानिसमा के राग होला र सोचिराख्नलाई ।
छाता किनेझैँ पानी पर्नु अगाडि
ऊ किन्दैथ्यो कात्रो मर्नु अगाडि ।
तर रित्तिएकै चाहिँ हुँदैनन् जीवनका पक्षहरू
केही छिन् चरी बनेर सोच
बन्दुकमा गोली भर्नु अगाडि । (उपदेश)
बुझिनँ, उनी किन मुस्कुराइन्
मलाई आँखा तर्नु अगाडि । (जिज्ञासा)
ख्याल गरिराख्नु भोलिका दिन
दुश्मनी मसँग गर्नु अगाडि । (धम्की)
प्रत्येक शेरले पूर्ण अभिव्यक्ति दिने गजलको विशेषतालाई मनोजले पछ्याएका रहेछन् । जतिसुकै शेर समेटिएका भए पनि एउटै शीर्षकमा प्रत्येक शेर स्वतन्त्र अभिव्यक्तिका पूर्ण रचना बन्न पुगेका देखिन्छन् । यद्यपि गजल सिद्धान्तको बहसमा कतै न कतै मनोज सामेल भएकै देखिएका छन् तापनि अभिव्यक्तिभन्दा सिद्धान्त जेठो होइन भन्ने मान्यता पनि महत्वपूर्ण नै हो । मनोज तिर्खाएका छन् युगको बेथिति प्युँदा प्युँदा तर के गर्नु प्यास नै प्यासी बनेको यो समय-
मभन्दा पनि प्यासी नदी रहेछ
सागर खोज्दै खोज्दै बगिरहेछ ।
ऊ मुर्दा भएको उहिले हो
ढुकढुकी भने चलिरहेछ ।
चोटैचोटको बीचमा मुस्कुराउने
अरू को हुन्थ्यो र, कवि रहेछ ।
सपनामा मलाई नीरोले भन्यो
मनोज तेरो देश जलिरहेछ ।
देश जलेको खबर सपनामा नीरोले भन्नुपर्ने छैन । अब दिउँसै सडकको पेटीमा जीवनको याचना गर्दै बसेको भिखारीले पनि भन्ने छ मनोज तेरो देश जलिरहेछ, मेरो पनि देश जलिरहेछ । हामी रोक्न खोज्छौँ अराजक मुडमा उभिएको राजनीतिको घातक पाइलो देशमा नपरोस् भनेर तर हाम्रा पवित्र र सुरक्षाकर्मी इच्छाहरू नै देशलाई बिझाउने गाली जस्तै बनेपछि जन्मिने गजलकार मनोज न्यौपाने हो भन्ने पनि लाग्नेछ उनका देशप्रेमका गजल पढेपछि-
देश छ र त जिम्मेवारीहरू छन्
मरूँ भन्दा पनि गारो जिन्दगी । (नबाँचू भो, १७)
आफ्नो गल्ती के हो थाहा नपाएका
सालिकहरू छन् शिरको खोजीमा । (शीरको खोजीमा, १९)
तिम्रो पनि गुणगान गाइनेछ
तिमी शहीद भै बाँचेर आयौ भने । (गाली गर्दिन, २३)
सोच्नेले यति सोचिदिए हुन्थ्यो
दुनियाँ एउटा परिवारजस्तो । (अखबारजस्तो, ३६)
कि सफल हुन्छ कि विफल हुन्छु
कि विषय बनेर छलफल हुन्छु । (कि विफल हुन्छु, ४६)
यी गजलका शेर मनोजका केवल लहडका अभिव्यक्तिमात्रै होइनन् । देशमा आफू र आफूमा देश साक्षात्कार गर्न खोज्दा बिझाएका काँडा हुन् । के हामीलाई देश बोक्ने हक छैन र ? नैतिकता बिर्सेर राजनीतिको व्यापार सुरु गरेका ठेकेदारहरूमा देशलाई सुम्पिँदाको दुर्दशा अब पनि केही हुन बाँकी बसेजस्तो लाग्दैन । तसर्थ देश दलदल नै भएछ भने कमल बनेर फुल्ने छु भन्ने मनोजको गजलकमल कम मार्मिक हो भन्ने लाग्दैन ।

