युरोप जाने चक्करमा ठगिनेको संख्या बढ्दै

रोजगार प्रलोभन देखाएर ११ लाखसम्म असुल्दै म्यानपावर

हिमालय टाइम्स
Read Time = 11 mins

रमेश भारती/हिटा
काठमाडौं । मोरङका सागर लिम्बू माल्टा रोजगारीमा जान एक वर्षयता म्यानपावरमा राहदानी बुझाएर बस्नुभएको छ । उहाँसँग यो अवधिमा प्राइम म्यानपावर प्रालि दुईपटक गरी तीन लाख पैसासँगै दुईपटक नै स्वास्थ्य परीक्षण गराएको छ । म्यानपावरले एक वर्षभित्र राहदानी र तीन लाख रुपैयाँ पैसा लिएर माल्टा वैदेशिक रोजगारीमा नपठाएको लिम्बू बताउँनुहुन्छ । युएईमा कमाएको पैसा माल्टाको रोजगारीमा जान राहदानी र पैसा बुझाए पनि म्यानपावरले अलमल्याएको उहाँको आरोप छ । ‘देशभित्र काम र केही गर्ने अवस्था छैन । भनेजति जग्गाजमिन नभएका कारण विदेशिनुपरेको हो । तर, रोजगारीका नाम पाइलैपिच्छे म्यानपावर र एजेन्टले ठग्छन् । विदेश जान पनि सजिलो छैन ।’ उहाँले भन्नुभयो ‘म नेपालमा मात्र होइन युएईमा पनि युरोपको रोजगारीमा जाने चक्करमा ठगिएँ । त्यहाँ पनि पोखराका एक जना नेपालीले चार लाख रुपैयाँ खाएपछि स्वदेश फर्किए । अहिले नेपालमा फेरि ठगिएँ ।’

उहाँजस्तै धेरै साथीहरू पनि युरोपको रोजगारीमा जाने चक्करमा ठगिएको शुक्रबार वैदेशिक रोजगार विभागमा भेटिनुभएका लिम्बूले जानकारी दिनुभयो । अहिले लिम्बू ठगिएको पैसा फिर्ता गर्ने म्यानपावरविरुद्ध उजुरी गर्न काठमाडौं आउनुभएको हो ।

लिम्बूजस्तै, धनकुटाका विक्रम राई पनि युरोपको रोजगारीमा जाने चक्करमा ठगिनुभएको छ । राई त म्यानपावरले सञ्चालन गरेको टिआरसी ट्राभल एजेन्सीले ठगेको छ । राईलाई ठगी गर्ने म्यानपावरलाई सरकारले एक वर्षअघि नै ठगी गरेको आरोपमा खारेज गरेको थियो ।

पोल्याण्डको रोजगारीमा जान ११ लाख रुपैयाँ म्यानपावरलाई बुझाए । तर, म्यानपावर कम्पनी नै बन्द भएको थाहा पाएको राईले जानकारी दिनुभयो । एक वर्षसम्म म्यानपावर तथा ट्राभल सञ्चालक विश्वास क्षेत्रीले दुई महिनाभित्र पोल्याण्ड पठाउने भन्दै आश्वासन देखाएको राई गुनासो गर्नुहुन्छ । ‘बन्द भएको म्यानपावरले ११ लाख रुपैयाँ खाएर भाग्यो । ठमेलमा रहेको ट्राभल पनि दुई सातादेखि बन्द छ । पैसा र राहदानी नै म्यानपावरले लिएर भागेपछि काठमाडौंमा कुल्लीको काम गरेर बसेको छु ।’ उहाँले भन्नुभयो, ‘पोल्याण्ड रोजगारीमा जाने प्रलोभनमा घरको न घाटको भएँ । घर फर्किने अवस्था छैन । विभागमा उजुरी गर्न गयो म्यानपावर खारेजी भएको छ भन्छ । प्रहरीमा गयो ठग्ने खोज्दै छौँ भनेर टार्छ । हामीजस्ता पीडितले न्याय कहाँ पाइन्छ होला ?’ राईले ओमानमा रोजगारी गरेर कमाएको पैसाले इटहरीमा किनेको जग्गाबाट ऋण लिएर पोल्याण्ड जान म्यानपावरलाई पैसा बुझाएको बताउनुहुन्छ ।

लिम्बू र राईजस्तै, पोखराकी सरिता मगर (नाम परिवर्तन) पनि युरोपेली देश फ्रान्सको रोजगारीमा जाने प्रलोभनमा परी १२ लाख रुपैयाँ म्यानपावर बुझाइएको बताउँनुहुन्छ । मगरले पनि एक वर्षअघि नै साइनटप म्यानपावर प्रालिका एजेन्ट धीरेन्द्र पुनलाई फ्रान्सको रोजगारीमा जाने भनेर १२ लाख नगद दिएको जानकारी दिनुभयो । पुन हाल भारतमा बसेर रोजगारीका नाममा मानवतस्करी गरिरहेको उहाँको आरोप छ ।

पुनले आफूजस्तै १५ जनाजति महिलाहरूसँग भारत हुँदै फ्रान्सको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर प्रतिव्यक्ति १२ लाखसम्म ठगी गरी भारतमा लुकेर बसेको मगरले जानकारी दिनुभयो । लिम्बू, राई र मगरजस्तै युरोपेली देश रोजगारीको प्रलोभनमा परेर ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागको मुद्दा शाखाले जानकारी दिएको छ ।

युरोपेली देश जाने चक्करमा ठगिएका मासिक ८० जनाभन्दा धेरै उजुरी लिएर आउने गरेको विभागले जनाएको छ । गत वर्ष वैदेशिक रोजगारीमा नाममा एक अर्ब ४० लाखजति ठगी हुँदा ४० प्रतिशत युरोप रोजगारीमा जाने कामदार ठगिएको विभागको भनाइ छ ।

आकर्षक प्रलोभन देखाएर लाखौँ ठगी
विगत एक वर्षयता माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायत पूर्वी युरोपेली मुलकमा आकर्षक सेवा सुविधाको प्रलोभन देखाएर लाखौँ ठगी भइरहेको छ ।

युरोपेली देश रोजगारीमा जाने प्रलोभनमा परेर नठगिन रोजगारीको खोजीमा रहेका युवाहरूलाई समेत जानकारी गराउँदै आएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । युरोपेली देशका नाममा ठगी भइरहेको छ । विभागले सूचना, सामाजिक सञ्जालमार्फत समेत ठगीबाट बच्न सम्बन्धित पक्षलाई सूचित गराउँदै आएको उहाँको भनाइ छ । ठगीमा पर्ने रोजगारीपीडितले हाताहात कारोबार गर्दा दोषीलाई कारबाही गर्ने समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली देश वैदेशिक रोजगारीका लागि झुटो प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेकाले सचेत हुन आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अनधिकृत व्यक्ति वा संस्थाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखेको सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारका नाममा स्वदेश वा विदेशमा हुने ठगी नियन्त्रण गर्न प्रहरी, रोजगार कार्यालय तथा मन्त्रालयमा खबर गर्नसमेत आग्रह गरेको छ ।

मन्त्रालयले इजाजतपत्र प्राप्त संस्था, सरकारीस्तर (जिटुजी) सम्झौता र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान सकिने व्यवस्था गरिएको भन्दै वैदेशिक रोजगारका समग्र चरणहरूको अध्ययन गर्नसमेत आग्रह गरेको छ । युरोपेली मुलुकमा नेपाली कामदारका लागि अनुकूल हुने रोजगारी रहेको तर त्यहाँ रहेका नेपाली दूतावास वा कूटनीतिक नियोगहरूले मागपत्र प्रामाणीकरण नगर्दा संस्थागत रूपमा नेपाली जान नपाई व्यक्तिगत रूपमा जाने गरेकोे भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ठगीमा एजुकेसन कन्सल्ट्यान्सीहरू पनि जोडिएकाले गृह मन्त्रालयले ध्यान दिनुपर्ने माग गर्दै आएको छ ।

प्रहरीले ठगीमा संलग्नहरूलाई दैनिक रूपमा पक्राउ गरी वैदेशिक रोजगार विभागको जिम्मा लगाउने गरिरहेको छ । युरोपेली मुलुकमा रोजगारीका नाममा अनधिकृत व्यक्तिहरूले विभिन्न प्रलोभनमा ठगी गरिरहेको बारेमा सूक्ष्म अध्ययन गरिरहेको भन्दै प्रलोभनमा नपर्नसमेत मन्त्रालयले आग्रह गरेकोे छ । सीप तालिम सम्बन्धमा तालिमप्रदायक संस्थामा आफैँ उपस्थित भएर जानकारी लिन वा वैदेशिक रोजगार विभागबाट बुझ्नुपर्ने मन्त्रालयको सुझाव छ ।

मन्त्रालयले म्यानपावर कम्पनीमार्फत वैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जाँदासमेत कामको विवरण, रोजगारदाताले तोकेको सेवा शुल्क र फ्री भिसा फ्री टिकटको प्रावधान, तलब, सेवा सुविधा लगायतका विषयमा जानकारी लिई आवश्यक सीप तालिम लिएर जानुपर्ने बताएको छ । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । त्यसमध्ये पनि थाइल्याण्ड र म्यानमारमा सूचना प्राविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बुझ्न पनि भनेको छ । भिजिट भिसामा गएका अधिकांश नेपालीहरू अलपत्र पर्ने गरेका छन् । अहिले थाइल्याण्ड र म्यानमारमा आकर्षक तलब देखाई पुगेपछि बन्धक बनाएका घटना सार्वजनिक भइरहेका छन् । सोबारे सचेत बनाउँदै परराष्ट्रले भिजिट भिसामा नजान अलर्ट गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?