प्रेमको अर्को रूप प्रेम नै हो । मनको संसारमा के नभेटिएला ? मनोजलाई पढेपछि थाहा हुनेछ पुग्ने गरी प्रेम, अनुराग र आकर्षणका मनग्गे कुरा गरे गजलमा, मानौँ सबै प्रेम उनले नै गर्ने हो यो धर्तीमा ! तर प्रेमको डरलाग्दो साइड इफेक्ट रहेछ विश्वासघात त्यो पनि मनोजले नै आफ्नो पारेका हुन् कि ! अब धर्तीमा सबैको धोका उनैले बोकेछन् मनभरि । जुन कुरा मनोजका गजलको अर्को महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्यो ।
तिम्रो अधर भएन अधरजस्तो
मन किन भयो यो पत्थरजस्तो (अधर भएन ..., १३)
तिम्रो रूपमा मोहनी छ मबाट गल्ती होला
छु मस्त जवानीको धनी, मबाट गल्ती होला । (मबाट गल्ती होला, २८)
म जस्तै बैँसको आगोमा भित्रभित्रै
जल्दैछ्यौ तिमी पनि, केही त गरौँ । (केही त गरौँ, ३२)
बेथितिमा पनि लेखिन्छन् गजल । थितिभन्दा बेथिति बढी छ, सङ्गतिभन्दा विसङ्गति बढी छ, प्रेमभन्दा घृणा, तिरस्कार र बेइमानी बढी छ र मनोज खुलेर हाँस्न सकेका छैनन् । हाँस्न के कुरा पर्खिनु पथ्र्यो र ? तर लाग्ने छ मनोजका गजल पढेपछि हाँस्नु त अपराध गर्नु सरह रहेछ भन्ने बुझ्न पाइनेछ । एउटा स्रष्टाको जिन्दगी उसले प्राप्त गर्ने सुन्दर समय हो तर समय हराएको यो व्यभिचारी मुडमा करणी गर्न उभिएको जस्तो घीनलाग्दो परिस्थितिमा कवि गजलकारले व्यक्त गर्ने पीडा सम्भवतः सबैभन्दा कारुणिक लाग्ने छ ।

गजलमा मनोज यति धेरै बेथितिहरूका माझमा घेरिएर बसेका पाइने छन् त्यहाँ सर्वत्र निन्दाका अवस्था छन्, बेइमानी र अनाचारका कथा छन् । कुहिरोले ढाकेझैँ शहरलाई, फोहरले पुरेझैँ नदीलाई विचारको पानी धमिलिएर बगेपछि कस्को के लाग्छ । त्यही नहुने भइरहेछ देशमा, गाउँमा, शहरमा र परिवेशमा । यही अवस्थाका मनोज गजलमा धेरैजसो पोखिएका छन् । गजलमा गाउँ बिग्रेको खबर छ, शहर बिग्रिएको सूचना छ, समवेदना मरेको विज्ञप्ति छ । यस्तै सबै नहुनुपर्ने भएको र हुनुपर्ने नभएको स्थितिको चित्रण, सबै अभिव्यक्ति अन्तिमभित्र समेटिएका छन् ।
समयले यति बाध्य गरायो
चराले पिँजडा मन परायो ।
(समयले यति, १६)
दुश्मन मलाई दुश्मन लाग्न छाडे
बदनाम गर्ने आफन्त देखेर । (परिवारसहितको, ४२)
मनोजका गजलमा दायित्वबोध छ । हामी अवस्थाका कारिन्दाहरू नै रहेछौँ जे जस्तो भइरहेछ त्यसलाई मौन स्वीकार गरिरहने । हाम्रा अवस्थाहरूले हामीलाई यति विवश पारिरहेका छन् । भित्रैदेखि कोट्याउँदै आउने पीडामा पनि हामी लाचार छौँ तर मनले भने मानिरहेको हुँदैन । मनोजलाई पनि त्यस्तै भएको छ :
साहुको रिन सम्झिन्छु निद्रा लाग्दैन
बन्धकी जमिन सम्झिन्छु निद्रा लाग्दैन । (किन, गाउँलेलाई, २६)
पहराको पूmल आँखामा बसेर दुःखी छु
त्यसको काँडा मुटुमा बिझेर दुःखी छु । (पहराको फूल, २७)
केही गर्न पनि सकिएन
त्यसै मर्न पनि सकिएन । (केही गर्न, ३९)
हामी हार्न परेको छ त्यसैले हारेका छौं । हामी गरिब हुन परेको छ त्यसैले भएका छौं । हामी इमानदार भएर पुगेन त्यसैले बेइमानीलाई स्वीकारेका छौं । हामीले केही गर्न सकेका छैनौँ त्यसैले लाचार त छौँ तर हामी त्यो होइनौ जो भएका वा देखिएका छौं, अठोट गरेका छौँ । हाम्रा आँखाले हेर्न चाहेको सौन्दर्य यो होइन जो अहिले देखिएको छ । हाम्रा मनको चाहना त्यो होइन जो हामी भोगिरहेका छौँ । हाम्रा योजना ती होइनन् जुन आज असफल भइरहेछन् ।

यस सङ्ग्रहमा मनोजका बाउन्न वटा गजलहरू सङ्ग्रहित छन् । गजलमा प्रतीक र बिम्बको राम्रो प्रयोग भएको छ भने व्यङ्ग्य, विद्रोह, प्रेम, घृणा, आशा, निराशा, सङ्गति असङ्गति, कृति विकृति आदिको अभिव्यक्ति भएको पाइन्छ ।

हाम्रा रहर ती हुन् जुन मरेको शोकमा हामी रोइरहेका छौं । हाम्रो इमान त्यो होइन जो बजारमा सस्तो मोलमा बिक्री भइरहेछ । हाम्रो स्वाभिमान पनि त्यो होइन जो आज रित्तिइसकेको छ । हामीले तिनै कुरा खोजिरहेका छौं जुन कुरा देशमा हुनुपर्ने थिए र आज हराइरहेका छन् । यिनी कुराहरूबाट गजलकार मनोज बेखबर थिएनन् बरू यी माथिका सबै आकाङ्क्षा मनोजकै गजलमा व्यक्त भएका छन् ।
एउटा भत्किएको बास हुँ म
तैपनि कसैको विश्वास हुँ म ।
(भत्किएको बास, ३३)
जस्तो प्रश्न उस्तै उत्तर देऊ
इँटाको जवाफमा पत्थर देऊ ।
(इँटाको जवाफ, ३८)
नमार आशा पाली राख
मनभित्र दियो बाली राख ।
(नमार आशा, ४३)
के काम त्यो पूmल सुवास बिनाको
के काम र घाम प्रकाश बिनाको । (के काम ..., ४५)
कि सफल हुन्छु कि बिफल हुन्छु
कि विषय बनेर छलफल हुन्छु ।
(कि विफल, ४६)
जति कालो बाक्लो बादल लाग्छ
सम्झनू, उति छिटो बर्सात हुन्छ ।
(अन्तिमः ६२)
अचम्मको खुशी यी गजल पढेपछि लाग्नेछ त्यो हो मनोजका आँखामा नाचेको देशको सुन्दर भविष्य । कति आशावादी छन् मनोज त ! यति बिघ्न कुरीति र बिप्लेँटाहरूका माझमा पनि मनोजले उज्यालो देशको सपना देखेका छन् । जुन गजलको सुन्दर पक्ष हो । हामीले दुःख पोखेर, पीडा भोगेर, विकृतिको दलदलमा फसेर जीवनका आशा र विश्वासलाई समाप्त गर्ने कमजोर यात्रालाई रोज्नु हुँदैन, दुःखपछिको सुख, निराशापछिको आशा, बिप्ल्याँटापछिको सप्लेँटाको यात्रालाई पछ्याउँदै जानुपर्छ भन्ने सन्देश मनोजका गजलले दिएका छन् ।

यस सङ्ग्रहमा मनोजका बाउन्नवटा गजलहरू सङ्ग्रहित छन् । गजलमा प्रतीक र बिम्बको राम्रो प्रयोग भएको छ भने व्यङ्ग्य, विद्रोह, प्रेम, घृणा, आशा, निराशा, सङ्गति असङ्गति, कृति विकृति आदिको अभिव्यक्ति भएको पाइन्छ । यो सङ्ग्रह नै अन्तिमको नाममा प्रारम्भ हो भन्ने मनोजको दृढता रहेको यो सङ्ग्रह मनोज न्यौपानेलाई राम्रो गजलकार बनाउने यात्राको शक्तिशाली पाइलो बनोस् । प्राप्ति र सीमाको द्वन्द्व समयको पोल्टामा फ्याँकेर पैmसलाको प्रतीक्षामा बसेर फेरि पनि मनोजले कवितामा जस्तै पहिचान बनाउने गरी गजलहरू लेख्दै र दिँदै रहून् । मनोज न्यौपानेको निरन्तर लेखन र पूर्णकालीन साहित्य लेखनभित्र के कस्ता बाध्यता र यथार्थ छन् सबैबारे म पूर्ण जानकार छैन । तर, उनले साहित्य जगत्मा निष्ठापूर्वक पुर्‍याएको योगदानले साहित्य जगत्ले लाभ लिइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?